+
+
एमालेको मधेश अधिवेशन :

मधेशमा महासेठ र प्याकुरेलको अलग समूह, निर्वाचनको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १३:४५

२५ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनमा निर्वाचनको सम्भावना बढेको छ । नेतृत्वका लागि सचिव रघुवीर महासेठ पक्ष र पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल–मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव पक्षबीच प्रतिस्पर्धा हुने देखिएको नेताहरुले बताएका छन् ।

अधिवेशनमा कसैले पनि औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् । तर धनुषा अध्यक्ष राजकिशोर यादव, सिरहा अध्यक्ष चन्देश्वर मण्डल, सर्लाही अध्यक्ष राजनारायण साह, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायतले अध्यक्षमा आकांक्षा राखेका छन् ।

राजनारायण साह र विचारी यादव महासेठ पक्षका उम्मेदवार हुन् भने राजकिशोर यादव, चन्देश्वर मण्डल र लक्ष्मीनारायण प्याकुरेल–सरोज यादव समूहका । स्रोतका अनुसार राजकिशोर यादव केन्द्रीय सदस्यमा व्यवस्थापन गरे उम्मेदवारी नदिने पक्षमा छन् ।

एमाले सचिव महासेठ मधेशमा आफ्नो बलियो पकड प्रमाणित गर्न लागिपरका छन् । सुमन प्याकुरेल र सरोज यादव पक्ष पनि आफ्नो वर्चश्व देखाउने प्रयासमा भएका कारण सहमतिको सम्भावना कम रहेको एमाले नेताहरु बताउँछन् ।

‘सर्वसम्मतिको लागि रातिदेखि विभिन्न चरणमा बसेर दुबै पक्षलाई मिलाउने प्रयास अहिले पनि चलिरहेको छ । दुबै पक्षले आ–आफ्नो उम्मेदवारलाई समर्थन गर्न भनिरहेका छन्, कुरा मिलेको छैन । अब सहमतिको सम्भावना कम भएको छ र निर्वाचनबाटै नेतृत्व चयन हुने सम्भावना छ’, एमालेका एक नेताले भने ।

अन्य प्रदेशमा चुनाव भएका बेला मधेशमा सहमतिमा नेतृत्व चयन गरेर सन्देश दिनुपर्ने भन्दै इन्चार्ज योगेश भट्टराईले प्रयास गरिररहेका छन् ।

एक दशक अघिसम्म मधेशमा महासेठ र रामचन्द्र झाको अलग अलग समूह थियो । तर झाले एमाले छाडेपछि महासेठ शक्तिशाली हुन पुगे । तर अहिले प्रदेश अधिवेशनसम्म आउँदा महासेठको विरुद्धमा प्याकुरेल र यादव समूह खडा भएको छ ।

निर्वाचन हुने स्थितिमा महासेठ पक्षबाट विचारी यादव र प्याकुरेल–यादव पक्ष्ँबाट चन्देश्वर मण्डलबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?