+
+

सरकारलाई विपक्षी दलका नेताको प्रश्नैप्रश्न

‘सुशासनको नाममा ब्ल्याकमेलिङ गरिरहेको टिप्पणी’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असोज १६ गते २१:२९

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकलाई दुई घण्टा लामो सम्बोधन गरे ।

सरकारको काम कारबाहीलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीमाथि गम्भीर प्रश्न उठाएका छन् । अनि, जनयुद्ध दिवस मनाउने निर्णय फिर्ता लिन अल्टिमेटम दिएका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्झिए । ‘गृहमन्त्रीजीले हिजो हेटौंडामा गएर उधुमै खोक्नुभयो– सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन्’, ओलीले प्रश्न गरे, ‘कुन विरोधी लागेका छन् तपाईंको सुशासन रोक्न ?’

हेटौंडामा एक रेडियोको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले चलाएको सुशासनको अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको बताएका थिए ।

‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध संगठित शक्तिले आक्रामक ढंगले प्रहार गरिरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भनेका थिए ‘भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्णविराम लाग्नेवालामा छैन ।’

मंगलबार संसदमा ओलीले श्रेष्ठलाई सुशासनको अभियान रोक्न कुन विरोधी लागेको हो भनी प्रश्न गरे । ओलीले गृहमन्त्रीले नै सुन तस्करीको स्वतन्त्र छानबिनमा अवरोध गरेको आरोप लगाए । आयोग गठन गर्न एक महिना लागेको भन्दै ओलीले गृहमन्त्रीलाई प्रश्न गरे, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ? किन आत्तिनुभएको स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’

सुशासनको नाममा ब्ल्याकमेलिङ !

ओलीले विभिन्न भ्रष्टाचारका फाइल खोल्छु भनेर ब्ल्याकमेलिङ गरेको सरकारमाथि आरोप लगाएका छन् ।

‘भ्रष्टाचारको फाइल खोल्छु भनेर, क्लोज गर्छु भनेर भ्रष्टाचार भइराखेको छ’ ओलीले भने, ‘कारबाही गर्छु भनेर माहोल बनाउने र भित्र भ्रष्टाचारको इको सिस्टम बनाएर निर्धक्क भ्रष्टाचार भइराखेको छ ।’

यो सरकारको पालामा पटक पटक सुन बरामद भइराखेको भन्दै उनले यसलाई पनि तमासाको संज्ञा दिए । ‘यो सरकारको पालामा किन यस्तो हुन्छ ? यताबाट तीन केजी उताबाट ९ केजी, के हो यो तमासा ? सरकारले फुत्काउँछ थाहा नपाउनेहरुले समाउँछ’, ओलीले भने ।

ललिता निवास जग्गा प्रकरणमा पनि सत्तारुढ गठबन्धनको नेताको नाम आएपछि मुद्दा कमजोर भएको ओलीको आरोप छ ।

‘ललिता निवासको जग्गा आफ्नो हो भनेर जसले बनायो तिनीहरुको बारेमा खोजबिन भएको छैन । के मा नमिलेको हो मैले बुझ्या छैन’, उनी प्रश्न गर्छन्, ‘सरकारी जमिन आफनो बनाउन मद्दत गर्ने को को हुन् ? सरकारी श्रेस्ता लुकाएर व्यक्तिका नाममा गराउन को को हुन् ? किर्तेमा भनेर किन्नेहरुलाई मात्रै मुद्दा ? यत्रो भ्रष्टचार कण्डा किर्ते मुद्दा हो ?’

सत्ता गठबन्धनका नेताहरुलाई उन्मुक्ति दिन उनीहरुकै निवासमा वयान लिन गएको भनी उनले प्रश्न उठाए । उनी भन्छन्, ‘अनुसन्धान गर्ने निकाय सर एक दुईटा कुरा सोधौं कि भनेर निवासमै जान्छ । हजुरलाई थाहा छ केही कुरा भन्दा छैन छैन भनेर पठाउँछ । अनुसन्धान सिद्धियो ?’

शान्ति प्रक्रिया टुंग्याउन नचाहेको कसले हो ?

