+
+

फाइटर रवीन्द्रको ड्रिम डेब्यू

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० असोज ७ गते २०:१०

७ असोज, काठमाडौं । स्कुले जीवनमा उनी सोच्थे, भलिबलमा कडा सटहरू हानौं, ताकि गाउँका मानिसले वाह् ! भनुन्, तारिफ गरुन् । तर होचो कदका उनले राम्रोसँग भलिबल खेल्ने मौका समेत पाएनन् । स्कुले जीवन सकिएपछि मजदुरीका लागि मुग्लान पसेका उनी त्यही सपनालाई पछ्याउँदै कराँते सिक्न पुगे, मिक्स मार्सल आर्ट (एमएमए) खेल्न थाले ।

त्यही एमएमएले उनलाई अहिले नसोचेको सफलता दियो । सुदूरपश्चिमको एउटा गाउँमा आफ्नो स्वागत होस् भन्ने चाहेका उनी सबैतिर भव्य स्वागत पाउँदा दंग छन् । नहोउन् पनि किन ? विश्वकै चर्चित वान च्याम्पियनसिपको पहिलो सहभागितामै रवीन्द्र ढाटले सबैको मन जितेका छन् ।

२९ भदौमा थाइल्याण्डमा भएको वान फ्राइडे फाइटमा रवीन्द्रले रसियन तोरेपची डोङ्गाकलाई हराएका थिए । त्यो फाइटको भिडियो सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल नै भयो । अविश्वसनीय माया र समर्थनले आफूलाई थप मिहिनेत गर्न प्रेरित गरेको बताउँदै रवीन्द्र भन्छन्, ‘यति धेरै माया पाउँछु भनेर सोचेको पनि थिइनँ । अब डबल मिहिनेत गर्छु !’

मुग्लानीबाट एमएमएतिर

बझाङको वित्थरचिड, डुम्रेमा जन्मिएका रवीन्द्रले १० कक्षासम्म गाउँमै पढे । त्यसपछि सुदूरपश्चिमका आम युवाहरू जस्तै उनी पनि कामको खोजीमा मुग्लान पसे । उनका बुबा र दाइ पनि भारत नै गएका थिए ।

सन् २०१५ मा उत्तराखण्डको पिथौरागढमा पुगे, सुरुवाती दिनमा ढुंगा लोड गर्ने, बिजुलीको पोल बोक्ने काम गर्न थाले । आफूले सानैदेखि त्यस्तै काम गरेका कारण उमेर ढल्किंदै गएपछि अनेक स्वास्थ्य समस्यासँग जुधिरहेका बुबाले उनलाई सम्झाए, ‘अहिले त जोश छ, गर्लास् । भोलि उमेर बढ्दै जाँदा गाह्रो हुन्छ । प्राविधिक काम सिक्, दिल्लीतिर जा !’

बुबाले भाइ (ठूलो हजुरबुवाको छोरा)लाई भनिदिएपछि दिल्ली पुगेका रवीन्द्रले अफिस ब्वाइको काम पाए, तलब भारु ८ हजार । अफिसमा सरसफाइ गर्ने, चियापानी दिने उनको काम थियो । उनी जुन अफिसमा काम गर्थे, त्यही विल्डिङमा इन्स्टिच्युटहरू थिए । भर्‍याङको रेलिङहरू पुछ्दै गर्दा आफ्नै उमेरका युवा–युवती किताब कापी बोकेर पढ्न आएको देख्थे ।

गाउँका दाइलाई भेटेर सीपमूलक काम खोजिदिन आग्रह गरे, उनले कराँते सिक्न सुझाए । उनकै सुझावमा अफिस जानु अगाडि बिहानको समयमा सातामा तीन दिन कराँते सिक्न थाले । छोटो समयमै उनले मन जिते, प्रशिक्षकहरूले एमएमए (मिक्स मार्सल आर्टस्) तिर जान सुझाए । एमएमए भनेको थाहा थिएन, तर कोचले राम्रो हुन्छ भनेपछि सिक्न थाले ।

केही समयपछि पहिलो प्रतियोगिता आयो, प्रवेश शुल्क तिर्नुपर्ने भयो । आफूसँग बस्दै आएका आफन्तलाई सुनाए । उनीहरूले कहिलेदेखि खेल्न थालेको ? किन खेलेको भन्ने अनेक प्रश्न गरे । उनले बेलिविस्तार लगाएपछि एक पटकका लागि प्रवेश शुल्क तिर्न त तयार भए, तर त्यसपछि खेल छोड्नुपर्ने बताए । उनले सहजै हुन्छ भने । रवीन्द्रले क्लबस्तरीय प्रतियोगिता जिते । तर जितको खुशी समेत राम्रोसँग मनाउन नपाउँदै खेल छाड्न दबाब दिए ।

