२६ असोज, काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको उद्धार सुरु गरेको छ । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर इजरायल पुगेका थिए ।
इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेर शुक्रबार बिहान काठमाडौं फर्किएका मन्त्री साउदले भने, ‘जब मैले विमानमा नेपाली विद्यार्थीलाई भेटें, उनीहरूको आँखामा आँसु आइरहेको थियो ।’
उनले घर फर्कन चाहने सबै नेपालीलाई सहजीकरण गरेर ल्याउन सरकार तयार रहेको बताए । ‘अहिले इजरायल जाँदा एयरलाइन्स वा हामीलाई पनि जोखिम हुनसक्थ्यो । तर त्यहाँ रहेका नेपालीको अगाडि अन्य जोखिम ठूला होइनन् भन्ने दृढता सरकारले राखेको छ, त्यसैले उद्धारमा म आफैं सहभागी भएको हुँ ।’
परराष्ट्रमन्त्री साउदसँग इजरायल द्वन्द्वसँग जोडिएका केही विषयमा अनलाइनखबरकर्मी सुदर्शन खतिवडा र दिपेश शाहीले गरेको कुराकानीको सम्पादित अंश:
तपाईं भर्खरै आफ्ना नागरिक उद्धार गर्न द्वन्द्वग्रस्त देश इजरायल पुगेर फर्कनुभएको छ । मन्त्री स्वयं उद्धारमा जाने तपाईंको चाहना हो कि प्रधानमन्त्रीको निर्णय ?
संसदमा पनि साथीहरूले मन्त्री आफैं गएर ल्याउनुपर्छ भन्नुभएको थियो र, मैले पनि आफैं गएर ल्याउँछु भनेर प्रधानमन्त्रीलाई प्रस्ताव गरेको थिएँ । त्यसपछि प्रधानमन्त्रीज्यूले स्वीकृति मात्रै दिनुभएन कि क्याबिनेटबाट निर्णय गराउनुभएपछि म जाने निर्णय भएको हो ।
मन्त्री स्वयं जान चाहिं कति जरूरी थियो ?
ठूलो संख्यामा त्यहाँ रहेका विद्यार्थीहरूमा एकदमै गहिरो त्रासको अवस्था थियो । उनीहरू बडो पीडामा थिए । सुदूरपश्चिम, त्रिभुवन, कृषिविज्ञान विश्वविद्यालयका कलिला विद्यार्थीहरू त्यहाँ थिए । उनीहरू स्नातक तहमा अध्ययन गर्दागर्दै लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत त्यहाँ गएका थिए । त्यहाँ गएको धेरै दिन भएको पनि थिएन, एक-दुई महिना मात्र भएको थियो । एकाएक त्यहाँ युद्ध सुरु भएपछि उनीहरू एकदमै सन्त्रस्त अवस्थामा थिए । जब मैले विमानमा उनीहरूलाई भेटें, उनीहरूको अनुहार हेर्दा आँखामा आँसु आइरहेको थियो । उनीहरू सन्त्रासबाट मुक्तिको अवस्थामा पुगेको देखिए । त्यसैले यो काम देशको लागि राम्रो भएको छ ।
कुनै पनि ठाउँमा बसेका नेपालीहरू अलपत्र पर्ने छैनन् । उनीहरूको राज्य छ, सरकार छ । देश उनीहरूको साथमा छ भन्ने अनुभूति दिने प्रयास हामीले गरेका छौं ।
तपाईंलाई भेट्दा विद्यार्थीहरूको प्रतिक्रिया कस्तो रह्यो ? के भने उनीहरूले ?
विमान चढिसकेपछि विद्यार्थीहरू एकदम हर्षविभोरको अवस्थामा थिए । जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान ल्याण्ड भयो, विमानभित्र विद्यार्थीको तालीको गडगडाहट भइरहेको छ ।
उनीहरू सन्त्रासको वातावरणबाट मुक्त भएर आइरहेका थिए, यद्यपि उनीहरूले केही महत्वपूर्ण साथी/सहयात्रीहरू गुमाएका थिए । केही मानिसहरू हराएको स्थिति थियो । तर आफू त्यहाँबाट मुक्त भएको हर्षको अनुभूति मैले उनीहरूको आँखामा मैले पाएँ ।
घर फर्कन अनलाइनमा नाम दर्ता गर्नेको सङ्ख्या हेर्दा आक्रमणको सुरुवातको दिनको तुलनामा कम मान्छे मात्रै नेपाल फर्किन चाहन्छन् । यस्तो हुनुमा जोखिम कम भएर हो कि लाखौं लगानी गरेर आइएको छ, कसरी फर्किनु भनेर हो ?
