
५ असोज, काठमाडौं । शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिन प्रदर्शन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता भएको छ ।
महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेका थिए । शिक्षकहरु आन्दोलनमा आएपछि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको थियो । शिक्षा मन्त्रालयसँग मात्र वार्तामा बस्न अस्वीकार गरेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सम्वाद सुरु भएको थियो ।
बिहीबार अनौपचारिक छलफल गरेको सरकार र महासंघबीच शुक्रबार भने लिखित सहमति भएको छ ।
शिक्षकहरुले चर्को विरोध गरेको कारबाहीको अधिकार स्थानीय तहलाई दिने व्यवस्था पुनरावलोकन गर्ने सहमति भएको छ । शिक्षकहरुले यो अधिकार प्रदेशलाई दिनुपर्ने माग गरेका थिए, सरकारले भने संसदीय प्रकृयाबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
शिक्षक महासंघकी उपाध्यक्ष नानुमाया पराजुली भन्छिन्, ‘धेरै जसो मुद्दा पुरा भएको छ । बाँकी भनेको स्थानीय तहलाई कारबाहीको अधिकार थियो । हामीले प्रदेश सरकारमा लैजाने भनेका थियौं, सहमतिमा संसदमा पुनरावलोकन गर्ने भनेका छौं ।’
के–के भयो सहमति ?
सरकार र शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिमा संसदमा दर्ता भएको विद्यालय शिक्षक विधेयक, यसको नियमावलीमा समावेश गर्ने विषयहरुमा सहमति जुटेको छ ।
विधेयकको प्रस्तावित व्यवस्था | सरकार र महासंघबीच भएको सहमति |
शिक्षकको बढुवा हुन १५ वर्ष पुरा हुनुपर्ने | शिक्षकको दश/दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने |
माध्यामिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि प्रथम श्रेणीमा १५ वर्ष काम काम गरेको हुनुपर्ने | माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने
|
२०७५।१२।४ पछि नियुक्त हुने शिक्षकहरूका लागि योगदानमा आधारित निवृतभरण लागू हुने | योगदानमा आधारित निवृतभरण लागू हुने मिति निजामती कर्मचारीलाइ भए सरह लागू हुने । अपुग हुने अवधि अस्थायी सेवाबाट गणना हुने । |
शिक्षकलाई विभागीय कारबाहीको अधिकार स्थानीय तहमा हुने | शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने |
स्थानीय तहभित्रका शिक्षक सरूवा स्थानीय तहले गर्नसक्ने | स्थानीय तहभित्रका शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने । |
शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि पुरुषको ३५ वर्ष र महिलाको ४० हुने | शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि ४० वर्ष कायम गर्ने |
राहत तथा अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत र खुला प्रतियोगिताको आधारमा पदपूर्ति गरिने, | एक पटकको लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने ।
|
यसबाहेक सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, शिक्षा नियमावलीअनुसार पाइरहेको उपचार खर्चसम्बन्धी व्यवस्थालाई विधेयकमा समेट्ने पनि सहमति भएको छ ।
यस्तै संसदमा दर्ता भएको विधेयकमा भएका कतिपय व्यवस्थालाई त्यहाबाट हटाएर नियमावलीमा राख्ने सहमति भएको छ । विधेयकमा कार्यसम्पादन मूल्यांकनको अधिकार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको थियो, अहिले शिक्षकको हकमा प्रधानाध्याक र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने सहमति भएको छ ।
सहमतिपत्र हेर्नुस्
प्रतिक्रिया 4