+
+

एसियाडमा चौथो दिन : पदकको छेउछाउ नै छैनन् नेपाली खेलाडी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज ९ गते १९:२५

९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसिन गेम्स (एसियाड) मा नेपालको कमजोर प्रदर्शनले चौथो दिन पनि निरन्तरता पाएको छ ।

नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, पुरुष रग्बीमा चुनौती समाप्त भइसकेको छ ।

पदकको आशासहित मुख्य प्राथमिकतामा राखिएका तेक्वान्दो, बक्सिङ लगायत खेलमा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ ।

मंगलबार पनि नेपालका तेक्वान्दो र बक्सिङ खेलाडी अन्तिम १६ बाट अघि बढ्न सकेका छैनन् ।

तेक्वान्दोका गोविन्दबहादुर आलेले एक खेल जित्दै अन्तिम १६ मा पुगेपनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य सबै खेलमा नेपाली खेलाडी पराजित भएका छन् ।

पदकको अपेक्षा गरिएको तेक्वान्दोमा मंगलबारसम्म ७ खेलाडी बाहिरिसकेका छन् भने चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

यसअघि पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक-एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउण्डमै पराजित भएका थिए ।

तेक्वान्दोमा निराशा

मंगलबार लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी तौल समूहमा अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए ।

उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

अन्तिम १६ को खेलमा पनि उनले थाइल्याण्डका बानलुङ टुबतिम्दाङ विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कडा टक्कर दिएका थिए । तर थोरैले मात्र पछि परे ।

पहिलो राउण्डमा १४-१२ ले पछि परेका गोविन्द दोस्रो राउण्डमा ८-७ ले पछि पर्दा २-० ले पराजित हुँदै बाहिरिएका हुन् ।

यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले  पराजित भइन् । आयषा पहिलो राउण्डमा १७-५ र र दोस्रो राउण्डमा १३-० ले पछि परिन् ।

महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्या कुमारी सिंह लाइतितिए आउनसँग २-० ले पराजित भइन् । सन्ध्या पहिलो राउण्डमा १४-० र दोस्रो राउण्डमा १७-३ ले पछि परिन् ।

उसुमा दीपक र निमा पराजित

उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

झिओसन ग्वाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३ औं स्थानमा रहे ।

उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे ।

यस इभेन्टमा २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले कांस्य जिते ।

महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १० औं स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन् ।

स्क्वासमा चार वटै टिम इभेन्टमा नेपाल पराजित

१९औं एसियाड अन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल महिला र पुरुष दुवैको टिम इभेन्टमा पराजित भएको छ ।

मंगलबार हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुषतर्फ दुई र महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भएको छ ।

पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३-० ले पराजित भयो ।

टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११-२, ११-३, ११-५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११-२, ११-२, ११-६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११-३, ११-३, ११-५ ले पराजित भए ।

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११-२, ११-५, ११-२ ले अमृत असिम मुहमम्दसँग ११-३, ११-२, ११-५ ले र अरहान्त नुर जमनसँग ११-१, ११-८, ११-५ ले पराजित भए ।

यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३-० कै नतिजामा पराजित भयो ।

महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११-३, ११-१, ११-६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११-२, ११-५, ११-६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११-४, ११-५, ११-४ ले पराजित भए ।

मकाउ विरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११-६, ११-९, ११-४ ले विपना वेएङ चि युएङसँग ११-३, ११-४, ११-४ ले र कृष्णा वाइ लेङ युएङसँग ११-६, ११-५, ११-० ले पराजित भए ।

पौडीमा अनुशिया तन्डुकार हिटबाटै बाहिर

मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।

हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न सकिनन् ।

यस स्पर्धामा कूल ३० खेलाडीले प्रतिस्पर्धा गरेकोमा अनुसिया २५औं स्थानमा रहिन् ।

जुडोमा नेपालका सबै खेलाडी पराजित

१९औं एसियाड अन्तर्गत जुडोमा व्यक्तिगततर्फ नेपालको यात्रा मंगलबार नेपालको यात्रा समाप्त भएको छ । मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएका छन् । अब नेपालले टिम इभेन्टमा खेल्न बाँकी छ ।

जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् ।

जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागि थिए । तर कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।

बक्सिङमा बुद्ध पराजित

१९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् ।

पुरुष ५७ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४-० ले पराजित भए ।

टेनिसमा फिलिपिन्ससँग पराजित

१९औं एसियाड अन्तर्गत टेनिस मिक्स डबल्समा मंगलबार नेपाल फिलिपिनससँग सोझो सेटमा पराजित भएको छ ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्ट टेनिस कोर्टमा भएको खेलमा नेपालका सुनिरा थापा र प्रणव खनालको जोडी फिलिपिन्सकी एलेक्स एलाला र फ्रान्सिस कासी अल्काल्तरासँग ६-०, ६-० ले पराजित भए ।

रग्बीमा सबै खेलमा पराजित

एसियन गेम्समा डेब्यु गरेको नेपालको रग्बीले लज्जासपद प्रदर्शन गर्दा सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।

मंगलबार भएको ९-१३ औं स्थान निर्धारणको लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हान्झाउ नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको खेलमा अन्तिम नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८-० अन्तरले पराजित भयो ।

प्रतियोगितामा नेपालले बेहोरेको यो सबैभन्दा ठूलो हार समेत हो । यससहित नेपालले खेलेको सबै ६ खेल हारेको हो ।

६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५-७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५-० र अफगानिस्तानसँग ४१-० ले पराजित भयो ।

समूह चरणमा तीनवटै खेलमा पराजित समूह चरणबाट बाहिरिएपछि ९ देखि १३औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले पराजित भयो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?