यो मूल रूपमा विद्यार्थीको समूह छ, त्यो आफ्नै साथीभाइको मृत्यु भएको र नयाँ ठाउँमा भएका कारण पनि बढी सन्त्रस्त भयो । त्यसले हाम्रो समाजलाई समेत हल्लाइदियो । हाम्रा सामाजिक संस्थादेखि, नागरिक समाज, अखबार, सरकारमा रहेका मान्छे सबै हल्लिए । हामी पनि संवेदनशील भएका थियौं । यो परिस्थिति विस्तारै कम हुँदैछ ।
इजरायलको टेरिटोरीमा त्यहाँको सेनाको नियन्त्रण भइसकेको अवस्था छ । रातदिन हुने खालका घटना भएका छैनन् । विमानस्थल सुनसान थियो । कुनै मुभमेन्ट देखिन्थेन । अहिलेसम्म विमानस्थलमा सांघातिक आक्रमण भएको छैन । तर पनि उनीहरू तयारी भएर बसेका छन् ।
दुईवटै सीमा क्षेत्रहरू दक्षिण र उत्तरतर्फ पनि उनीहरू आक्रमण नहोस् भन्नेमा इजरायल सरकार पूर्ण रूपमा लागेको छ । त्यहाँ रहेका नेपालीहरू पनि परिस्थितिसँग घुलमिल भइसकेका छन् । बदलिएको परिस्थितिसँग पनि विस्तारै आस्वस्त हुँदै गएका कारण पनि नेपाल फर्किने इच्छा संख्यात्मक रूपमा कम देखिएको हुनसक्छ ।
हाम्रो एकजना विद्यार्थी सम्पर्कविहीन अवस्थामा छन् । उनको जीवनरक्षामा काम गर्नुपर्नेछ । त्यसबाहेक प्यालेस्टाइनसँग अन्य कसैको मध्यस्तता वा दौत्य सम्बन्ध भएका राष्ट्रसँग सहयोग मागेर उनको विषयमा खोजीको काम गरिरहेको छ ?
आक्रमण गर्ने वा हमासका मान्छेहरूले ती विद्यार्थीलाई लगेर गयो भन्नेसम्म सूचना छ । उनको अवस्था अज्ञात छ, के भएको हो भन्ने यकिन छैन । हामी त्यसलाई ट्रेस गर्ने कोसिस गरिरहेका छौं ।
विद्यार्थी अपहरणमा परेका छन् भनेपछि कुन समूहबाट कहाँ लगेर राखिएको छ भन्ने बुझ्ने कोसिस गर्दैछौं ।
खाडी क्षेत्रमा हाम्रा थुप्रै साथीहरू छन् । हमासमा पनि प्रभावशाली नियन्त्रण भएका देश पनि छन् । लोकेट गर्ने बित्तिकै आधारभूत सूचना आयो भने हामी कूटनीतिक पहल गर्न सक्छौं ।
इजरायल हाम्रा लागि जोखिमयुक्त छ भन्ने देखिसकियो । त्यससँग रोजगारीदेखि ‘लर्न एन्ड अर्न’ कार्यक्रममा जाने सहमतिलाई समीक्षा गर्ने गरी सरकारले केही योजना बनाएको छ कि छैन ?
जोखिम छ, बाहिर जाँदा सबै कुरा बुझेर मात्रै पठाउनुपर्छ । त्यसै गरेर अरू कामदारलाई बाहिर पठाउँदा पनि सामाजिक सुरक्षा, सीप, भाषाजस्ता कुराको ट्रेनिङ दिएर मात्रै पठाउनु पर्छ । बाहिर पठाउँदा द्विपक्षीय श्रम सम्झौताहरू गरेर पठाउनु पर्छ । अन्धाधुन्ध पठाउँदा मानवीय त्रासदी र विपत आउन सक्छ । यस्ता घटना जहांकहीं जहिले पनि घट्न सक्छ । यस्ता कुराबाट हामी बच्नुपर्छ भन्नेमा सरकार संवेदनशील छ ।
तर अहिले हाम्रो डायस्पोरामा जति सङ्ख्यामा नेपाली बसेका छन्, त्यसको अध्ययन गर्दा एकै चोटी सबै फर्किने सम्भव छैन । त्यसो हुँदा गएका मान्छेहरू सुरक्षित रहून् भनेर सरकारका तर्फबाट कोशिष हुन्छ । त्यहाँ बसिरहेका नेपालीलाई धैर्य राख्न आग्रह गर्न चाहन्छु । यस्तो त्रासदीको अवस्थाबारे आफ्नो घरपरिवारलाई पनि सम्झाउनुस् ।
नेपाल सरकारले निर्णय गरिसकेको छ, हामी चार्टर वा अन्य विमानबाट पनि उद्धार गर्छौं । अरू जति पनि कमर्सियल एयरलाइन्सहरू छन्, उनीहरूमार्फत पनि ल्याउन सक्छौं ।भारतले पनि इन्डियन वायु सेवाको फ्लाइट पनि सुरु गरेको छ । मैले भारतीय राजदूतलाई पनि कुरा गरेको छु । त्यहाँबाट पनि हामी मान्छेलाई ल्याउन सक्छौँ ।
आउन चाहनेहरूले अनलाइनमार्फत दूतावासमा नाम दर्ता गर्नुहोस् । सरकार सहजीकरणका लागि तयार छ । नआत्तिनुस्, हामी तपाईंहरू साथमा छौं । जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ । म आफैं त्यहाँ पुगेर नेपाली विद्यार्थीलाई ल्याएको छु । तपाईंहरूको पनि हामी जुनसुकै जोखिम उठाएर भएपनि उद्धार गर्छौं ।
अहिले इजरायल जाँदा एयरलाइन्स वा हामीलाई पनि जोखिम हुनसक्थ्यो । तर विद्यार्थी र त्यहाँका नेपालीको अगाडि अन्य जोखिम ठूला होइनन् भन्ने दृढता राखेको हुँदा प्रधानमन्त्रीज्यूको निर्देशन, मन्त्रिपरिषद्ले निर्णय र हाम्रा नेताबाट अनुमति पाएपछि गएको हुँ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4