+
+

जितिया : छोराको आयुका लागि आमाले व्रत बस्ने पवित्र पर्व

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८० असोज १८ गते १४:१७

तराईमा बसोबास गर्ने थारु, राजवंशी तथा मधेशी समुदायले मूलरुपमा मनाउने पर्व हो जितिया । तीजकै संस्कारसँग अलिअलि मिल्ने यो पर्व तीजभन्दा बढी लामो र कठोर व्रत हुन्छ । यो पर्व अहिले तराईमा बसोबास गर्ने पहाडी समुदायले समेत मनाउन थालेका छन् ।

जितियासम्बन्धी विभिन्न कथा र किंवदन्ती छन् । भविष्य पुराणका अनुसार आर्यवर्तमा समुन्द्र नजिकै नर्मदा नदी छ । त्यस ठाउँमा मलयकेतु नाम गरेका एक राजाले राज्य गर्थे । नर्मदा नदीको किनारमा ठूलो वरको रूख थियो । जसको फेदीमा पोथी स्याल बस्दै आइरहेकी थिई भने हाँगामाथि गिद्ध बस्दै आइरहेको थियो । दुवै एकै ठाउँमा बस्दै आएकाले उनीहरूबीच गहिरो मित्रता थियो ।

त्यही रूखनिर स्थानीयहरू आएर पूजा गरे । त्यो दिन थियो, असोज महिनाको कृष्णपक्ष अष्टमी तिथि । स्थानीयहरू जितमाहन देवताको पूजा गरेर कथा सुनिसकेपछि आ–आफ्नो घर फर्किए । स्याल र गिद्धले पनि व्रत गरेका थिए । त्यही दिन साँझ त्यो नगरमा बास गरिरहेका एक सेठका एक्लो छोराको मृत्यु भयो । गाउँलेले उनको नर्मदा नदी किनारमा अन्तिम संस्कार गरे । त्यही बेला पोथी स्याल र गिद्धले आपसमा कुराकानी गरे । तर गिद्धले पोथी स्यालको कुरा न सुने झैं गरी सुत्यो । उता त्यो स्यालले गिद्ध सुतेको छ भन्ठानी एक्लै निस्केर बालकको मासु पेटभरि खायो र केही मासु आफू बसिरहेको रुखको फेदीमा लिएर पनि आयो ।

उता गिद्धले उसको सबै क्रियाकलाप हेरिरहेको थियो, तर चुप थियो । बिहानै स्यालले गिद्धसँग भन्छ, ‘साथी, व्रत (पारण) भंग गर्ने बेला भइसक्यो, म पनि व्रतलाई भंग गर्न जान्छु ।’ स्याल ब्रत राति नै तोडिसकेको थियो तर पनि गिद्धलाई झुक्याइरहेको थियो ।

डा. बालकृष्ण साह

केही दिनपछि कुम्भ मेला लाग्यो । गिद्ध र स्याल दुवै मेला हेर्न गए । भाग्यको खेल यस्तो भयो कि दुवैको एकै समयमा मृत्यु भयो । कुम्भ मेला देखेको हुनाले दुवैको जन्म भाष्कर नाम गरेका एक भिक्षु ब्राह्मणको घरमा जुम्ल्याहा बहिनीका रूपमा भयो । जेठी बहिनी (गिद्ध)को नाम शिलावती र कान्छी बहिनी (स्याल)को नाम कर्पुरावती राखियो । शिलावतीको विवाह महामत नामका धनी मानिससँग भयो । कर्पुरावतीको विवाह महाराज मलयकेतुसँग भयो । दुवै बहिनीका सात-सात छोरा भए । तर कान्छी बहिनी कर्पुरावतीका सातजनै छोराको नाबालक अवस्थामै मृत्यु भयो । उता जेठी बहिनीको सातवटै छोरा कुशल थिए ।

