+
+
विचार   :

शिक्षक आन्दोलनको बदनियतपूर्ण विसर्जन

हामीप्रति समाजको हेर्ने दृष्टिकोण तथा गर्ने व्यवहार निम्नस्तरको हुनुका पछाडि पनि हामी नै दोषी छौं। राज्यस्तरबाट हुने शिक्षकका भरुवा, सरुवा, बढुवा, पुरस्कार, दण्ड आदिमा पनि राजनीतिक हस्तक्षेप भयो भन्छौं, त्यो पनि हाम्रै औकातले भएको हैन र ?

लालबहादुर बोहरा लालबहादुर बोहरा
२०८० असोज ९ गते १४:०२

राजनीतिशास्त्रमा भनाइ नै छ, ‘नागरिकले आन्दोलन थाले सडक गुञ्जन्छ, आवाज बुलन्द हुन्छ र साझा लक्ष्यको प्राप्तिका लागि निस्वार्थ भावका साथ सबै जना एकलव्य तवरले केवल अगाडि बढ्छन्; तर, फगत कार्यकर्ताहरूले आन्दोलन थाले साझा लक्ष्यको नाम भजाएर अगुवाइ गर्ने नेताहरूको स्वार्थ लेनदेनका आधारमा आन्दोलन अगाडि बढ्छ; लक्ष्यमा पुगिन्छ वा पुगिन्न केही भन्न सकिंदैन।’

राजनीतिशास्त्रको यो अन्तर्य जहाँजहाँ दलीय कार्यकर्ताहरूले आन्दोलनको थालनी गर्छन्, त्यहाँत्यहाँ यस प्रवृत्तिको पुनरावृत्ति भइनै रहन्छ। केही दिन अगाडि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा थालिएको राजधानीकेन्द्रित आन्दोलनलाई यसैको पछिल्लो उदाहरणका रूपमा हेर्न सकिन्छ।

प्रष्ट छ, दलगत स्वार्थ भन्दा माथि उठ्न नसकेका शिक्षक संघ-संगठनहरू तथा दलीय कार्यकर्ताभन्दा विचारधारामा फरक नभएका शिक्षक नेताका कारण आन्दोलनले बेमोज विसर्जनको रूप लिएको कुरा सबैका सामु छर्लङ्ग छ। यसलेख मार्फत मैले शिक्षक आन्दोलनको बदनियतपूर्ण विसर्जनको अन्तर्यलाई सूक्ष्म ढंगले केलाउने प्रयास गरेको छु।

सर्वस्वीकार्य कुरा यो छ कि विश्व-दुनियाँमा शिक्षण पेशालाई सबैभन्दा उपल्लो र सर्वसम्मानित पेशाका रूपमा लिइन्छ। राज्यका हरेक क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति शिक्षण पेशाबाटै उत्पादित हुने भएकाले यसको सर्वाङ्गीण विकासका लागि राज्यले ध्यान दिन आवश्यक देखिन्छ। शिक्षण पेशाको मूल अन्तर्य कक्षाकोठामा अध्यापनरत शिक्षकहरूसँग जोडिन्छ।

लालबहादुर बोहरा

त्यसैले शिक्षकहरू दक्ष, प्रशिक्षित, अनुभवी र असल आचरणयुक्त भए मात्र शिक्षण पेशाको गरिमा ओजपूर्ण हुनसक्ने देखिन्छ। त्यसका लागि शिक्षण पेशामा असल व्यक्तिहरू प्रवेश हुन आवश्यक छ। प्रवेश भएपश्चात् तिनको पेशागत विकासका लागि राज्यपक्षबाट तथा स्वयं व्यक्तिले नै विभिन्न तालिम, सेमिनार, गोष्ठी, सम्मेलन, स्व-अध्ययन, अनुसन्धान, लेखन तथा अन्य विविध माध्यमबाट आफूलाई परिमार्जित, विकसित, नवीनतम तथा समयानुकूल बनाउँदै लैजानुपर्ने हुन्छ ।

हाम्रो राज्यपक्ष तथा हामी शिक्षक स्वयंबाट त्यो प्रयास भएको छ वा छैन मिहिनतवरले केलाउनै पर्दछ। मेरो विचारमा हामीकहाँ राज्यपक्ष र हामी स्वयं शिक्षकहरू कहीं न कहीं मूलभूत रूपमा चुकेका छौं। शिक्षकहरूले जे गर्नैपर्ने हो त्यो गर्नमा भन्दा पनि पेशागत रूपमा गर्नै नहुने कुराहरूमा हामी बढीभन्दा बढी व्यस्त भएर आफू र आफ्नो पेशालाई अस्तव्यस्त बनाउँदै लगेका छौं।

