+
+

संस्थापनइतरकै भेलामा जान हच्किए शेखर

शेखरलाई कांग्रेस संस्थापन इतरको भेलामा लैजान शनिबारसम्मै जोडबल चलेको थियो, तर उनी विभिन्न तर्कहरु दिँदै भेलामा नगएपछि परिस्थिति सोचेभन्दा बेग्लै बनेको थियो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज १४ गते २१:२०

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका रुपान्तरणको अभियानका अगुवाहरुले संस्थापनइतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई सार्वजनिक मञ्चबाट आफ्ना कुरा सुनाउन चाहन्थे । रुपान्तरण अभियानकर्मीले नेता डा. शेखर र महामन्त्री थापालाई केही समय अघि भेटेर उक्त कुरा राखेका थिए ।

रुपान्तरण अभियानका अगुवाहरुको रुचि अनुसार नेता शेखर महामन्त्री थापा उपस्थित भएर कार्यक्रम गर्ने तय भयो । दुबै जनाको सहमतिले आइतबारको कार्यक्रम तय भएको महामन्त्री थापाले दाबी गरे । जुन कार्यक्रमका लागि दुबै नेता उपस्थित हुने तय भएको थियो, त्यही कार्यक्रममा समूहका नेता डा. शेखर उपस्थित भएनन् ।

१४ औं महाधिवेशनको संकल्प ‘उत्साह, एकता र रुपान्तरण’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । आयोजक थियो– नेपाली कांग्रेस रुपान्तरण अभियान, बागमती प्रदेश ।

कार्यक्रम आयोजकप्रति नेता डा. शेखरले प्रश्न उठाए । विधानले नचिनेको ‘प्लेटफर्म’ मार्फत विचार राख्दा समानान्तर गतिविधि गरेको आरोप लाग्ने भयले डा. शेखर नआएको उनी पक्षीय नेता बताउँछन् । ‘विधि उठाइरहने शेखर दाइले वैधानिक संस्था आयोजक हुनुपर्छ भन्नुभयो,’ शेखर पक्षीय एक नेता भन्छन्,‘आयोजक अर्को बनाउन अगुवाका केही नेता तयार भएनन् ।’

अभियानका अगुवाहरुले डा शेखर नआउने छनक शनिबार नै पाइसकेका थिए । अभियानका अगुवा मध्ये एक सुवास पोखरेलको निवासमा शनिबार साँझ रुपान्तरण अभियानकर्मीहरुको बैठक समेत बसेको थियो ।

पार्टीको कुनै संरचना वडा, प्रदेश वा अरु कुनै तह आयोजक बनाएर शेखरलाई बोलाउनुपर्ने बारे छलफल भयो । रुपान्तरण अभियान आयोजक परिवर्तन गर्ने/नगर्ने विचमा मतान्तर भयो । कार्यक्रम व्यवस्थापकमा बेलकोटगढी नगर कार्यसमिति, नुवाकोट बनाइयो ।

आयोजकमा रुपान्तरण अभियान राख्नैपर्ने अडानमा अगुवा जगदिश्वर नरसिंह केसी रहे । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाले उपस्थितका लागि आग्रह गर्न आइतबार विहान अभियानकर्मी शेखरलाई भेट्न उनकै सम्पर्क कार्यालय बालुवाटार पुगे । पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोप लाग्ने भएकाले आफू उपस्थित हुन नसक्ने जानकारी दिएको शेखरलाई विहान भेटेका एक नेताले बताए ।

पार्टीको महामन्त्रीको पदीय जिम्मेवारीमा रहेकाले जान उपयुक्त हुने/नहुने अलमलमा प्रारम्भमा आफूलाई पनि परेको थापाले बताए । पार्टीको सर्वोत्तम हितलाई केन्द्रमा राखेर अभियान गरिएकाले कांग्रेसको चिन्ता सुन्नका लागि उपस्थित भएको उनले सुनाए । आइतबारको मञ्च थापाले ‘सदुपयोग’ गरे ।

समूहको विषयमा नबोलेका उनले पार्टी, सरकार, संविधानको रक्षा, विधान कार्यान्वयन, भावी बहसका विषय उठाए । पार्टी रुपान्तरणका लागि विगत पनि सम्झनुपर्ने उनले बताए । पार्टीमा बदलाव ल्याएर बनाउने चाहिँ कस्तो हो? त्यसमा पहिले स्पष्ट हुनुपर्ने थापाको जिकिर छ ।

कांग्रेसभित्र अहिले संघीयता र धर्म निरपेक्षतामा लिएर नेताहरुले दृष्टिकोण फरक फरक राख्छन् । ‘यो संविधानको स्वामित्व कसैले लिन्छ कि लिँदैन ? कांग्रेसले जिम्मेवारी लिनुपर्दछ । लिने मात्रै होइन, नेतृत्व लिनुपर्दछ,’ आफ्नै नेतृत्वमा बनेको संविधानको स्वामित्व लिनुपर्ने तर्क थापा गर्छन्,‘अहिले हावा चल्यो भनेर त्यतै लाग्ने?’

