+
+

सोमबार आउँदै आईओएस १७, यी हुनेछन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १३:२६

गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिजसँगै नयाँ एप्पल वाच लञ्च गरेको एप्पलले सोमबार अर्थात् सेप्टेम्बर १८ मा आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन आईओएस १७ सार्वजनिक गर्दैछ ।

एप्पलले गत जुन महिनामा आयोजित विश्वव्यापी डेभलपर्स सम्मेलनका क्रममा घोषणा गरेको आईओएस १७ को बिटा भर्सन गत जुलाई महिनामा उपलब्ध गराएको थियो ।

यसरी दुई महिनादेखि बिटा भर्सनको परीक्षणका लागि उपलब्ध रहेको आईओएस १७ लाई एप्पलले सोमबारदेखि आधिकारिक रुपमा जारी गर्न लागेको हो । योसँगै पाँच वर्ष पुराना आइफोन एक्स एस मोडेल यताका आइफोनहरुमा सोमबारदेखि आईओएस १७ अपडेट उपलब्ध हुनेछ ।

के नयाँ छ आईओएस १७ मा ?

आईओएस १७ ले तपाईंको आइफोनमा विभिन्न नयाँ तथा उपयोगी फिचर्सहरु थप्नेछ ।

एप्पलको दाबी अनुसार आइओएस १७ ले पुराना मोडेलका आइफोन प्रयोगकर्तालाई समेत समेत नयाँ आइफोन चलाएजस्तै अनुभव दिलाउनेछ ।

StandBy mode :  एप्पलले गत जुनमा विश्वव्यापी डेभलपर्स कन्फ्रेन्समा स्टान्डबाई मोड फिचर घोषणा गर्दा मानिसहरुमा यसप्रति आशंका तथा द्धिविधा थियो । तर बिटा भर्सनमा उपलब्ध यो फिचर आइफोन प्रयोगकर्ताले निकै रुचाएको पाइएको छ । यो मोडमा आइफोनको स्क्रिनमा उपयोगी धेरै खालका चलायमान widgets देखिन्छन् ।

आइफोनलाई Qi वा म्यागसेफमा चार्ज गरिरहेको बेला त्यसलाई ल्याण्डस्केप गरेर राख्दा स्क्रिनमा विभिन्न जानकारीहरु देखिन्छन् । जसबाट मौसमका बारेमा बुझ्न, पछिल्ला समाचारहरु पढ्न, समय हेर्न लगायतका कामका लागि निकै सजिलो हुन्छ । साथै फोन अनलक नगरीकनै स्क्रिनमा नोटिफिकेसन हेर्न सकिन्छ । स्टाण्डबाई मोडले आइफोन र प्रयोगकर्ताबीचको सम्बन्ध सुधार गर्ने, आइफोनको स्क्रिनमा घोत्लिरहनुुपर्ने तथा आइफोनको लत कम गर्न सहयोग गर्ने अनुभव प्रयोगकर्ताहरुको छ ।

यो फिचरले आइफोन प्रयोगकर्तामा एन्जाइटी तथा डिप्रेसनको जोखिम कम गर्नुका साथै मानसिक स्वास्थ्यमा सुधार गर्ने बताइएको छ ।

स्ट्याण्डबाई फिचरले लाइभ गतिविधि, सिरी तथा आगमन कल समेत सपोर्ट गर्दछ । Always On Displays फिचर भएका आइफोन १४ प्रो, १४ प्रो म्याक्स तथा आइफोन १५ सिरिजमा फोन चार्ज गर्नेबेला स्ट्याण्डबाई आफै देखिनेछ भने अन्य पूराना मोडेलमा स्क्रिनमा ट्याप गरेर यो मोड सक्रिय बनाउन सकिन्छ ।

फोन एपमै कन्ट्याक्ट पोस्टर

आईओएस १७ को अर्को महत्वपूर्ण फिचर भनेको Contact Posters हो । कन्ट्याक्ट पोस्टरहरु भनेका यस्ता पर्सनलाइज्ड फोटोहरु हुन् जो तपाइँले कुनै आइफोन तथा आइप्याड प्रयोगकर्तालाई कल गर्दा तपाईंको फोन नम्बरसँगै देखा पर्दछन् ।

कन्ट्याक्ट पोस्टरको तस्वीर पर्सनलाइज गरेसँगै तपाईंले कोही आइफोन प्रयोगकर्तालाई फोन गर्दा उसको स्क्रिनमा इनकमिङ कलको स्क्रिन नभई तपाईंले राखेको उक्त तस्वीर देखा पर्दछ । प्रयोगकर्ताले आफ्नो फोटो वा कुनै उपलब्ध मेमोजी छानेर त्यसमा केही लेख्ने वा फन्टको रङ समेत राखेर कस्टमाइज गर्न सक्दछन् ।

त्यस्तै आफूले तयार पारेका त्यस्ता पोस्टरहरु आफ्नो साथीलाई शेयर गर्नका लागि NameDrop नामक नयाँ फिचर आईओएस १७ मा उपलब्ध छ । दुईवटा आइफोन वा आइफोन र एप्पल वाचलाई नजिकै ल्याएर नेमड्रपमार्फत् कन्ट्याक्ट पोस्टरसँगै सम्पर्क जानकारीहरु शेयर गर्न सकिनेछ ।

