के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको विषय पनि हो ।

दर शब्दको शाब्दिक अर्थ नै दरिलो भएको संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन् । ‘तीजको दिन महादेवको निराहार व्रत बस्न गाह्रो नहोस् र व्रत बसेको बेला ध्यान भोजनतिर जाने भएकाले त्यही ध्यान भंग गराउन अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो ।’

दरमा विशेषगरी दूध र घिउबाट बनेका परिकार खाँदा शक्ति प्राप्त हुन्छ । जसले निराहार व्रत बस्न मात्र होइन, नाचगान गर्ने ऊर्जा पनि पुग्ने भट्टराई बताउँछन् ।

‘तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउँ भनी व्रत बसेकी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्टान्न भोजन नै दर हो,’ भट्टराई भन्छन्, ‘त्यसैले परापूर्वकालदेखि नै दर खाने चलन चल्दै आएको हो र निरन्तर चलिरहेको छ । पहिले माइती घरमा गएर दर खाने चलन थियो भने यो अहिले विस्तारित भएर एक महिनाअघिदेखि पार्टी प्यालेसमा खाने गरेको पाइन्छ ।’

पुरानो परम्पराअनुसार जसरी घरमा खीर, ढकनी तरकारी, अचार, लगायत बनाएर खाइन्छ, त्यस्ता खाना कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यस्ता खानेकुराबाट धेरै ऊर्जा प्राप्त हुन्छ र भोलिपल्ट व्रतको दिनसम्म पनि ऊर्जा रहिरन्छ । त्यसैले दरको रूपमा खीर, ढकनी जस्ता खानेकुरा खाने चलन पोषणको हिसाबले राम्रो भएको पोषणविद् प्रणिती सिंह बताउँछिन् ।

सिंह भन्छिन्, ‘पछिल्लो समय दरको रूपमा बुफेट खाना मासु, पुलाउ तारेको चिल्लो खानेकुरा खाने चलन छ । यस्ता खानेकुराले भने डिहाइड्रेसन गराउने र व्रत बस्न झन् गाह्रो हुन सक्छ ।’

दरको विशेष परिकार

दरको रूपमा खासगरी दुग्धजन्य परिकार बनाएर खाने प्रचलन छ । खीर, ढकनी, चाम्रे, आलुको तरकारी, अचारलगायत अरू मीठो मसिनो परिकार बनाएर छोरी चेलीलाई खुवाउने गरिन्छ । त्यसैले दरको विशेष परिकार भनेको यी नै खीर ढकनी जस्ता खानेकुरा भएको द सोल्टी होटेलका सुसेफ आरबी बुढाथोकी बताउँछन् ।

दरको रूपमा खाने यस्ता परिकारले भोलिपल्ट सिंगै एक दिनभरका लागि मान्छेलाई तागत दिन्छ,  शक्ति दिन्छ त्यसैले पनि दरको रूपमा बढी दुग्धजन्य खानेकुरा खाने गरिएको पाइने उनले बताए ।

ढकनी पकाउने तरिका

चाहिने सामग्री :

१. चामल (ताइचिन) – २ कप

२. घिउ – आधा कप

३. दूध – डेढ लिटर

४. सख्खर – आधा कप

५. मिक्स ड्राइ नट्स (काजु,किसमिस,नरिवल,छोकडा,बदाम,ओखर,पिस्ता) – ६० ग्राम

६. मरिच – आधा चिया चम्चा

७. सुकुमेलको धुलो – एक चिम्टी

बनाउने तरिका

ढकनी पकाउनलाई अलि बाक्लो कसौंडी तथा अन्य भाँडाको प्रयोग गर्नु राम्रो हुन्छ । भाँडोलाई तताएर आधा कप घिउ राख्ने, घिउ तातेपछि चामललाई राखेर खैरो हुन्जेलसम्म भुट्ने र चामल खैरो भएर भुटिसकेपछि दूध राख्ने र सानो आँच गरेर केही समय पकाउनुपर्छ ।

त्यो बाक्लो हुँदै गएपछि ड्राइ नट्स, मरिच, सुकुमेलको धुलो र सख्खर राखेर राम्ररी चलाउनुपर्छ । यी सबै सामग्री राखेर पाँचदेखि १० मिनेट पकाएपछि ढकनी तयार हुन्छ ।

ञ्च फुरन आलु

आवश्यक सामग्री

१. आलु मिडियम साइजको रातो आलु – आधा किलो

२. तोरीको तेल – तीन टेबल चम्चा

३. ‘पञ्च फुरन’ जिरा, मेथी, धनियाँ, सुप, मुङ्ग्रेलो मिक्स – आधा चम्चा

४. नुन – स्वादअनुसार

५. जिराको धुलो – आधा चिया चम्चा

६. धनियाँको धुलो – आधा चिया चम्चा

८. खोर्सानीको धुलो – आधा चिया चम्चा

पञ्च फुरन आलु बनाउन सबैभन्दा पहिले आलुलाई लाम्चो पारेर चार टुक्रामा काट्ने, एउटा भाँडोमा आलुलाई राखेर एक चम्चा नुन हालेर र पानी हालेर १० देखि १५ मिनेट भिजाएर छोड्नुपर्छ ।

अब एउटा बाक्लो कराही बसाएर त्यसमा तेल राख्ने, अब त्यो तेलमा मेथी फुराउने, मेथी कालो भएपछि जिरा, धनियाँ, सुप र मुङ्ग्रेलो पनि फुराउनुपर्छ । अब त्यसपछि भिजाएर राखेको आलु ओइरने अनि बेसार र नुन राख्ने, राम्ररी चलाउने र छोपेर १५ मिनेट जति ठिक्क आँचमा पकाउनुपर्छ । अब धनियाँ, जिरा र खोर्सानीको धुलो हालेर पाँच मिनेट फेरि छोपेर पकाउने अनि आलु तयार हुन्छ ।

खानपान तीज दर संस्कृति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?