+
+

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते २०:३३
घटनास्थल : दिव्य स-मिलको हाताभित्र ।

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ ।

गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार, हाल प्रहरी नियन्त्रणमा रहेका राई राति मिलभित्रै बसेका थिए । प्रहरी अधिकृतहरुका अनुसार, राति करिब साढे १२ बजे आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । प्रहरी वृत्त, बानेश्वरमा उनले ‘आफ्ना साथीहरुको हत्या’ भएको बताएका थिए । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली घटनास्थलमा पुगेको थियो भने मदिरामा लठ्ठ राईलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवाले दिव्य सःमिलमै लामो समय काम गरेर छोडेको खुलेको छ । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउने–जाने गर्थे । हत्या भएका नवीन राई उनका नातेदार र साथी समेत हुन् ।

घटना भएको सःमिलको सामान ओसारपसार गर्ने एक जना रिक्सा चालक बसन्त रोकाका अनुसार पक्राउ परेका व्यक्ति पहिले पनि त्यहाँ आइरहन्थे । बुवाले काम गर्दा उनी त्यहीं बस्ने गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँबानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई हत्यामा संलग्न रहेको बताएको छ । यद्यपि, उनीविरुद्ध बलियो प्रमाण फेला परेको छैन । घटनामा एकभन्दा धेरै व्यक्तिको संलग्नता हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

हत्याको कारण रिसइबी हुनसक्ने आशंका गरिएको छ । राईका बुबा धनकुटामा छन् ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थें, बिहान प्रहरीले फोन गरेपछि आएँ’ उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’

उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ‘श्राद्धका कारण आउनुभएको रहेछ, त्यसपछि त्यहीं बस्नु भएको थियो’, सिवाकोटीले अनलाइनखबरसँग भने, ‘राति यस्तो घटना भएछ ।’

थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए । यसैबीच, प्रहरीले अनुसन्धानका लागि एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

यो पनि पढ्नुस्

तीनकुने सामूहिक हत्या प्रकरण : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

चारै जनाको शव शिक्षण अस्पतालमा

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?