+
+
गफ स्टेसनमा गायिका अन्नु चौधरी :

‘गायिका बन्ने सपना देखेकै थिइनँ’

अन्नुको आवाज नै यस्तो छ कि जुनसुकै लय, भाका र भाषामा फिट हुन्छ । थारु भाषाको गीत गाएर यात्रा थालेकी उनको पहिलो नेपाली हिट गीत चाहिं उर्गेन दोङसँग गाएको ‘लजालु मायालु’ हो । युट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएको यो गीतमा उनले थारु भाषाकै अंश पनि गाएकी छन्, जसलाई अत्यन्तै रुचाइयो ।

खेम रिसाल खेम रिसाल
२०८० असोज १२ गते १८:१५

काठमाडौं । एक दिन लोकप्रिय गायिका बनौंला भनेर मनको अन्तरकुन्तरमा पनि सपना पालेकी थिइनन् अन्नु चौधरीले । उनी सानैदेखि गीत गाउँथिन्, परिवार र साथीभाइलाई आफ्नो सुमधुर आवाज सुनाउँथिन् । उनको स्वर सुन्नेहरुले भन्थे- ‘तिम्रो स्वर कति राम्रो छ, गायिका बन्छ्यौ ।’

कैलालीको लम्कीचुहा नगरपालिकाकी अन्नु हिन्दी र नेपाली गीतहरु दुरुस्तै गाउँथिन् । एसईईपछि उनी पढ्नका लागि धनगढी पुगिन् । त्यहाँ स्कुल, कलेजमा उनको गायकी सुनेपछि स्थानीय संगीतकर्मीले थारु गीत गाउन प्रस्ताव गरे, अनि सुरु भयो उनको सांगीतिक यात्रा । थारु भाषाका गीतबाट उनी पश्चिम तराईमा चर्चित बनिन् ।

पाँच वर्षअघि धनगढीबाट सुरु भएको उनको सांगीतिक यात्राले अहिले संघीय राजधानी काठमाडौंसम्म आएर गन्तव्यतिर लम्किरहेको छ । एक हिसाबले भनौं उनी नेपाली संगीत क्षेत्रमा स्थापित भइसकेकी छन् । गीतमा उनको स्वर भर्न स्टुडियोमा पर्खेर बस्ने संगीतकर्मीको संख्या ठूलो छ ।

यो साता अन्नु अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगिन् । त्यसक्रममा उनले आफ्नो सपना, सांगीतिक संघर्षदेखि नेपाली संगीतको समेत मूल्यांकन गर्न भ्याइन् ।

‘पाँच वर्षमा सबैको माया र साथले यो स्थानसम्म आइपुगें । लाग्छ अझै योभन्दा राम्रो दिन मेरो आउँछ होला,’ सफलताको यात्रामा रहेकी अन्नु भन्छिन् ।

अन्नुको आवाज नै यस्तो छ कि जुनसुकै लय, भाका र भाषामा फिट हुन्छ । थारु भाषाको गीत गाएर यात्रा थालेकी उनको पहिलो नेपाली हिट गीत चाहिं उर्गेन दोङसँग गाएको ‘लजालु मायालु’ हो । युट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएको यो गीतमा उनले थारु भाषाकै अंश पनि गाएकी छन्, जसलाई अत्यन्तै रुचाइयो ।

अन्नुले अहिलेसम्म नेपाली र थारुका साथै मैथिली, भोजपुरी, तामाङ, नेवारीलगायत भाषामा गीत गाइसकेकी छन् । यत्तिका भाषामा गीत गाउने क्षमता चाहिं कसरी विकास भयो ? अन्नुलाई गफ स्टेसनमा सोधियो ।

‘भर्खरै टंक बुढाथोकीसँग सातवटा भाषामा गीत गाएँ । गाह्रो लाग्दैन, फिलिङ्स दिने न हो । उर्गेनजीसँगको लजालु मायालु पनि नेपाली, थारु र तामाङ भाषामा छ । सुरुमा पूर्वको थारु भाषा थियो, मैले बुझिनँ र पश्चिमको भाषामा अनुवाद गरें, पछि राम्रो भयो । सबैले रुचाइदिनुभयो,’ अन्नु भन्छिन् । मूलत: सुगम संगीतका गीत गाउने उनले लोकदोहोरीमा आवाज दिएकी छन् । लजालु मायाबाट सुरु भएको लोकप्रिय गीतको शृंखला ए हो र माया, तिमीलाई हेर्ने बानी, सैया, मैं झुटो, चार तोलाको बाला, हलका हलका, आहा कति राम्रीसम्म आइपुगेको छ । स्टेज र पार्श्व गायनमा पनि उनी उत्तिकै व्यस्त छिन् ।

संगीतमा लाग्नका लागि अन्नुलाई परिवारको पूर्ण साथ थियो । कैलालीमा हुँदा कन्सर्टमा बुवाले मोटरसाइकलमा राखेर पुर्‍याइदिन्थे । उनकी आमाले पनि उनको करिअरलाई हरतरहले सहयोग गरिन् । ‘परिवारको साथले नै यो सफलता पाइरहेको छु, यसले कन्फिडेन्स पनि दिएको छ,’ अन्नु भन्छिन् ।

सधैं यही सफलता रहिरहँदैन भन्ने उनले अहिल्यै महसुस गरेकी छन् । संगीतमा सफलतालाई टिकाइराख्न चुनौतीपूर्ण छ नै । ‘संगीतमा टिकिराख्न सबैसँग राम्रो कम्बिनेसन गर्न आवश्यक हुन्छ,’ उनी भन्छिन्, ‘हिंडिरहेको बाटोमा कहिले खाल्डो पर्छ, कहिले किलाले घोच्ला यो सबै सहँदै अघि बढ्नुपर्छ ।’

अबको सपना के छ ? गफ स्टेसनको बिट मार्ने बेला सोधियो । उनी भन्छिन्, ‘अझै राम्रो राम्रो गीतमा मेरो आवाज र मेरो नाम होस् । श्रोताहरुले दिइरहनुभएको मायालाई संगालेर राखिरहन पाऊँ र संगीतमा कुनै न कुनै रुपमा टिकिरहन पाऊँ ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

(गायिका अन्नु चौधरीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।)

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?