+
+

टिभी रियालिटी शो ‘डान्स योद्धा’को घोषणा, दर्शकको भोटिङ नराखिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:०७

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच औपचारिक घोषणा गरियो ।

शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । उनका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भइरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमीफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ ।

अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भइरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भइनसकेको र चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर र शोका विजेताले पाउने पुरस्कार राशी घोषणा गरिने प्रोजेक्ट संयोजक मानव सिवाकोटीले बताए ।

शोको उद्देश्य नेपालमा रहेका कच्चा र प्रयोग नभएका अर्थात् लुकेका प्रतिभालाई प्रोत्साहन गर्ने रहेको निर्देशक भुजेलले बताए । साथै, अन्य शोहरु भोटिङका कारण निकै विवादित बनेकाले पनि आफूहरुले भोटिङ सिस्टम नै नराखेको बताए । विवादरहित शो बनाउनुका साथै जित्नै प्रतिभाले जितोस् भन्ने आफूहरुको उद्देश्य रहेको आयोजक संस्थाको दाबी छ ।

यो रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्भीर बिष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई छन् । निर्णायक मण्डलका संयोजक बिष्टले पहिलो पटक नेपालमा केही फरक अनि भोटिङ सिस्टम बिना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको बताए ।

अभिनेत्री राउतले आफू नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्वीकार गरेको बताइन् । यस्तै, भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन २ का फस्ट रनरअप समेत रहेकाले आफूले त्यहाँ सिकेका धेरै कुरा यो शोको निर्णायक हुँदा लागू गर्ने राईले बताए ।

निष्पक्षताको लागि यो शोका निर्णायकले दिने सम्पूर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक गरिनेछ । शोको मापदण्ड विपरीत अत्यधिक र न्यून अंक दिने निर्णायकलाई लाइभ शोमै स्पष्टीकरण सोधिने आयोजकले जनाएको छ । साथै प्रतिस्पर्धीलाई गीत छनोटमा स्वतन्त्रता दिइने बताइएको छ ।

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ । शोमा डिजिटल अडिसनमार्फत एकल, युगल र समूहमा प्रस्तुति दिएर पठाउन सकिनेछ ।

सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको व्यवस्थापन टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा ऋषभ पोखरेल, डिजिटल मार्केटिङमा दर्शन कोइराला र प्रमोसन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?