
१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा उत्पन्न संशयको यो भ्रमणपछि निवारण भएको बताए ।
उनले भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै यही भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार हुँदै गइरहेको बताए ।
१२ बुँदे विज्ञप्ति र संयुक्त वक्तव्यसम्म हेर्दा यो भ्रमणले दुई देशका विकास सम्बन्धीका काममा सहकार्य हुने आशा जगाएको र सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।
चीनको सुपरमिनिस्ट्रीजस्तो रहेको राष्ट्रिय विकास तथा सुधार आयोगसँग नेपालको सहमति हुनु भनेको नेपालको विकासका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
राष्ट्रिय विकास तथा सुधार आयोगले त्यहाँका अन्य मन्त्रालयको अनुगमन र स्रोतको बाँडफाँट समेत गर्ने हुँदा यसले विकास निर्माणमा नयाँ आयम थपिएको बताए ।
त्यस्तै नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खोलेको बताए ।
कृषि, पशुपालन, मत्यसपालनलगायत विषयमा पनि सम्बन्धले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4