+
+

तीनकुनेमा पप्पुले बनाएको धराप खाल्डो

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज १६ गते १८:५४

१६ असोज, काठमाडौं । आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका–३१ स्थित शान्तिनगर र तीनकुने जोड्ने पुल छेउबाट एउटा मोटरसाइकल खस्यो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार प्रदेश ०२–०३९ प १९९७ नम्बरको मोटरसाइकल खस्दा चाँगुनारायण नगरपालिका-४ का २० वर्षीय मोटरसाइकल चालक सरोज गुरूङको मृत्यु भयो भने मोटरसाइकलमा सवार १७ वर्षीय सुशील गुरूङ घाइते भए ।

प्रहरीका अनुसार बागमती नदीमा पुल निर्माण अलपत्र छाड्दा बनेको खाल्डोमा खस्दा दुर्घटना भएको हो । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल बनाउनका लागि हालिएको जग दुवैतर्फ अलपत्र अवस्थामा छ । ६ वर्षदेखि अलपत्र पुलको जग अहिले धराप बन्न पुगेको छ ।

पुलको दुवैतर्फ गहिरा–गहिरा खाल्डा छन् । खाल्डोको वरिपरि कुनै छेकबार छैन भने कुनै संकेत पनि राखिएको छैन । १५ फिट भन्दा गहिरो खाल्डामा ४ फिट पानी छ । आइतबार दुर्घटनामा परेको मोटरसाइकल निकाल्न प्रहरी क्रेन प्रयोग गरेर खाल्डोसम्म पुगेको थियो ।

४ वर्षदेखि अलपत्र खाल्डो

बागमती नदीमा पुल निर्माणको काम पप्पु कन्सट्रक्सनले गरेको थियो । पप्पुले २०७५ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी ०७१ पुस ४ गते काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग सम्झौता गरेको थियो ।

तर २१ करोडमा ठेक्का लागेको पुलमा करिब साढे ३ करोड खर्च भएपछि निर्माणमा गम्भीर लापरवाही र ढिलाइ भएको ठहर गर्दै सरकारले काम रोकेको थियो । त्रुटि सच्याएर काम अघि बढाउन निर्देशन दिएपनि कम्पनीले अटेर गरेपछि २०७६ मंसिरमा पप्पुसँगको सम्झौता नै रद्द भएको थियो ।

सडक विस्तार आयोजना कार्यालय काठमाडौंका प्रमुख केएन ओझाका अनुसार अहिले भएको खाल्डो पप्पुले अलपत्र छोड्दाको परिणाम हो । ‘हामीले खाल्डो भत्काउन भनेर बारम्बार चिठी काट्यौं, तर उनीहरुले भत्काएनन् । जरिवाना तिर्न भनेपछि अदालत गयो’, ओझाले अनलाइनखबरसँग भने ।

सम्झौता तोड्दा भएको ५ करोड रुपैयाँ जरिवाना तिर्न समेत भनेको थियो । तर, सरकारी निर्णयको विरुद्धमा पप्पु कन्स्ट्रक्सन सर्वोच्च अदालतमा पुगेको छ । अहिले पप्पुलाई आयोजनाले कालोसूचीमा राख्न सिफारिस गरेको ओझाले बताए ।

भत्काउनुपर्ने भएर नछोपेको दाबी

राजधानीमा उच्च सवारी चाप र दैनिक हजारौं हिँड्ने बाटोकै छेउमा धरापको विषयमा सडक विस्तार आयोजना काठमाडौंले भने भत्काउनुपर्ने भएकाले नछोपिएको तर्क गरेको छ ।

‘त्यो खाल्डो पप्पुले भत्काउनुपर्ने संरचना नभत्काएपछि नयाँ ठेक्का दिँदा भत्काउने सहित दिने लागत जोडेर ठेक्का दिएका हौं’, ओझाले भने ।  उनले भत्काउनुपर्ने संरचनामा फेरी छोप्न तर्फ नलागेको बताए । ‘सडक र फुटपाथको दुरीमा भएकाले दुर्घटना नहोला भन्ने आंकलन थियो, भत्काउनै पर्ने कुरालाई फेरि किन छोपिरहनु ?’ ओझाले भने ।

काठमाडौं सडक विस्तार आयोजनाले पुलको लागि गत वर्ष नै ठेक्का लगाइसकेको छ । ओझाले नयाँ ठेक्का लागेर डिजाइनको लागि पेश भइसकेको बताए । ‘वाईपी किराँत तेस्रो जेभीले ठेक्का लिएर डिजाइन स्वीकृतीको लागि सडक विभागको पुल महाशाखामा पेश गरेको छ । स्वीकृत भएपछि काम धमाधम सुरु हुन्छ ।’

नयाँ ठेकेदार कम्पनीलाई भत्काउने पनि जिम्मा दिएको भएर अब ठेक्का कार्यान्वयन हुनेवित्तिकै खाल्डो भत्किने ओझाले बताए ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?