
काठमाडौं । सुनिल थापा स्टारर फिल्म ‘देववाणी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै पुस २७ गतेबाट फिल्म प्रदर्शन हुने जनाएका छन् ।
सार्वजनिक दुई पोस्टरमध्ये पहिलोमा अभिनेता सुनिल थापा, डेब्यु अभिनेता कुन्दन भारद्वाज र डेब्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा भारद्वाजलाई प्रस्तुत गरिएको छ ।
बाबु बलामीको निर्देशन रहेको फिल्ममा सुनिल, कुन्दन र अनुजासहित ध्रुव कोइराला, घनश्याम गिरी, रविन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय हुने जनाइएको छ । सिमरा, वीरगञ्ज र काठमाडौंमा फिल्मको छायांकन गरिएको हो ।
निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए । फिल्मलाई नेपालसहित भारतमा एकसाथ रिलिज गर्ने योजना छ । मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा नीराजन मेहता मन्जिलले लेखेका हुन् ।
हरि घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ हुन् । प्रोष्ट प्रोडक्सनको काम भइरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, प्रवीण ढकालको रंग संयोजन र बन्दे प्रसादको सम्पादन रहनेछ ।
प्रतिक्रिया 4