+
+

जब बालेनले चौरमा कुर्सी राखेर ईः लाई बोलाउन नगर प्रहरी पठाए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते २०:३०

८ असोज, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा सामाजिक अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् ।

चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै ईः मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । सुरुमा ७७ घन्टा भनिएको उनको विरोध कार्यक्रम १२८ हुँदै १९९ घन्टा पुर्‍याउने घोषणा भएको छ ।

उनीसँगै उभिएर थुप्रैले साथ दिएका छन् । सम्वाद नगरेको भन्दै मेयर बालेनको आलोचना भइरहेको छ ।

सोमबार भने काठमाडौंका मेयर वालेनले वार्ता गर्ने भन्दै चौरमा दुई कुर्सी राख्न लगाए । सभागृह अगाडि राष्ट्रिय झण्डा राखिएको ठाउँ नजिकै कुर्सी राखेपछि मेयर बालेन त्यहाँ आएर बसे ।

अनि निजी सुरक्षाकर्मीका रुपमा खटिएका नगर प्रहरी रामहरि कार्कीलाई अभियन्ता ईः लाई बोलाउन पठाए । मेयरको सचिवालयका एक सदस्य भन्छन्, ‘मेयर सा’बको कुरा उहाँ प्रदर्शनमा बस्नुभएको हो, उहाँसँग सिधै कुरा गरेर तत्काल समाधान गरौं भन्ने हो ।’

अभियन्ता ईः ले पनि सोमबार विहान मेयरले बोलाएको खबर लिएर नगर प्रहरी आएको पुष्टि गरेका छन् ।

ईःका अनुसार नगर प्रहरी कार्कीले भनेका थिए, ‘मेयरसाबले खोज्नुभएको छ, भित्र आउनुपर्‍यो ।

सम्वाद गर्न चाहेको भए पूर्व सचना दिनुपर्ने भन्दै ईःले कम्तीमा एक/आधा घन्टा दिनुपर्ने बताए । त्यसपछि कानुनका जानकार, शहरी विकासका जानकारहरु, फुटपाथ व्यवसायी समेतको टिम वार्तामा बस्ने बताएपछि नगर प्रहरी ले ‘अहिले भेट्ने भए भेट्नुपर्‍यो, नभए भेट्नुहुन्न’ भनेको ईःले फेसबुकमार्फत जानकारी दिएका छन् ।

मेयरको सचिवालयका सदस्यहरुका अनुसार दोस्रो पटक पनि नगर प्रहरी ईःलाई बोलाउन गएका थिए । उनले ईःलाई भेटेर टिम बनाएर आउने भएपनि आधिकारिक व्यक्ति गएर मेयरलाई जानकारी गराउन आग्रह गरे । तर ईःले पुरानै कुरा दोहोर्‍याए ।

त्यसपछि मेयर बालेनले सामाजिक सञ्जालमा अभियन्ताहरुलाई सुन्न भनेर आफैं उभिएको ठाउँमा गएर वार्तामा बोलाउँदा पनि आउन नखोजेको बताएका छन् । सबै कुराको समाधान सम्वादबाट हुनुपर्छ भन्ने आफूले बोलेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘शायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेका छौं । के वार्ता उहाँहरुको नेतासँग गर्नुपर्ने ?’

अभियान्ता ईः ले भने मेयर बालेनले देखाएको व्यवहार ‘राजा महाराजाभन्दा पनि चर्को’ भएको टिप्पणी गरे । ‘वार्ता भनेपछि पूर्वसूचना हुनुपर्छ, नगर प्रहरीको माध्यमबाट हकारेर तत्काल आयो भने हुन्छ, नभए भेट हुँदैन भनेर थर्काउनु त पहिलेको जस्तै सनक प्रवृत्तिको निरन्तरता भयो’, उनले भने, ‘७ दिनदेखि उभिएर बसेका छौं । वार्ता भनेपछि हाई हेलो भनेर मात्र गरेर त भएन नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?