+
+

बागलुङका सहकारीले बेच्छन् बर्षमै २ करोडका खसीबोका

रासस रासस
२०८० असोज २८ गते १५:४२

२८ असोज, ढोरपाटन (बागलुङ) । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् ।

नेपालमा सबैभन्दा बढी रेमिट्र्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ । युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ ।

पहिलेपहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन । अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन् ।

जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन् । यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्र्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् ।

यस गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन् । तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ । यस गाउँमा दुई सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् ।

तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा छ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिइन् । यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उनले बताइन् ।

सहकारीले वार्षिक करिब रू दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आवद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताइन् । ‘यहाँका धेरै मानिस विदेशमा जान्छन् । हाम्रो लागि सबैथोक गाउँ हो । गाउँ छोडेर कतै जान मन लाग्दैन’, उनले भनिन्, ‘हरेक महिना खसीबोका उत्पादन हुन्छन् । बजार पनि ठिकै छ । धेरै दिदीबहिनी खुसी हुनुहुन्छ ।’

बढ्दो महँगीले महिला उद्यमीलाई असर पुर्‍याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो । ‘यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न’, उनले भनिन् ।

वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताइन् । यस सहरकारीले पनि दसैँ र तिहारका लागि छ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उनको भनाइ छ ।

विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिइन् । सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उनको भनाइ छ ।

सहकारीमार्फत वार्षिक दुई करोड १० लाख रुपैयाँ भन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताइन् । बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उनको भनाइ छ ।

तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताइन् । ‘गाउँका प्रत्येक घरका एक/दुईजना सदस्य विदेश छन् । त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ’, उनले भनिन्, ‘गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको सङ्ख्या बढी छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि पाँच/सातवटा खसीबोका बेच्ने गरेका छौँ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?