जस्तै शिक्षकहरूले नियमित पढ्नुपर्ने हुन्छ, हामी पढ्दैनौं; सकेसम्म लेखन तथा अनुसन्धानमा लागिरहनुपर्दछ, हामी विरलै लाग्दछौं; सामाजिक आचरण, आनीबानी, व्यवहार, आदिले भरिपूर्ण हुनुपर्दछ, हामी प्रायः छैनौं; यस्तै यस्तै। तर, हामीले हाम्रा पेशागत संघ-संगठनदेखि हाम्रा वैयक्तिक आचरण दलीय बनाएका छौं।

एउटै विद्यालयभित्र दलैपिच्छेका संगठनमा आवद्ध शिक्षकहरू लामबद्ध छौं। विचार गोष्ठीदेखि सांगठनिक भेलाहरू गर्नुपरे तिनै विचार मिल्ने तिनै दलका नेताहरूलाई बोलाउँछौं। आफ्नो पेशा भन्दा पनि पार्टीको जयजयकार गर्छौं। त्यतिले मात्र कहाँ पुग्छ र ? हाम्रा हात-हातमा संघ-संगठनको मात्र हैन सम्बन्धित दलहरूका पनि सदस्यता थामिएका छन्।

सामाजिक सञ्जालमा पनि हाम्रा हर्कतहरू छताछुल्लै छन्- पेशागत कुराकानी भन्दा राजनीतिक सौदाबाजी नै बढी।आफ्ना दल र संघ-संगठनका नेताहरू अनि शुभेच्छुकहरूलाई रुघाखोकी मात्र लागेको भए के भो, स्वास्थ्य लाभको कामना लेखिहाल्छौं। जन्म, मृत्यु तथा कुनै घटना घट्न हुन्न, आफ्नो जात त्यहाँ नि एकाकार गरिहाल्छौं। तर, त्यस्तै सम्मान, सदीक्षा र स्मरण अलि टाढाको लागि भने गर्न हिच्किचाउँछौं ।

हामी शिक्षकलाई हाम्रा दल, संघ-संगठन तथा हाम्रा नेताहरू हामीलाई हाम्रो आफ्नै पेशा तथा जन्मदिने बा-आमा भन्दा धेरै नै माथि लाग्न थालेको कति भो कति, है ? हाम्रो पेशा अपहेलित भएको यही कारणले हो । हाम्रा नीतिनियमहरू फितलो तथा कामचलाउ बन्ने गरेका हाम्रै नियतले हुन्। हामीप्रति समाजको हेर्ने दृष्टिकोण तथा गर्ने व्यवहार निम्नस्तरको हुनुका पछाडि पनि हामी नै दोषी छौं।

शिक्षकहरू आफैं प्रत्यक्ष राजनीतिमा संलग्न भए वा कार्यकर्ता झैं दलहरूको पक्षपोषणमा लाग्यौं भने आफ्नो पेशागत मर्यादा त सखाप पार्छौं नै समग्र शिक्षण पेशाको नै ओज घटाउन उद्यत हुन्छौं।

राज्यस्तरबाट हुने शिक्षकका भरुवा, सरुवा, बढुवा, पुरस्कार, दण्ड आदिमा पनि राजनीतिक हस्तक्षेप भयो भन्छौं, त्यो पनि हाम्रै औकातले भएको हैन र? समग्रमा यस पटकको शिक्षकहरूको आन्दोलन असफल भयो भन्दैछौं, हो पनि। कारण खोज्दै जाँदा त्यहाँ पनि हाम्रै कर्महरू दोषी छन् र हामी दोषी छौं।

आखिर शिक्षण पेशालाई शिरमा राखेर यसैको विकास, समृद्धि र यथार्थताका आधारमा अगाडि बढ्नुपर्ने शिक्षकहरूले किन अरु नै गतिविधि गरिरहेका छौं, आत्मालोचित गर्नैपर्ने भएको छ। जति चाँडो यसबारेमा हामी सचेत हुन्छौं, त्यति नै हाम्रा लागि फलदायी हुनेछ ।