ओलीले आफू प्रधानमन्त्री हुँदा शेरबहादुर देउवा र प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन नदिएको आरोप लगाए । आफूले अधिकतम प्रयास गर्दा पनि प्रचण्डबाट त्यसबेला साथ नपाएको उनको भनाइ छ । त्यतिबेला शान्ति प्रक्रिया टुंग्याएको जस आफूले लिन्छु भनेर देउवा र प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन नमानेको ओलीले आरोप लगाए ।

आफूहरुले युद्धका घाउ सदाका लागि निको पारौं भन्दा परिस्थितिलाई भड्काउने दाउमा प्रचण्ड अहिले पनि लागिरहेको अध्यक्ष ओलीको आरोप छ । ‘शान्ति प्रक्रियालाई टुंग्याउने होइन । द्वन्द्वको भोगाइलाई उधिनेर, पीडित परिवारजनलाई भड्काएर, घाउमा नुनचुक छर्किएर फेरि नयाँ द्वन्द्वको साइकल सिर्जना गर्न खोज्दै हुनुहुन्छ’, ओलीले आरोपमाथि आरोप लगाएका छन् ।

ओलीले फागुन १ गते जनयुद्ध दिवशको रुपमा सार्वजनिक बिदा दिएकामा पनि आपत्ति जनाए । हिंसा सुरु भएको दिनको सम्झना उल्लासका रुपमा गर्न नसकिने उनको भनाइ थियो ।

‘हिंसा सुरु गरेको दिन राष्ट्रको उल्लास हुन सक्दैन’, एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘यो आउने मन्त्रिपरिषदबाट त्यो निर्णय फिर्ता गर्नुस् । अरुका घाउ कोट्याउने तिर नजाऔं ।’

कानुनमन्त्री र न्यायाधीश नियुक्तिमा प्रश्न

एमाले अध्यक्ष ओलीले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूलाई चुनाव जिताउन सहयोग गर्ने अधिकारीलाई न्यायाधीश बनाएको आरोपसमेत लगाए ।

गुरुङको चुनाव क्षेत्र स्याङ्जा–२ का तत्कालिन निर्वाचन अधिकृतलाई न्यायपरिषदले जिल्ला न्यायाधीश नियुक्त गरेको छ । त्यसमा कानुनमन्त्री गुरुङलाई दोष लगाउँदै ओलीले भने, ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला ?’

न्यायपरिषदले हालै गरेको उच्च अदालत र जिल्ला अदालतको न्यायाधीश नियुक्तिमा परीक्षामा फेल भएकाहरुलाई अघिल्लो वरियता र परीक्षा उतीर्ण गरेकालाई पछिल्लो वरियतामा राखिएकामा पनि ओलीले आपत्ति जनाए ।

उनले संसद विघटनको मुद्दामा आफ्नाविरुद्ध लाग्ने कानुन व्यवसायीलाई पनि न्यायाधीश नियुक्ति गरिएको टिप्पणी गरे । ‘धेरै कुरा किन गरौं, मेराविरुद्धको मुद्दामा उफ्री उफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई पनि न्यायाधीश बनाउनु परेको रहेछ । यसैगरी हुन्छ निष्पक्ष न्यायालय ? यसैगरी बन्छ अदालत ?’

गठबन्धनलाई मन नपर्ने आदेश गर्ने न्यायाधीशलाई धकेलेर रोल्पारुकुम सरुवा गरिएको पनि उनको आरोप छ ।

‘तपाईंहरुले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ? यदि हो भने त्यो सम्भव छैन । हामी पनि छौं यो देशमा’ अध्यक्ष ओलीको चेतावनी छ ‘म यस विषयमा जिम्मेवार हुन आग्रह गर्छु । सरकारमा छउञ्जेलसम्म अनेक हत्कण्डा प्रयोग गरेर बचिएला । तर, गठबन्धनले नेपाली जनतालाई जवाफ दिनुपर्नेछ एक दिन ।’

आर्थिक विकास खै ? प्रचण्ड कहाँ देखिए ?