संविधानमा विकल्प खोजियो भने अर्को पुस्ताको समय खेर जाने उनले तर्क गरे । प्रदेशलाई आवश्यक ४० बढी कानुन बनाउन चुकेका कारण नै संघीयतामा प्रश्न उठ्ने अवस्था बनेको उनले बताए । समानुपातिक प्रणालीमा नेताको दादागिरीले गर्दा असन्तुष्टि बढेको उनले सुनाए ।

प्रत्यक्षमै समानुपातिक निर्वाचन प्रणाली खोज्न सकिने तर्क कांग्रेसमा उठेको छ । प्रत्यक्षबाट मात्रै चुनिँदा पनि समस्यारहित भने नभएको विगत उनले सम्झाए । ‘प्रत्यक्ष प्रणाली हुँदा २०४८ र २०५६ मा कांग्रेसले बहुमत ल्याउँदा के भएको थियो? त्यो पनि हेरौं ।’

चुनाव अघिको गठबन्धनका विरोधी थापाले आइतबार राजनीतिमा नयाँ विषय प्रवेश गराएका छन् । गठबन्धनको सरकारले २०८४ सालमा सरकारको जस अपजसको भाग लिन कोही पनि तयार नहुने अवस्था बन्ने उनले आकलन गरे । आलोपालो सरकारमा अन्तिम कार्यकाल कांग्रेसले एकलौटी सत्ता चलाउन पाउनुपर्ने प्रस्ताव राखे ।

कांग्रेसको सबै मन्त्री फिर्ता बोलाएर दुई अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने नयाँ प्रस्ताव राखे ।’हामी फ्लोरबाट समर्थन गर्ने, तलमाथि नगर्ने । जहाँ असहमति जनाउनुपर्ने हो, जनाउने, जहाँ सहमति जनाउनुपर्ने हो, सहमति जनाउने,’महामन्त्री थापाले भने, त्यसपछिको दुई–अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउँछ, जस भए पनि कांग्रेसले लिन्छ, अपजस भए पनि कांग्रेसले लिन्छ ।’

थापाले टिकट वितरण गर्ने संसदीय बोर्ड खारेज गर्नुपर्ने मत सार्वजनिक कार्यक्रममा राख्दै आएका छन् । उक्त प्रसंगलाई उनले आइतबार पनि उठाए । उम्मेदवारको टिकट वितरण गर्ने बोर्डहरु सबै खारेज गरेर पार्टी सदस्यले सम्बन्धित संरचनाको उम्मेदवार छान्नुपर्ने मत राखे । भ्रातृ संस्थालाई ठूलो वा सानो जुन सुकै आकारको बनाएपनि असन्तुष्टि नहटेको उल्लेख गर्दै पार्टी र भ्रातृ संस्थाको सम्बन्ध नयाँ तरिकाले परिभाषित गर्नुपर्ने मत राखे ।

शेखर–गगन पक्षको सार्वजनिक कार्यक्रममा यस अघि नदेखिएका नेता प्रदीप पौडेल आइतबार सहभागी भए । पौडेलले पनि पार्टी र सरकारमा कांग्रेसको भूमिकाप्रति चिन्ता व्यक्त गरे । कांग्रेस क्याडर बेस्ड पार्टी हुनै नसक्ने तर्क उनी गर्छन् । मास बेस्ड पार्टीमा सदस्यताको प्रकार नै नहुने पौडेलको दाबी छ । कांग्रेसमा साधारण र क्रियाशील सदस्यता वितरण हुने विधानको व्यवस्था छ ।

माओवादी नेतृत्वको सरकारमा बसेर नागरिकमा डेलिभरी दिन नसकेको भन्दै कांग्रेसमा असन्तुष्टि विस्तारै बढ्दै गएको छ । यो सरकारमा कांग्रेस रहनुको औचित्य माथि समेत प्रश्न समेत उक्त दलमा उठाउन सुरु भएको छ । ‘महंगीले जनताको ढाड सेकिरहने हो भने सत्ता छोडौं,’ पौडेल भन्छन्,‘केही व्यक्तिलाई मन्त्री बनाउन सरकारमा जाने होइन ।’

शेखर कार्यक्रममा उपस्थित नभएपनि उनी पक्षीय अधिकांश नेता अन्र्तक्रियामा सहभागी भएका थिए । ‘उहाँ पनि आइदिएको भए कार्यक्रमको व्यापकता बढ्ने थियो । दशैं–तिहारको विचमा फेरि कार्यक्रम गर्ने कुरा भएको छ । त्यति बेला आउनुहुन्छ’, शेखर निकट एक नेताले भने ।

उनका अनुसार केन्द्रीय सदस्य दिलेन्द्र बडुले शेखरसँग जाने कि नजाने भनेर राय लिएका थिए । शेखरले कार्यक्रममा उपस्थित हुन सुझाव दिएपछि नै उनी सहभागी भएको ति नेताको दाबी छ । पार्टीे मनमौजी तरिकाले चलेको उनले पनि चिन्ता व्यक्त गरे । क्रियाशील सदस्यता नवीकरण समयमा गराउन ध्यान नदिए महाधिवेशनको समय सार्ने पुन प्रपञ्च हुने भय उनले राखे ।

रुपान्तरण अभियानका अगुवाहरुले पार्टीका कार्यक्रममा मञ्चमा नेता नराख्ने नयाँ संहिता बनाएका छन् । आइतबार गरिएको कार्यक्रममा सोही संहितालाई लागु गरिएको थियो । कार्यक्रम सभापतिका रुपमा जगदिश्वर नरसिंह केसीले धारणा राखेपनि अन्य अगुवाले बोल्नका लागि समय छुट्याइएको थिएन ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?