+
+

मणिपालका डाक्टरलाई कुटेको आरोपमा २ जना कारागार चलान, ७ जना धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १९:४२

२६ असोज, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।

अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् । पक्राउ परेका बाँकी ७ जना भने १/१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।

गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि तनाब उत्पन्न भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा डा. अनिल शाहमाथि आक्रमण भएको थियो ।

शाहमाथि आक्रमण भएपछि चिकित्सकहरु पनि आक्रोसित बनेका थिए भने मृतकको आफन्तको तर्फबाट पनि ठूलो संख्यामा युवाहरु जम्मा भएर विरोध तथा तोडफोडमै उत्रिएका थिए । प्रहरीले आफन्तका नाममा पोखरामा गुण्डागर्दीमा सक्रिय तथा यसअघि पनि पटक पटक हिरासत तथा जेल सजायसमेत भुक्तान भएका युवा परिचालन भएको निश्कर्ष निकालेको थियो ।

मणिपालमा भएको तनाब क्रममा कमाण्ड सम्हालेका तत्कालीन बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशी हेडक्वाटर तानिएका थिए भने आक्रोशित भीडलाई झनै उत्तेजित बनाउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमै परेका छन् ।

मणिपालको घटनालाई लिएर देशभर चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चौतर्फी दबाब सिर्जना भएपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दै पक्राउ गर्न थालेको थियो । अस्पतालको तनाव कायमै रहेका बेला चिकित्सकले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए भने आफन्तकातर्फबाट महेन्द्रपुलमा चक्काजाम नै गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

तोडफोडमा संलग्न रहेको र भीडलाई उत्तेजित तथा आक्रामक बनाउन नेतृत्व लिएको भन्दै तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी रहेको छ । पक्राउ पुर्जी जारी भएका भट्टराईसहित १० जना अझै फरार नै रहेकोे र खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता चलाएको हो । आफन्त, प्रशासन र अस्पतालबीच पटक पटकको वार्तापछि मृत्यु भएको ८ दिनपछि १६ असोजमा सुकमायाको शव उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?