अब कुरा गरौं यस पटकको शिक्षक आन्दोलनको । लामो समयपश्चात् विद्यालय शिक्षा ऐन सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता हुने कुरा केही दिन अगाडि चलिरहेको थियो। त्यसको ड्राफ्ट कपी सामाजिक सञ्जाल मार्फत आमरूपमा सार्वजनिक पनि भयो। त्यसका केही प्रावधानहरू जस्तै विद्यालय शिक्षा पूर्णत: स्थानीय तह मार्फत संचालित हुने, साविकका उच्च-माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरूका बारेमा विधेयक मौन रहेको, राहत, अनुदान लगायतका दरबन्दीहरूमा ५० प्रतिशत जतिमा मात्र आन्तरिक प्रतिस्पर्धा गराइने, शिक्षक राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने आदिले देशैभरका शिक्षकहरूलाई नराम्ररी झस्कायो ।

एकाएक शिक्षक महासंघदेखि संघ-संगठनहरूले ती प्रावधानहरूको विरुद्धमा देशैभरका सामुदायिक विद्यालयहरू बन्द गरेर काठमाडौंकेन्द्रित आन्दोलन सञ्चालन गर्ने निर्णय समेत गरे। सोही बमोजिम प्रत्येक जिल्लाबाट शिक्षकहरू काठमाडौंकेन्द्रित भए र नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनमा होमिए पनि। तर, शिक्षकहरूलाई आफ्ना स्थानीय कार्यकर्ता ठान्ने दलहरूदेखि सरकारपक्ष भने आन्दोलित शिक्षकहरूलाई विगतमा झैं कसरी ललाईफकाई गरेर आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने ध्याउन्नमा लागे।

इतिहास साक्षी छ, विगतमा शिक्षकहरूले यस्तै आन्दोलन गर्दा अगुवाइ गर्ने शिक्षक नेताहरूलाई विदेश सयरको मेसोदेखि अति गरे कारबाहीको पासोमा पार्नेसम्मका आश्वासन र धम्की दिएर आन्दोलन विसर्जन गराएका थिए। यसपटक पनि त्यसै भयो। तर, शिक्षण पेशाको गरिमा चाहने कतिपय शिक्षक र सरोकारवाला व्यक्तिहरूले भने विगतका कमजोरीलाई गद्दारी तथा यस पटककोलाई महागद्दारीको संज्ञा दिए।

हुन पनि हो, यसपटक झण्डै एकतिहाइ जति शिक्षकहरू आन्दोलनका लागि काठमाडौंकेन्द्रित भएका थिए। थोरै बल र साहस गरेको भए झण्डै पाँचदशक लामो समयपश्चात् आउन लागेको विद्यालय शिक्षा ऐन मार्फत आफ्ना कतिपय मागहरू पूरा गर्दै शिक्षण पेशाको ओर्लिंदो साखलाई उकास्न सकिन्थ्यो। तर त्यसो हुन सकेन।

मुख्य कुरा त के भने आन्दोलनरत शिक्षकहरू नागरिक वा स्वसरह भएर सडकमा आएका भए उनीहरूले नैतिकताको बलले पनि आफ्ना मागहरू पूरा गर्न सक्ने सम्भावना हुनसक्थ्यो। आन्दोलनले नै स्थानीय तहको विछट्ट राजनीतिक रसातलमा डुब्न लागेको विद्यालय तहको शिक्षालाई संविधान नै परिवर्तन गरेर भए पनि पार लगाउन सकिन्थ्यो। संवैधानिक शिक्षा आयोगका बारेमा आवाज बुलन्द गरेको भए शिक्षण पेशालाई थप आकर्षक बनाएर यसप्रतिको बुझाइलाई परिष्कृत पार्न सकिन्थ्यो।

साथै पेशागत सुरक्षादेखि मर्यादाका कुराहरू त छँदै नै छन्। तर, व्यक्तिगत स्वार्थ र दलका नेताहरूको भक्ति गर्दै आफ्नो रोटी सेक्ने शिक्षक महासंघदेखि संघ-संगठनहरूका अगुवाहरूले विगतमा झैं यसपटक पनि धोकाधडी गरे। आफ्नो यथार्थ चित्रण सहित एतिहासिक गल्ती गरेरै छोडे। यसको इतिहासले मूल्यांकन गर्ने नै छ, गर्नु पनि पर्छ।

