+
+

बसन्तपुरमा ठड्याइयो लिङ्गो, इन्द्रजात्रा सुरु

आर्यन धिमाल आर्यन धिमाल
२०८० असोज ९ गते ११:५५

९ असोज, काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । यससँगै काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ ।

भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । यस दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोलीले भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट काटेर ल्याएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो ।

ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?