+
+

स्वार्थ बाझिने रेटिङमा केयर रेटिङ्सलाई धितोपत्र बोर्डले गर्‍यो कारवाही

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १९:३३

२ असोज, काठमाडौं । स्वार्थ बाझिने रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङस् नेपाललाई कारवाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पस्टीकरण सोधेको ८ महिना नाघेपछि कारवाही गरेको हो ।

क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै बोर्डले २४ पुस २०७९ मा कारवाही गर्ने निर्णय गरेको थियो । कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारवाही किन नगर्ने ? भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो । यस्तै कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने ? भनी स्पष्टीकरण पेश गर्न बोर्डले निर्देशन दिएको थियो ।

विशाल ग्रुपको लगानी रहेका यो रेटिङ कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको बैंकिङ ऋणका लागि रेटिङ गरेको पाइएपछि कारवाहीको निर्णय गर्दै बोर्डले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधेर कारवाही नगरी यसै रोकिएकोमा सोही कम्पनीले विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको पनि रेटिङ गरेको थियो । उक्त आईपीओका लागि नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरेपछि बोर्डको कार्य पनि विवादास्पद बन्न पुग्यो । घोराही सिमेन्टको आईपीओ स्वीकृत गर्दै स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट भएर सर्वसाधराणलाई निष्कासन गरेको चौथो दिन बोर्डले आईपीओ निष्कासन रोकेको थियो ।

बोर्डले कम्पनीलाई सोधको स्पष्टीकरण पेश नगरेको साथै घोराही सिमेन्टमा स्वार्थ बाझिने हो कि होइन भन्दै जवाफ पेश गर्न भनेपनि नगरेको भन्दै बोर्डले ४ असार २०७९ मा घोराही सिमेन्टको आईपीओ रोकेको थियो । साथै कम्पनीको आईपीओमा भरेको झुटा आवेदनको छानविन समेत गरेपनि त्यसमा कुनै ठोस कारवाही अगाडि बढाएन । तर, २०७९ पुसमा नै स्पष्टीकरण सोधेको विषयमा कारवाही गर्ने भन्दै बोर्ड अध्यक्ष हमालले विभागीय प्रमुखलाई टिप्पणी उठाएर बोर्डमा पेश गर्न निर्देशन दिएका थिए ।

२०७९ पुसमा नै स्पष्टीकरण सोधर २०८० असोजमा आएर बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गर्दै फाइल बन्द गरेको छ । केयरले विशाल ग्रुपको लगानी गरेको युनाइटेड डिस्ट्रीब्युटर्स, एसियन डिस्ट्रीब्युटर्स, भीजी अटोमोबाइल्स, घोराही सिमेन्ट, मैनबत्ती स्टिल, ग्लोबल ट्रेडिङ कन्सर्न लगायतका कम्पनीको रेटिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?