AirDrop बाट जतिसुकै टाढा पनि फाइल आदानप्रदान

आईओएस १६ वा त्योभन्दा अघिसम्म एयरड्रपले छोटो दूरीमा उच्च गतिमा फाइल आदानप्रदान गर्ने काम गर्दथ्यो । यसका लागि दुईवटा आईओएस डिभाइस नजिकै हुनुपर्छ । तर आईओएस १७ मा भने एयरड्रपमार्फत् फाइल ट्रान्सफर गर्न दुईवटा डिभाइसहरु नजिकै हुनुपर्ने छैन । डिभाइसहरु जति टाढा भएपनि यदि इन्टरनेटमा छन् र आइक्लाउड अकाउन्ट दुवैमा साइन इन भएको छ भने एयरड्रपमार्फत् आइक्लाउडमा डाटा ट्रान्सफर गर्न सकिन्छ ।

फेसटाइममा अडियो/भिडियो मेसेज र रिएक्सन

आईओएस १७ मा यदि तपाईंले गरेको फेसटाइम भिडियो कल सम्बन्धित व्यक्तिले उठाएन भने तपाईंले अडियो तथा भिडियो मेसेज छाड्न सक्नुहुन्छ । साथै तपाईंले फेस टाइम कलमा रिएक्सन समेत पठाउन सक्नुहुनछ । यस्ता प्रतिक्रियाका लागि तपाईंले फोनको क्यामेरामा सामान्य रुपमा अभिनय गर्नुपर्नेछ । जस्तै तपाईंले मुटुको हाउभाउ गर्दा स्क्रिनमा मुटुका चिह्नहरुको वर्षा हुनेछ ।

Hey Siri भन्नु नपर्ने : आईओएस १७ सँगै अब आइफोनमा सिरी सक्रिय बनाउनका लागि Hey Siri भन्नुुपर्ने छैन । यो भर्चुअल असिस्टेन्टलाई सक्रिय बनाउनका लागि अब Siri मात्रै बोले पुग्नेछ । साथै यसले गुगल असिस्टेन्टले जस्तै एकपछि अर्को धेरैवटा कमान्ड स्वीकार गर्नेछ र त्यसका लागि wake word  दोहोराउनु पर्नेछैन ।

किबोर्डमा एआई : गुगल र माइक्रोसफ्टले आफ्ना सर्च प्रडक्टमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि आबद्ध गरिरहेको बेला एप्पलले चाहिं आईओएस १७ को किबोर्डमै एआई राख्दैछ । आईओएसको अटोकरेक्टमा शब्दहरु प्रक्षेपण राम्रोसँग गर्नसक्ने गरी transformer language model अपडेट गरिएको छ । योसँगै आइफोन प्रयोगकर्ताले आइफोनको किबोर्डमा कुनै कुरा टाइप गरिरहँदा त्यहीँ लाइनमा प्रक्षेपित शव्दहरुको सूची देख्नेछन् र स्पेस बार थिचेर त्यहाँ उपलब्ध शब्दहरु छानेर वाक्य पूरा गर्न सक्नेछन् ।

अझै गोपनीय बन्दै सफारी ब्राउजर

आईओएसको वेब ब्राउजरको रुपमा रहेको सफारीलाई झनै गोपनीय तथा सुरक्षित बनाइएको छ । फोन प्रयोग नभैरहेको बेलामा प्राइभेट ब्राउजिङ सेसन लक हुनेछ । साथै सफारीलेadvanced tracking तथा fingerprinting protections मार्फत् प्रयोगकर्ताको डिभाइस ट्रयाक तथा पहिचान गर्नबाट वेबसाइटहरुलाई रोक्नेछ ।

Health app मा मानसिक स्वास्थ्य फिचर

आईओएस १७ सँगै अब आइफोनमा प्रयोगकर्ताले आफ्नो दैनिक मूड तथा विभिन्न क्षणका संवेगात्मक अवस्थाका बारेमा आइफोनको ज्भबतिज बउउ मा जानकारीहरु सूचिकृत गर्न सक्नेछन् । यद्यपि यो विषय धेरैका लागि उपयोगी नहुन सक्दछ । तथापि यसले प्रयोगकर्तालाई आफ्नो मनोवैज्ञानिक अवस्थालाई के के ले प्रभाव पार्दछ भन्ने कुराको पहिचान गर्न सहयोग गर्नेछ । साथै एन्जाइटी तथा डिप्रेसनको पूर्वानुमान गर्नका लागि पनि यसले सहयोग गर्दछ ।

बच्चालाई बढी नजिकबाट आइफोन हेर्न नदिने फिचर

यो नयाँ स्क्रिन टाइम फिचरको नाम Screen Distance हो । यसले बालबालिकाहरुलाई आइफोनको स्क्रिनमा नटाँस्सिन सुझाव दिन्छ । आइफोनको TrueDepth क्यामेरा मार्फत् यसले स्क्रिन र आँखाबीचको दूरी मापन गर्दछ र यदि त्यो दूरी लामो समयसम्म पनि १२ इन्चभन्दा कम भएमा त्यसको जानकारी दिन्छ ।

माथि उल्लेखित फिचर्सका अतिरिक्त आईओएस १७ मा लाइभ भ्वाइसमेलको आवाजलाई शब्दमा अनुवादन गर्ने फिचर, मेसेज एपमा चेकइन फिचर, जर्नल एप, संवेदनशील सामग्रीका विषयमा चेतावनी दिने फिचर, अफलाइन म्याप लगायतका विभिन्न फिचरहरु पनि उपलब्ध हुनेछन् ।

यी हुन् आइओएस १७ उपलब्ध हुने आइफोनकेा सूची : 

  • iPhone 15 series
  • iPhone 14 series
  • iPhone 13 series
  • iPhone 12 series
  • iPhone 11 series
  • iPhone XS/Max
  • iPhone XR
  • iPhone SE 2nd gen र त्यसभन्दा पछिल्ला संस्करणहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?