ओलीले प्रधानमन्त्री र मन्त्रीहरु सत्ता टिकाउनमै केन्द्रित भएको र त्यसको प्रभाव अर्थतन्त्रमा परेको टिप्पणी गरे ।

सरकारले विकास खर्च गर्न नसकेको उल्टै विदेश भ्रमण लगायतका नाममा अर्थतन्त्रको दोहन गरिरहेको आरोप लगाए ।
बिभिन्न अन्तर्राष्ट्रिय निकायको अनुसन्धानले नेपालको आर्थिक वृद्धि साढे चार प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरेको तर सरकारको व्यवहार हेर्दा दुई प्रतिशत भन्दा माथि जाने नदेखिएको पनि अध्यक्ष ओलीले दाबी गरे ।

आफू नेतृत्वको ४१ महिने सरकारले विकासका अनेकन काम अगाडि बढाएको तर त्यसपछि बनेका दुई वटा सरकारले विकासका सन्दर्भमा केही गर्न नसकेको उनको टिप्पणी छ ।

नेपालको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै उनले राजश्व संकलनमा गिरावट आउँदा, बचत गर्नुपर्नेमा तलब खुवाउन नसकेर ऋण लिन बाध्य हुँदा समेत सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । ‘ऋण लिएर सरकार चलाउने हो भने काम चाहिँ के गर्छ ?’ ओलीको प्रश्न छ ।

पछिल्लो दुई वटा सरकारको पालामा आयात र निर्यात दुवै घटेको उल्लेख गर्दै उनले सरकारमा रहेका दलहरुकै कारण अर्थतन्त्र कमजोर बनेको आरोप लगाए ।

भुक्तानी नपाउँदा व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेको उल्लेख गर्दै उनी अगाडि भन्छन्, ‘विप्रेषण थुप्रियो । बैंकमा पैसा थुप्रियो किन ? मूल्यवृद्धि अकासिएको छ किन ?’

सरकारले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति र कुटनीतिक सन्तुलनसमेत कायम राख्न नसकेको ओलीको आरोप छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण, अमेरिका भ्रमण र चीन भ्रमणलाई नजिकबाट नियालेको उल्लेख गर्दै उनले प्रचण्डको अभिव्यक्तिको पनि खण्डन गरे ।

सोमबार आफ्नो विदेश भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक नेपाल अन्तर्राष्ट्रिय स्तरमा देखिने गरी प्रस्तुत भएको बताएका थिए ।

मंगलबार सोही रोष्ट्रमबाट एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं त्यहाँ गएपछि त देखिने नै भयो नि ! प्रधानमन्त्री भ्रमणमा गएपछि त देखे मान्छेले, यूएनमा देखियो, भारतमा देखियो, यसपल्ट चीनमा पनि देखियो, रंगशालामा पनि देखियो । तर, सुनिएन नेपाल, बोल्या थिएन …।’

अन्तर्राष्ट्रिय स्तरमा देखिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय मञ्चमा ईपीजी रिपोर्ट बोल्नुभयो ? सिमानाका कुरा बोल्नुभयो ? बोल्नुभएको भए पो सुनिन ?’ उनी प्रश्न गर्छन्, ‘अरुका कुरा सुनिए र सही गरिए । हाम्रा कुरा कहाँ गरिए ? अनि नेपाललाई सुनियो । कहाँ सुनियो ? के सुनियो ?’

राष्ट्रपतिमाथि प्रश्न

एमाले अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको पनि आलोचना गरे । प्रतिनिधि सभाको अघिल्लो कार्यकालमै संसदबाट पारित भएर गएको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेको भनी पहिलो प्रश्न उठाए ।

‘उहिलेको संसदले उहिलेको राष्ट्रपतिलाई सिफारिस गरेको अहिलेको संसदलाई के गर्ने नभनीकन जारी गर्ने ?’ उनको प्रश्न छ । यसका लागि सरकारले निर्देशन गरेको दाबी गर्दै उनले भने, ‘राष्ट्रपतिलाई सेरेमोनियल होइन खोपीको बनाएको छ । आदेश पालक राष्ट्रपति बनाएको छ ।’

दिउँसै खुँडा हानेर व्यक्ति हत्या गर्नेले कैद माफी मिनाहा पाएको भनी उनले यसमा पनि राष्ट्रपतिको कमजोरी भएको बताए । अध्यक्ष ओलीले पूर्व राष्ट्रपतिहरुको सन्दर्भमा भने सरकारले चासो नराखेको भनी चिन्ता प्रकट गरे ।

‘पूर्वराष्ट्रपतिहरुको हालत के छ, कसरी बस्नुभएको छ, के खाएर बस्नुभएको छ, कहाँ बस्नुभएको छ, प्रधानमन्त्रीज्यूलाई थाहा छ ? ओलीले प्रश्न गरे, ‘खान पाउनुभएको छ कि छैन, तातो पानी खाएर बस्नुपर्ने अवस्थामा पु¥याउनुभएको छ, के छ हालत ?’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?