+
+

यौन दुर्व्यवहारको आरोप लागेका रसेल ब्राण्डको ‘मोनिटाइजेसन’लाई युट्युबले गर्‍यो खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १४:३९

काठमाडौं । अमेरिकी भिडियो साझेदारी साइट युट्युबले चर्चित बेलायती कमेडियन तथा अभिनेता रसेल ब्राण्डको च्यानलबाट ‘मोनिटाइजेसन’ सुविधालाई खारेज गरिदिएको छ । युट्युबले आफ्ना प्रयोगकर्तालाई सुरक्षित तुल्याउन उक्त कारवाही गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २००३ मा रसेलले यौन दुर्व्यवहार गरेको आरोपबारेका विवरण मिडियामा प्रकाशित भएपछि लण्डनको महानगरीय प्रहरीमा उजुरी परेको र लगत्तै युट्युबले यस्तो कदम चालेको जनाइएको छ ।

पछिल्लो सप्ताहन्तमा रसेलविरुद्ध बलात्कार र यौन दुर्व्यवहारका उजुरी परेका थिए । सन् २००६ र २०१३ बीचमा रसेलले आफूविरुद्ध यौन उत्पीडन गरेको दाबीसहित ती चार महिलाले उजुरी दिएका छन् । तर यी आरोपलाई रसेलले खण्डन गरेका छन् ।

‘यदि कुनै क्रिएटरको अफ–प्लेटफर्म व्यवहारले हाम्रा प्रयोगकर्ता, कर्मचारी वा इकोसिस्टमलाई हानि पुर्‍याउँछ भने हामी कारबाही गर्छौं,’ युट्युबका प्रवक्ताले मंगलबार भने । अभिनेता ब्राण्डको ‘बाइपोलराइजेसन टुर’का केही इभेन्टको मिति स्थगित भएपछि युट्युबले यस्तो निर्णय गरेको हो ।

पछिल्ला वर्षहरुमा रेडियो र टेलिभिजनका पूर्वप्रस्तोताले अध्यात्म, राजनीतिबारेका भिडियो पोस्ट गर्दै आफ्नो व्यक्तित्वलाई नयाँ पहिचान दिने प्रयत्न गरेका छन् । उनलाई युट्युबमा ६.६ मिलियनले पछ्याएका छन् ।

‘युट्युबको कमाइलाई प्रतिबन्ध लगाउने उक्त निर्णय ४८ वर्षीय अभिनेताको स्वामित्वमा रहेका सबै च्यानलमा हुन्छ,’ युट्युबले भनेको छ । साथै, युट्युबले यस्ता प्रतिबन्ध दुर्लभ हुने उल्लेख गरेको छ । यसअघि यस्तो प्रतिबन्ध स्लोभाकका इन्टरनेट व्यक्तित्व डेभिड डोब्रिक र अमेरिकी युट्युबर तथा मेकअप कलाकार जेम्स चार्ल्सविरुद्ध लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?