दिदीका सन्तान देखेर कान्छी बहिनीले आफ्नो भाग्यलाई धिक्कारिन् । उनको मनमा विचार आयो, ‘म रानी हुँ तर खुसी भने दिदी छ, उसको खुसी छिन्नुपर्‍यो ।’ एक दिन राजा दरबारबाट बाहिर गएर फर्केका बेला जितियाको व्रत चलिरहेको थियो । उता रानी कर्पुरावती भने रिसाएर महलको अर्को कोठामा थिइन् । राजाले महल प्रवेश गरी रानीलाई खोजे । रानीले आफूलाई भेट्न आउन राजालाई खबर पठाइन् । राजारानी भएको कोठामा पुगे । रानीको मनोदशाबारे बुझे । रानीले भनिन्, ‘पहिलेवाचा गर्नुस्, मेरो माग पूरा गर्छु भनेर ।’ राजाले उनको सर्त स्वीकारे । रानीले भनिन्, ‘मेरी जेठी दिदीको सातैवटा सन्तानको टाउको काटेर यहाँ ल्याउनुहोस् ।’

राजा शोकाकुल भई वाचाबमोजिम चाण्डाललाई निर्देशन दिए । सातै छोराको टाउको आइपुग्यो । त्यसपछि रानी कर्पुरावतीले जितिया पर्व गरिन् र चण्डालद्वारा ल्याइएका सातैवटा टाउकोलाई विभिन्न रंगको कपडामा बेरेर जेठी बहिनी शिलावतीकहाँ पठाइन् । तर शिलावती र उनका बुहारीहरुले नियमनिष्ठापूर्वक जितिया व्रत गरेकाले सातैभाइ छोरा जीवित भए । यो समाचार सुनेर रानीले राजासँग भनिन्, ‘चाण्डालले अरुको टाउको काटेर ल्याएको हो । किन सबै जीवितै छन्, कोही रुने कराउने गरेका छैनन् ।’  राजाले ‘पूर्व जन्ममा तिम्री दिदीले धेरै पुण्यको काम गरेकी रहिछिन् । सातै सन्तान पुनर्जीवित भए । तर तिम्रा सन्तान कालको मुखमा गए । तिमी दुःखपीडा भोगिरहेकी छौ’ भने । यो सुनेर कर्पुरावती स्तब्ध भई दिदी शिलावतीसँग पूजापाठ गर्नका लागि पुगिन् । त्यतिबेला शिलावतीले आफूहरूको पूर्वजन्मको कथा सुनाइन् । उनले भनिन्, ‘अघिल्लो जन्ममा तिमीले राति मासु खाई व्रत भंग गरेकी थियौ । म उपवास गरी स्थानीयद्वारा पूजा गरिएको कुवाटी, चना र अक्षता खाएर प्राण गरें ।’

जितियाबारे अर्को कथा पनि छ । जसअनुसार धेरै पहिले एउटा गाउँमा एउटी विधवा थिइन् । उनका छोराछोरी थिएनन् । ती विधवा खेतबारी हेर्न जाँदा गेन्हरी (सागको नाम) को सागमाथि उसको आँखा पर्‍यो । त्यो सागलाई हेर्ने बित्तिकै टिपेर त्यत्तिकै काँचै खाइदिइन् । त्यस सागमा सूर्य देवताको अंश भएकाले त्यो साग धेरै नै लोभलाग्दो थियो । त्यही साग खाँदा सूर्यका प्रभावले ती विधवा गर्भवती भइन् र छोरालाई जन्म दिइन् । त्यस छोराको नाम उनले जितमाहन (देवताको नाम) राखिन् । असोज महिनाको कृष्णपक्ष अष्टमी तिथिका दिन जितमाहनको जन्म भएको थियो । त्यस दिनदेखि नै बिस्तारै-बिस्तारै जितमाहनको व्रत गर्न थालियो, शुद्ध तथा अशुद्ध खानाहरू पनि खान थालियो । यो जितिया ब्रतमा जितमाहन देवताको पूजा गरिन्छ ।

