+
+

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:४१

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ ।

संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ ।

बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् ।

त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नुपर्ने छैन ।

संस्थानले पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ रहेको अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार पु¥याउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन भएको थियो ।

विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले बढेको शुल्क फिर्ता लिई शुल्क पुनरावलोकनका लागि पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले भदौ २६ गते नै स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउन लगायतको तीन बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो ।

पुरानै शुल्कमा विद्यार्थी पढाउन नसक्ने भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखहरुले विज्ञप्ति निकालेका थिए । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो ।

लामो समयसम्म प्रवेश परीक्षा नलिएर विद्यार्थीलाई समस्यामा पार्न खोजिएको र क्याम्पस प्रमुखहरुले पुरानै शुल्कमा पढाउन नसक्ने भए स्ववियुलाई जिम्मा दिन भन्दै पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङका स्वतन्त्र विद्यार्थी युनियनले १६ असोजमा विज्ञप्ति जारी गरेर दबाब दिएका थिए ।

संस्थान अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस गरी पाँच आंगिक क्याम्पस र विभिन्न सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?