‘मेरो गाउँका मानिसहरू कुनै पनि खेल क्षेत्रमा हुनुहुन्न, म फस्र्ट खेलाडी नै थिएँ’ उनी भन्छन्, ‘खेलेर कसले जीवन बनाएको छ र ? अब छोड्नुपर्छ भन्न थाल्नुभयो ।’ केही समय त शुल्क तिरिसकें भनेर टारें, तर खेललाई निरन्तरता दिएपछि काकाहरूले कोठा छाडेर हिंडे ।

कोचहरूलाई नै हराएपछि क्लब मालिकले उनलाई अफिस काम गर्नुको साटो त्यहीं प्रशिक्षण पनि गर्न सुझाए । उनले हतार–हतार त्यो खुसीको खबर घरमा सुनाए, तर फेरि उही प्रश्न कति कमाइ हुन्छ ? खेलेर के हुन्छ ? रवीन्द्रमा भने सबैले चिनुन् भन्ने भोक जागेको थियो । निरन्तर खेलेका उनले सन् २०१८ मा एमेच्योर एमएमएको राष्ट्रिय प्रतियोगिता जिते । अर्को वर्ष २०१९ मा पनि जितेपछि वल्र्ड च्याम्पियनसिपका लागि छनोट भयो ।

तर नेपाली भएका कारण भारतको प्रतिनिधित्व गरेर खेल्न नपाउने भए । क्लबका प्रशिक्षकले कागजी प्रक्रिया मिलाउन सकिन्छ भनेका थिए । तर उनी भारतीय नागरिक बन्न तयार भएनन् । भन्छन्, ‘भारतको झण्डा बोकेर खेल्न मनले मानेन, नेपालबाटै खेल्छु भन्ने थियो ।’

नेपाल आएर पासपोर्ट बनाए, छनोट चरण पार गरिसकेकाले नेपालबाट वल्र्ड च्याम्पियनसिप खेल्न पाइन्छ कि भनेर प्रयास पनि गरे । तर कुनै उपाय लागेन । फेरि दिल्ली गए, अनि प्रोफेसनल म्याचहरू खेल्न थाले । त्यही क्रममा नेपालको खेलाडीका रूपमा खेलेको पहिलो खेल जितेपछि उनले सामाजिक सञ्जालमा चर्चा पाए । पुरस्कार रकम नभए पनि यस्ता प्रतियोगिता खेल्दा आउने–जाने खर्चका साथै केही रकम हुन्थ्यो । उनी यसमै रमाइरहे ।

कोरोना (कोभिड–१९) महामारी आयो, लकडाउन हुने भएपछि भारतमा रहेका अरू नेपाली जस्तै रवीन्द्र घर फर्किए । तर यहाँ धेरै दिन टिक्न सकेनन्, लकडाउन कम हुनासाथ म्याचहरू खेल्न दौडिएर भारत पुगे । तर पहिला जस्तो म्याचहरू पाउन छाडे । अहिले पनि उनलाई लाग्छ, सायद नेपाली भनेर चिनिएका कारण पनि कम अवसर दिइएको होला ।

दिविजसँग भएको त्यो भेट

त्यसपछि सन् २०२१ मा उनी काठमाडौं आए । उनको योजना दियो, बहराइन वा दुबई जान्छु, कामसँगै ट्रेनिङ पनि गर्छु । दुबईमा रहेका एक साथीले त्यस्तो अवसर हुनसक्ने सम्भावना पनि देखाएका थिए । काठमाडौंका गल्लीहरू चहारे, म्यानपावर कम्पनीहरूमा पुगेर सोधीखोजी गरे । सबैको जवाफ हुन्थ्यो– ‘विदेश त जान्छन्, ट्रेनिङ गर्न चाहिं पाउँदैनन् !’

त्यही क्रममा भेटिए दिविज पिया लामा । भारतमा हुँदा नै उनले कोच दिविजले ‘द पम्प’ जिम सेन्टरमा ज्यू जेस्ट्यु ट्रेनिङ गराउने गरेको सुनेका थिए । उनी खोज्दै झम्सिखेल पुगे । रवीन्द्र आफ्नो करियरको टर्निङ प्वाइन्ट दिविजसँग भएको भेटलाई मान्छन् । ‘दिविज दाइ नभएको भए सायद विदेश गइसकेको हुन्थें । न थाइल्याण्ड जान सक्थें’ भन्छन्, ‘मैले ट्रेनिङ मात्र गरिरहेको हो, बाँकी सबै दिविज दाइले गरिरहनुभएको छ ।’

उनका अनुसार जिममा आएकै दिन दुवैले फाइट खेलेका थिए । खासमा दिविज रवीन्द्रलाई जाँच्न चाहन्थे । उनको रेसलिङमा राम्रो थियो, अरू पनि कमजोर नभएकाले कोच दिविज प्रभावित भए । भारतमा खेलेको भिडियोहरू पनि हेरेपछि रवीन्द्रलाई थप प्रोत्साहित गरे ।

