+
+
संविधान दिवस :

मधेशमा कतै उत्सव, कतै विरोध, जसपा मौन

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असोज ३ गते २०:२८
संविधान दिवसमा एमालेले आयोजना गरेको सरसफाइ कार्यक्रम र लोकतान्त्रिक समाजवादी पार्टीले गरेको विरोध प्रदर्शन ।

३ असोज, जनकपुरधाम । संविधान दिवसमा दलहरुले मधेशमा थरिथरि गतिविधि गरेका छन् । केही मधेश केन्द्रित दलहरुले विरोधसभा गरेका छन् भने प्रमुख राजनीतिक दलहरुले उत्सव मनाएका छन् ।

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको र संघीय सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा) संविधान दिवसमा मौन बसेको छ । अन्य उत्सवहरुमा विज्ञप्ति निकालेर शुभकामना दिने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार मौन रहे ।

संविधानमा केही असन्तुष्टि रहेको, तर सरकारमा समेत भएकाले कुनै कार्यक्रम सरकारले नगरेको मुख्यमन्त्री यादवका स्वकीय सचिव चन्देश्वर महतोले बताए । ‘पहिलो कार्यकालमा पनि जसपा नेतृत्वको सरकार कहिल्यै संविधान दिवस मनाएन । दोश्रो कार्यकालमा पनि हाम्रो नेतृत्व छ’ उनी भन्छन्, ‘जबसम्म असन्तुष्टिका बुँदा संशोधन भएर माग सम्बोधन हुँदैन । तबसम्म मधेश सरकार संविधान दिवस मनाउँदैन । मौन बस्छ ।’

तर संघीय र मधेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने विरोधमा प्रदर्शन गरेको छ । ‘आशिन ३, कारी दिन’ लेखिएको ब्यानरसहित जनकपुरमा संविधानको विरोधमा लोसपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । तमलोपा नेता उमेश मण्डल, अहिलेकै अवस्थामा संविधानको स्वागत गर्न नसकिने बताउँछन् ।

वृषेशचन्द्र लाल नेतृत्वको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि संविधानको विरोधमा प्रदर्शन गरेको छ । तर सत्तामा रहेको जनमत पार्टीले भने संविधानको स्वागत र संशोधनको पहल गर्ने विज्ञप्ति निकालेको छ ।

‘गणतन्त्र, संघीयता, समानुपातिकताका लागि धन्यवाद छ’, जनमतका प्रवक्ता सरद सिंह यादवले जारी विज्ञप्तिमा लेखिएको छ, ‘अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौं ।’

नेकपा एमालेले भने शीर्ष नेताहरुको उपस्थितिमा संविधान दिवसको उत्सव नै मनाएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव एवम् मधेश ईन्चार्ज योगेश भट्टराई सहित नेताहरुको उपस्थितिमा बिहानै जानकी मन्दिर परिसरमा सरसफाइ तथा झण्डोत्तोलन गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका प्रतिनिधिले बनाएको संविधान विश्वकै उत्कृष्ट रहेको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलले पनि संविधान दिवसलाई उत्सवकै रुपमा मनाएका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?