+
+

इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १२:१८

९ असोज,काठमाडौं । काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो ।

टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौं आएका हुन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए ।

चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरु नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि चीनसँगै अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार असोज ९ गते (बुधबार) बिहान १० बजेर ३७ मिनेट जाँदा इन्द्रध्वजसहितको लिङ्गो बसन्तपुरस्थित हनुमानढोका अगाडि ठड्याइएको छ । असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराइने छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।

इन्द्रजात्राको मुख्यदिन असोज ११ गते काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ ।

जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?