
२५ असोज, काठमाडौं । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केबलकार सुरु गरिएको छ ।
यसै स्थानमा ३६० डिग्री स्विङ लगायत साहसिक खेल गतिविधि थप गरिएको छ । कम्पनीका अनुसार स्विङमा ३६० डिग्रीमा घुमेर ’थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दाबी छ ।
कम्पनीले भोटेकोसी खोलामाथि २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ ।
थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङसहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको बताएको छ ।
र्याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो ।
साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ । जसअनुसार स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबलकारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्यामेली पिङ र गुलेली पिङका लागि २/२ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
काठमाडौंबाट दोलालघाट हुँदै सुकुटे पुग्न सकिन्छ । सार्वजनिक तथा निजी सवारी साधनमा सहजै पुग्न सकिने सुकुटे काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा पर्छ ।
प्रतिक्रिया 4