+
+

मानव अधिकार आयोगले सरकारलाई भन्यो : ई: को जीवन रक्षाको पहल गर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १४:०७

१० असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई:’ को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई:’लाई आग्रह पनि गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई:’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’

‘ई:’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

अभियन्ता ‘ई’ ले फुटपाथमा बसेर व्यापार गर्दै आएकाहरुलाई विना विकल्प हटाइएको भन्दै काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि उभिएर आठ दिनदेखि विरोध जनाउँदै आएका छन् । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली मंगलबार राष्ट्रिय सभागृह पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

आयोगका अनुसार ‘ई’ राति १२ बजेदेखि ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन् । विगत आठ दिनदेखि उभिएर धर्ना दिँदा ‘ई’का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएका छन् ।

उनका नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाह बमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारी पाइएको आयोगले जनाएको छ ।

आयोगले महानगरपालिकाका अधिकारीहरुसँग पनि छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?