दिविज र रवीन्द्र थप नजिकिंदै गए । यो अवधिमा रवीन्द्र बैंग्लुर, मध्यप्रदेश र गोवामा खेल्न गए, जितेर आए । यसरी खेल्न जाने क्रममा आवश्यक सरसहयोग गर्ने दिविजले द पम्पमै एमएमए ट्रेनिङ नै सुरु गरे । ‘घरबाट पनि प्रेसर आइरहेको थियो । यदि मैले हारेको भए गाह्रो हुन्थ्यो । जितिरहेका कारण प्रेसर म्यानेज गर्न सहज भयो’ पछिल्लो दुई वर्षदेखि त एमएमएमा म कुनै एक ठाउँमा पुग्न सक्छु भन्ने आत्मविश्वास आएको उनले सुनाए ।

अनि वान च्याम्पियनसिपमा डेब्यू जुर्यो

१ असारमा काठमाडौंमा मिक्स मार्सल आर्टस् प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप हुनेभयो, रवीन्द्रले प्रोफेसनल फाइट गर्ने भए । पहिलो पटक घरेलु मैदानमा खेल्ने अवसर पाएका रवीन्द्रले जिते ।
प्रोफेसनल फाइटमा ५–० को रेकर्ड बनाएका उनलाई दिविजले भने, ट्रेनिङका लागि थाइल्याण्ड जाऊ ।

फेरि उही समस्या, पैसा छैन । कोच मात्र नभएर दाइ मानिसकेका दिविजलाई आफूसँग खर्च नभएको सुनाए ।

दिविजले सोधे, जान त तयार छस् नि ! रवीन्द्रले सहज सहमति जनाएपछि थाइल्याण्ड पुगे । पहिलो दिन वान च्याम्पियनसिप हेर्न गए । आफूले पहिला ट्रेनिङ गरेका कारण दिविजको सम्बन्ध थियो, त्यसकै आधारमा म्याच मेकरलाई भेट गराए । रवीन्द्रको रेकर्डहरू सोधेपछि फाइट दिने नदिने केही दिनमा खबर गर्ने बताए । जिममा ट्रेनिङ चलिरहेको थियो, फाइट फिक्स भएको खबर आयो । अपोनेन्ट पाए, रसियन तोरेपची डोङ्गाक ।

‘उसको फाइट हेरेको किक बक्सिङमा एकदमै फास्ट रहेछ । रेसलिङ डिफेन्स पनि राम्रो रहेछ’ रवीन्द्र भन्छन्, ‘एक महिना तयारी गरौं, सकिन्छ भनेर म्याच लियौं ।’ एक महिना उनले ट्रेनिङ गरे ।

नेपाली खेलाडी रवीन्द्र ढाट (दायाँ) र रसियन तोरेपची डोङ्गाक

उनका अनुसार तीन वर्षमा जति ट्रेनिङ गरेका थिए, एक महिनामा त्योभन्दा बढी ट्रेनिङ ! दिनमा चार घण्टा ट्रेनिङ हुन्थ्यो । तौल घटाउनु पनि थियो । त्यसका लागि उनले अन्तिम दुई साता बिहान तीन वटा अण्डा र साँझ ३८० ग्राम कुखुराको उसिनेको मासु मात्र खाए । एउटा सपना लिएर हिंडेको भन्दै उनले भने, ‘गाह्रो त निकै भएको थियो, तर दाइले विश्वास गरेर यहाँ ल्याउनुभएको छ, वान च्याम्पियनसिपमा मौका पाएको छु भनेर गरिरहें ।’

२९ भदौको म्याचका लागि अघिल्लो दिन २ बजे तौल नाप्नुपर्ने थियो । रवीन्द्रको ६१ केजी तौल हुनुपर्ने थियो । बिहान ७ बजे हेर्दा ६३.५ केजी थियो । हाइड्रेसन टेष्टका लागि डेढदेखि दुई लिटर पानी पिउनुपर्यो । त्यसपछि उनको तौल पुग्यो, करिब ६५ केजी ।

चार केजी तौल घटाउन उनी निरन्तर साउना बसे । ‘त्यो दुई घन्टा नै मेरो जीवनकै सबभन्दा कठिन क्षण थियो’ छाती पोलेर बस्न सक्दिनँ जस्तो भएको बेला साथीहरू पनि उनीसँगै बसे ।

वेट दिन गए । उनको मनमा के होला भन्ने थियो । वेटमा पास भएपछि शरीरमा एकाएक ऊर्जा आयो । त्यसपछि झण्डै एक घण्टा यात्रा गरेर विरयानी खान गएको भन्दै उनी भन्छन्, ‘एक महिनापछि खान पाएकाले होला, धेरै खाएछु । राति पेट दुखेर गाह्रो भयो ।’

