+
+

अध्ययन टोलीको निष्कर्ष : ४० मिटरसम्म फैलिएको फिर्के कतै साँघुरियो, कतै हरायो

विकास रोकामगर विकास रोकामगर
२०८० असोज ६ गते १२:१५

६ असोज, पोखरा । तिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको वास्तविक आकार जाँच्न सुरु गरेको टोलीले शनिबार पोखरा महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

महानगरपालिकाका अमिन वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले २ महिनापछि अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको हो ।

प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको खुलेको छ । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थागत रुपमा अस्थायी संरचना खडा गरी फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् ।

त्यस्तै, स्थायी संरचना नै बनाएर फिर्के मिच्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन् । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्टि्रक एसोसियसन, फिर्के तमु समाजआदि छन् ।

प्रतिवेदनले करिब २ दशकअघिसम्म फिर्केखोला सफा कञ्चन र पिउनयोग्य पानी बग्ने गरेको पाइएको समेत उल्लेख गरेको छ । ‘फिर्केकै पानीमा नुहाउने, पौडी खेल्ने गरिएको स्थानीय बुढापाकाको अनुभवले देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

तर, फिर्केखोला तीव्र सहरीकरणसँगै अतिक्रमणको चपेटामा परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मानवीय अतिक्रमण र प्रदुषणले फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तितव रक्षाको संकटपूर्ण घडीमा पुगेको छ ।’

नापजाँचका क्रममा फिर्केखोला कम्तिमा ३.३० मिटरदेखि ४० मिटरसम्म फराकिलो रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तर, फिर्केखोलाको पुछार फेवाताल गाईघाटमा माटोले पुरिएर ११ रोपनी ४ आना क्षेत्रफल माटो र फोहोरले पुरिएर चौर बनिसकेको अध्ययनले देखाएको छ ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । अँधेरी कुनादेखि पोखराको मध्यभाग भएर बग्ने फिर्के फेवातालमा गएर मिसिन्छ । ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन ।

फिर्केखोलाको अन्तिमविन्दु गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो ।

खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।

फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ ।

एसियाली विकास बैंकको पोखरामा दीगो पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।

प्रतिवेदन बुझ्दै मेयर धनराज आचार्यले अब कार्यपालिकाले निर्णय गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए । उनले भने, ‘अब यो प्रतिवेदन कार्यपालिकामा पेस गछौं । कार्यपालिकाले के निर्णय गर्छ त्यहीअनुसार नै अगाडि बढ्ने हो । फिर्के मिचेर बनेका संरचना त हट्छन्, त्यसमा शंकै छैन ।’

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?