सन्तानका लागि आमाको व्रत

हिन्दू धर्ममा आस्था राख्ने महिलाहरूका लागि यस पर्वले विशेष महत्व राख्छ । जितिया पर्वमा महिलाहरुले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन् । विभिन्न संस्कृतिका मानिसले मनाउने जितिया पर्वमा धेरै समानता रहे पनि केही फरक विधि पनि पाइन्छन् । जितिया पर्व दुई प्रकारले मनाइन्छ । अविवाहित महिलाले गर्ने व्रतलाई ‘खर जितिया’ भनिन्छ भने विवाहितले गर्ने व्रतलाई ‘पूर्णजितिया’ भनिन्छ ।

त्यस्तै, सन्तानप्रतिको माया-ममताका बारेमा कुरा गर्दा पनि त्यहाँ आमाहरूले गरेको यो जितिया पर्वका बारेमा चर्चा गरिन्छ । आमाहरूले आफ्ना सन्तानको रक्षा र दीर्घायुका लागि अन्न, जल त्यागेर तीन दिनसम्म निराहार व्रत बस्ने गर्छन् । त्यसकारण जितिया पर्वलाई धेरै कठोर र निष्ठावानका साथ समापन गरिन्छ । व्रतको दिन ठाउँ-ठाउँमा जितमाहन भगवानको प्रतिमा बनाइन्छ ।

पर्वको पहिलो दिन (भदौ शुक्लपक्ष सप्तमीको दिन) नुहाएर खाना खाने प्रचलन छ । यस दिन व्रतालुहरू पोखरी वा कुनै जलाशयमा गई नुहाएर सूर्य भगवानलाई जलको अर्घ दिन्छन् र खाने तेल (तोरीको), पिना र सिन्दूर भगवान् जितमाहनलाई र आफ्नो स्वर्गीय माता–पिता तथा सासु–ससुराको नाममा चढाउँछन् ।

यस दिन खानाको रूपमा कोदोको रोटी, साग, भात र माछा खाने विशेष परम्परा छ । अरु पर्वहरूमा पर्व सुरु हुनुभन्दा दुई–तीन दिनअघिदेखि नै माछामासुजन्य खानेकुरा खान वर्जित गरिन्छ । तर यो एउटा यस्तो पर्व हो, जसमा माछा खाएर पर्वको आरम्भ गरिन्छ ।

दोस्रो दिन अष्टमीको रात करिब ३-४ बजेतिर (बिहान हुनुअगाडि) घिरौंलाको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा जस्ता फलफूल जितमाहन, पितृ तथा चिलको नाममा चढाइन्छ । चिलका नाममा चढाइएको पातलाई घरमाथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितमाहनको नाममा चढाइएको पातलाई व्रतालुले आफ्ना श्रीमान् वा छोराछोरीलाई खान दिन्छन् । यतिबेला व्रतालुले पनि आफूले चढाएको प्रसाद खान्छन् । यस पटक राति ३ बजेसम्ममा खाइसक्नुपर्ने परम्परा छ । यो खाना (दर) नै ब्रत अगाडिको अन्तिम खाना हुन्छ ।

तेस्रो दिन अर्थात् नवमीको दिन पनि फेरि एकाबिहानै पहिलो दिन जसरी नै बेसारको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा, लड्डु, आँपको अमोट, तुलसीको पात आदि भगवान् जितमाहन, पितृ तथा चिलका नाममा चढाई अगरबत्तीले पूजा गरिन्छ र त्यसलाई पानीले छर्की पूजाको समापन गरिन्छ । सप्तमीदेखि शुरु भएर नवमीसम्म चल्ने यस पर्वमा अष्टमीको दिन, रात र नवमीको पारणसम्म पूर्णरुपले निराहार र निर्जल गरेर बसेका हुन्छन् ।

(डा. शाह तेली कल्याण समाज नेपालका मोरङ जिल्ला अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?