भोलिपल्ट रिङमा उत्रिए । ‘वानमा पहिलो नेपाली फाइटरका रूपमा जाँदैछु, सबैले हेरिरहनुभएको छ भन्ने दबाब त थियो, तर त्यसलाई साइडमा राखें’ त्यो क्षण सम्झिंदै रवीन्द्र भन्छन्, ‘आफैंले आफैंलाई भनिरहेको थिएँ, जितिस् भने सबै तेरो अगाडि पछाडि छ, हारिस् भने कोही छैन ।’

पहिलो राउण्ड सुरु भयो । विपक्षीबारे राम्रो अध्ययन गरेका उनको अनुमान थियो, सुरुमा लो किक हान्छ, म क्रस छिराउँछु । ‘उसले यति फास्ट किक हान्यो कि मैले देख्दै देखिनँ’ त्यसपछि पनि विपक्षीलाई हानेको आफ्नो पञ्च सही दिशामा नगएको उनले सुुनाए ।

स्मार्ट रवीन्द्रले रणनीति बदले, स्ट्राइकमा मात्र बस्यो भने गाह्रो पर्छ, विपक्षीलाई थलाइ हाल्नुपर्छ । त्यसपछि उनले टेक डाउन लिए, विपक्षीलाई लडाए । ५ मिनेटको पहिलो राउण्ड ठिकै मात्र रह्यो ।

दोस्रो राउण्डको सुरुमा पनि रसियन डोङ्गाक स्ट्राइकमा हावी हुन खोजे । उनी रवीन्द्रलाई किक र पञ्च हान्दै भाग्दै गरिरहेका थिए । रवीन्द्रले आफ्नो बलियो पक्ष रेसलिङलाई प्रयोग गरेर उनलाई लडाए, दबाबमा राखे । ‘रेसलिङमा मैले माथिबाट आफ्नो वेट मात्र हालिरहें, तल भएको उसले उठ्न पावर लगाउनु परेकाले तेस्रो राउण्डमा पुग्दा ऊ थाकिसकेको थियो’ रवीन्द्र भन्छन्, ‘मैले टेक डाउन लिएँ, उनलाई हानिरहें ।’

जब रेफ्रीले उनलाई रोके, रवीन्द्रको खुसीको सीमा रहेन । ‘ल मैले त जितें, म त वानमा इन्टर भएको पहिलो नेपाली फाइटर पो त भन्ने भयो भनेर जम्प गरिदिएँ’ जितेको भनेर विश्वास नै गाह्रो भएको रवीन्द्रले सुनाए । नेपालको राष्ट्रिय झण्डा ओढेर खुसी मनाउने क्रममा उनले क्यामेरातिर हेरेर संकेत गरे, ‘देख्यौ ! नेपाली फाइटरको प्रवेश भइसक्यो !’

खेल जितेको केही क्षणपछि मोबाइल हेरें, त्यहाँ आएका प्रतिक्रियाहरूले उनलाई निकै भावुक बनायो, आँखामा आँसु आयो । ‘मलाई यत्रो मान्छेले हेर्छन् भन्ने अनुमानै थिएन’ सुरुमा मोबाइल अन गर्दा त नोटिफिकेसनका कारण ह्याङ भएको सुनाउँदै उनी भन्छन्, ‘जित्दा खुसी त थिएँ नै, मेरो जितमा आएको रियाक्सनका कारण झन् खुसी भएँ ।’

२ असोजमा स्वदेश फर्किंदा पनि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाए । ‘म खेलाडी भएर गाउँमा आउँदा मानिसहरूले स्वागत गर्दा कस्तो होला भन्ने सोचेर हिंडेको मान्छे म’ उनी भन्छन्, ‘मलाई स्वागत गर्न विमानस्थलमा आएको देख्दा त सपना नै जस्तो लागेको थियो । ल मैले के गरें यस्तो भने जस्तो भएको थियो ।’

उनलाई प्रोफेसनल एमएमएको करियर बल्ल सुरु भयो भन्ने लागेको छ । किनकि कहिले पैसा कमाउने हो भनेर निरन्तर सोध्ने आमाबुबाले अब खेल भन्न थाल्नुभएको छ, अनि यति धेरै समर्थक/शुभेच्छुकको साथ पाएको छु । ‘वान च्याम्पियसनसिप मेरो ड्रिम थियो, तर डेब्यूमै मैले यति धेरै माया पाउँछु भनेर सोचेको थिइनँ’ रवीन्द्र भन्छन्, ‘मेरो प्रोफेसनल एमएमएको करियर बल्ल भयो, अहिलेभन्दा डबल मिहिनेत गर्नुपर्छ भन्ने भएको छ ।’

फोटो /भिडियो: आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?