हामीले शिक्षण गर्ने संस्थाहरूमा शिक्षक संघ-संगठन मार्फत दलीय राजनीतिलाई भित्र्यायौं भने हामी बलिया हैन कमजोर सावित हुनेछौं र भइरहेका पनि छौं। हालैको आन्दोलनको लक्ष्यविहीन विसर्जन यसैको परिणाम हो भन्ने कुरा इतिहासले हामीलाई सदैव सम्झाइरहने छ।

विद्यालय शिक्षालाई मर्यादित बनाउन अझै पनि प्रशस्त सम्भावना छन्। सहायक खालका मामलामा भए पनि केही सहमतिहरू विगतमा पनि भएका छन् र यसपटक पनि भए। ती सबैको कार्यान्वयनमा सचेत हुनैपर्दछ। साथै, सदनमा पनि हिजोआज शिक्षा क्षेत्रको सुधारको बारेमा सघन छलफलहरू हुन थालेका छन्।

होनहार युवा सांसदहरू जसले देश–विदेशको शैक्षिक विकासलाई राम्ररी सुझबुझ गरेका छन्, तिनीहरू पनि शिक्षा क्षेत्रको विकास गर्नैपर्ने भाष्यमा लागिपरेका छन्। यो पनि हाम्रा लागि एक आधारशिला हो। शिक्षण पेशालाई राजनीतिबाट टाढै राख्नुपर्ने तथा शिक्षकहरू कुनै दलविशेषसँग आवद्ध हुनै नहुने कुराको चर्चाले समेत ठाउँ पाएको छ। स्थानीय तहभित्रका थिति–बेथितिका बारेमा हामी शिक्षक मात्र हैन स्वयं केन्द्रीयस्तरका नेताहरू समेत जानकार छन्।

हिजो संविधान निर्माणताका स्थानीय तह मातहत विद्यालय शिक्षा रहने व्यवस्था गरेको भए तापनि आज स्वयं कतिपय जनप्रतिनिधि त्यो प्रावधानका बारेमा आत्मालोचित हुन थालेका छन्। हामीकहाँको शैक्षिक गुणस्तर खस्कँदो भएका कारण दिनप्रतिदिन सयौं विद्यार्थी विदेशिन बाध्य छन्। यसबारेमा पनि नेपालको बौद्धिकदेखि राजनीतिक वृत्तमा राम्रै बहस हुन थालेको छ। अझै हामीले सरोकारवाला पक्षलाई बुझाउन सक्नुपर्दछ।

यसरी यी तमाम घट्नाक्रमका बारेमा हाम्रा चासोहरू विभिन्न बहस, छलफल, सामाजिक सञ्जाल, आदिका माध्यमबाट मुखरित हुनसके अझै पनि विद्यालय शिक्षा ऐन मार्फत हामी हाम्रा जायज मागहरू सम्बोधन गर्न सक्नेछौं। दोस्रो दर्जामा दर्ज भएको शिक्षण पेशाको अवस्थितिलाई दुनियाँमा झैं सबैको आकर्षणको केन्द्र बनाउन सकिन्छ।

अन्त्यमा, शिक्षा क्षेत्रको मर्यादा जोगाउने वा सत्यनास पार्ने भन्ने कुरा हामी शिक्षकका दिनानुदिनका व्यवहार, कार्यशैली, पेशागत निष्ठा आदिसँग जोडिएर आउँछ। शिक्षकहरू आफैं प्रत्यक्ष राजनीतिमा संलग्न भए वा कार्यकर्ता झैं दलहरूको पक्षपोषणमा लाग्यौं भने आफ्नो पेशागत मर्यादा त सखाप पार्छौं नै समग्र शिक्षण पेशाको नै ओज घटाउन उद्यत हुन्छौं।

हामीले शिक्षण गर्ने संस्थाहरूमा शिक्षक संघ-संगठन मार्फत दलीय राजनीतिलाई भित्र्यायौं भने हामी बलिया हैन कमजोर सावित हुनेछौं र भइरहेका पनि छौं। हालैको आन्दोलनको लक्ष्यविहीन विसर्जन यसैको परिणाम हो भन्ने कुरा इतिहासले हामीलाई सदैव सम्झाइरहने छ। त्यसैले हामीले गरेका कमजोरीहरूबाट पाठ सिक्दै शिक्षण पेशाको मर्यादालाई उँचो राख्न हामी अग्रसर हुनैपर्दछ। प्रयास गरौं, लागौं र गन्तव्यमुखी यात्रा सँगसँगै हिंडौ पनि!

(लेखक जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङका उपप्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?