+
+

चाडपर्व लक्षित आयात यस वर्ष पनि बढेन, निर्यात समेत खुम्चियो

अच्युत पुरी अच्युत पुरी
२०८० असोज ७ गते १९:५५

७ असोज, काठमाडौं । नेपालमा चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने महिना भदौमा यस आर्थिक वर्ष (आव) २०८०/८१ मा समेत ठूलो आयात नभएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको भदौमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । यो अघिल्लो महिना साउनको तुलनामा मात्र १ अर्ब रुपैयाँ धेरै हो । अघिल्लो आव २०७९/८० को भदौ महिनामा मात्र १ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो ।

भन्सार विभागका अनुसार यस आवको पहिलो दुई महिना (साउन–भदौ)मा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.०६ प्रतिशत कम हो । सो आवको पहिलो दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण उपभोक्तामा खर्च गर्ने आत्मविश्वास फर्किसकेको छैन । यसको असर अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष रुपमा देखिएको सरोकारवालाले बताउँदै आएका छन् ।

सोहीकारण अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक रुपमै बजारमा आत्मविश्वास जगाउने खालका अभिव्यक्ति दिन आह्वान गर्दै आएका छन् । नेपालमा असोज र कात्तिक महिनामा पर्ने मुख्य चाडबाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी हुने सबैभन्दा धेरै वस्तु आयात भदौमा हुने गरेको छ । तर, यस आवमा भने चाडबाड लक्षित आयात उत्साहजनक नदेखिएको हो ।

निर्यात समेत खुम्चियो

तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिनामा निर्यात समेत खुम्चिएको छ । यस आवको साउन र भदौमा मात्र २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो । अघिल्लो आवमा २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । वस्तु आयात र निर्यात दुवैमा आएको कमीका कारण यस आवको पहिलो दुई महिनामा व्यापार घाटा र कुल वैदेशिक व्यापार समेत खुम्चिएको छ । यस आवको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । यो अघिल्लो आवको यसै महिनाको तुलनामा ४.७४ प्रतिशत कम हो ।

अघिल्लो आव दुई महिनामा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । कुल व्यापारको आधार दुई महिनामा २ खर्ब ८६ अर्ब ६१ करोड पुगेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.३२ प्रतिशतले घटेको हो । अघिल्लो आवको पहिलो दुई महिनामा कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यस वर्ष पहिलो दुई महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७६ र निर्यातको हिस्सा ९.२४ प्रतिशत रहेको देखिन्छ ।

दुई महिनामा झण्डै ४५ अर्बको पेट्रोलियम आयात

भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालबाट झण्डै ४५ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपालमा भारतबाट यस्तो वस्तु आयात हुने गर्छ । दुई महिनामा २४ अर्ब ४९ करोड रुपैयाँको आइरन र स्टील आयात भएको छ । यस्तो वस्तुको निर्यात समेत २ अर्ब ६२ करोड रुपैयाको भएको छ । दुई महिनामा ५ अर्बको तरकारीजन्य वस्तु आयात भएको छ ।

भारतसँग हुन्छ सबैभन्दा धेरै व्यापार

नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग हुने गरेको छ । पहिलो दुई महिनामा भारतबाट १ खर्ब ६० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

नेपालबाट १६ अर्ब ७३ करोड रुपैयाँको वस्तु निर्यात हुँदा व्यापार घाटा १ खर्ब ४४ अर्ब रुपैयाँ देखिएको छ । चीनबाट ४६ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट मात्र ५४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?