+
+

विज्ञप्ति जारी गरेर पुग्दैन, प्रधानमन्त्रीले इजरायली समकक्षीसँग टेलिफोन गर्नुपर्छ : पदम गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १४:३२

२१ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुक्ताका साथ पहल लिनुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सचेतक गिरीले सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने भन्दै प्रधानमन्त्री स्वयंले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग गरेका हुन् ।

‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामित न्यतान्याहुलाई फोन गरेर संवाद गर्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने, ‘हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा गर्नुपर्‍यो । उनीहरूको उद्धार गर्नुपर्‍यो । उपचारको काम तुरुन्त हुनुपर्‍यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’

उनले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले नेपाली नागरिकका बारेमा सघन ढंगले विषय उठाएर यूएनको ध्यानाकर्षण गर्नुपर्ने पनि बताए । रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

‘हिँजो मात्रै दक्षिणी इजरायलमा हमासको आक्रमण पछाडि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको खबर सञ्चार माध्यममा आएको छ’, उनले भने, ‘त्यो घटनामा नेपाली पनि परेको, केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपुर्ण स्थितिमा घर, नसिङहोम, काम गर्ने कारखानाभित्र लुकेर बस्नु परेको र छिटोभन्दा छिटो आफ्नो जीवन रक्षा गरिदिनका लागि अपिल गरिरहेका छन् ।’

‘आज त्यहाँ यति ठूलो विपत्ति आइलागेको अवस्था छ कि एक मिनेट पनि उद्धार र उहाँको जीवन रक्षाका निम्ति हामीले ढिलाइ गर्ने अवस्था छैन’, उनले भने, ‘यो मुलुकमा सरकार छ, राज्य छ । ती नागरिकको अभिभावक यो राज्य र सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ ।’

परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने जानकारी सदनलाई दिएका थिए ।

मन्त्री साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।

उनले अघि भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताए । उनका अनुसार आइतबार बिहान प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ, नेपालीहरूको अवस्था पहिचान, उद्दारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?