 
																						२९ असोज, काठमाडौं । विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको नेपालले मंगलबार लाओससँग उसको घरेलु मैदानमा दोस्रो लेग खेल्दैछ । यो खेलको नतिजासँग नेपाली फुटबलकै भविष्य जोडिएको छ । जित वा हारले नेपाली फुटबल कता जान्छ भन्ने संकेत गर्नेछ ।
पछिल्लो समय राष्ट्रिय टिमका अनुभवी खेलाडीहरु विदेश पलायन हुनु, घरेलु फुटबलको मेरुदण्ड मानिने लिग नियमित नहुनु अनि उमेर समूहका प्रतियोगिताहरु समेत नियमित नहुनुले नेपाली फुटबल संकट उन्मुख छ । त्यसका बाबजुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता/खेलहरु (विश्वकप/एसियन कप छनोट/साफ च्याम्पियनसिप/मैत्रीपूर्ण खेल) खेल्दै आएको छ ।
गत असारमा साफ च्याम्पियनसिप खेलेको नेपालले अहिले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको प्रारम्भिक चरण खेल्दैछ ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछ । त्यसको लागि नेपालले एसिया क्षेत्रको छनोटको पनि प्रारम्भिक चरण खेल्दैछ ।
प्रारम्भिक चरणमा एसियाका शीर्ष २६ बाहिर रहेका टिमहरुले खेलिरहेका छन्, जसमा नर्दन मारियाना आइल्याण्ड बाहेक २० टिमले होम एण्ड अवेका आधारमा दुई लेगको खेल खेलेपछि विजेता १० टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
त्यही चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको थियो । बिहीबार नेपालले घरेलु मैदानमा पहिलो लेग खेल्यो । एक गोलले पछि परेको अवस्थामा नेपालले पुनरागमन गर्दै खेल बराबरी गर्न सफल भयो । अञ्जन विष्टले गोल गरेर नेपालका लागि कीर्तिमानी १३औं गोल गर्ने सूचीमा हरि खड्का र निराजन रायमाजीसँगै आफूलाई उभ्याए । तर खेलको नजितासँग अञ्जन र टिम दुबै सन्तुष्ट भएनन् ।

अहिले नेपाली टिम लाओसमा छ र, भोलि लाओससँग उसकै मैदानमा दोस्रो लेगको खेल खेल्नेछ । त्यसमा विजेता बन्ने टोली एसिया छनोटको दोस्रो चरणमा पुग्नेछ ।
पहिलो खेलको कमजोरी र सुधार्नुपर्ने पक्ष
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत बिहीबार भएको पहिलो लेगमा नेपाली टिमले १० हजारभन्दा बढी घरेलु समर्थनको साथ पाएको थियो । तर सुरुमै गोल खाँदा बराबरी गोल फर्काउन नै संघर्ष गर्नुपरेको थियो । युवा र नयाँ खेलाडीहरु टिममा भएकाले अहिलेको नेपाली टिमको प्रदर्शन अपेक्षा गरिएजति देखिएको छैन ।
इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो खेलअघि धेरै बोल्ने भन्दा गरेर देखाउने प्रतिक्रिया दिएका थिए । तर उनको अपेक्षा अनुसारको प्रदर्शन टिमले गर्न सकेन । ‘हामीले जुन हिसाबको तयारी गरेका थियौं, पहिलो खेलमा त्यसअनुसार प्रदर्शन गर्न सकेनौं’, पहिलो खेलबारे फुटबल प्रशिक्षक अनन्त थापा भन्छन्, ‘हामी पासिङमा चुक्यौं । हामीले भन्दा लाओसले क्वीक पास खेल्यो, इन्टरसेप्सनहरु पनि हाम्रो भन्दा उनीहरुकै राम्रो थियो ।’
उनका अनुसार मिडफिल्डमा पनि नेपालले बल होल्ड गर्न सकेन । ‘लकेन (लिम्बु) र आभास (लामिछाने) ले मिडफिल्डमा जसरी बल होल्ड गर्नुपर्ने हो, त्यसरी गर्न सकेनन्’ उनले भने, ‘आयुष घलानबाट पनि सोचेजस्तो प्रदर्शन भएन र दोस्रो हाफमा चेन्ज गर्नुपर्यो ।’ समग्रमा पहिलो हाफमा नेपालले जुन किसिमले डोमिनेट गर्नुपर्ने थियो, सकेन र लाओसले राम्रो खेल्यो ।
खेलपछि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक एनेसले पनि पहिलो खेलको प्रदर्शनबाट आफू खुशी नभएको भन्दै अर्को खेलमा मिडफिल्डमा सुधार गर्नुपर्ने बताएका थिए ।
मंगलबार लाओससँग उसको घरेलु मैदानमा खेल्दा नेपालले विशेष गरी पासिङ र पोजिसनमै सुधार गर्नुपर्ने प्रशिक्षक थापा बताउँछन् । ‘हामीले लाओसलाई हराउने हो भने पासिङ र पोजिसनमा सुधार गर्नुपर्छ’, उनले भने, ‘मिस पासहरु कम गर्नुपर्छ, बल रिगेन गरेपछि खुट्टामा होल्ड गर्दै सर्ट पास खेल्नुपर्छ ।’
फवार्डमा मनिष डाँगी नम्बर १० मा प्रभावकारी देखिएनन् । साथै आयुष घलानलाई लेफ्टमा खेलाएर अञ्जन विष्टलाई राइट साइडमा खेलाउने पर्ने थापाको तर्क छ ।
महत्वपूर्ण खेलकै लागि भनेर नेपाली टोली पहिलो लेग खेलेको भोलिपल्टै लाओस गएको थियो । चार दिन त्यहाँ अभ्यास गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक एनेसले मंगलबारको खेल नेपाल र आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।

‘हामीले राम्रो तयारी गरेका छौं । यो खेल नेपालको लागि धेरै महत्वपूर्ण छ र मेरो लागि पनि’ सोमबार प्रि–म्याचमा एनेसले भने, ‘अगाडि बढ्नका लागि हामीले यो खेल जित्नैपर्छ र हामी अट्याकिङ फुटबल खेल्नेछौं ।’
कप्तान किरणकुमार लिम्बुले भने, ‘हामी सुन्दर फुटबल खेल्नेछौं र जितेर अघि बढ्ने लक्ष्य छ ।’
महत्वपूर्ण खेल र अवसर
मंगलबारको खेल जित्दा नेपालले विश्वकप र एसियन कप छनोटको यात्रा जारी राख्ने छ, जसले तेस्रो चरणमा पुग्ने सम्भावना कायमै रहने छ । त्यो भन्दा महत्वपूर्ण चाहिँ दोस्रो चरणमा हुने खेलहरु नेपाली फुटबलरका लागि एक्स्पोजरको अवसर हुनेछ ।
दोस्रो चरणमा कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली हुनेछन् र चार टोलीले एकअर्कासँग होम एण्ड अवे खेल खेल्नेछन् । अर्थात एउटा टिमले ६ खेल खेल्नेछ ।
नेपाल र लाओसबीच हुने खेलको विजेता टिम दोस्रो चरणमा समूह एचमा पर्नेछ । दोस्रो चरणको खेलतालिका पनि यसअघि नै सार्वजनिक भइसकेको छ । समूह एचमा युएई र बहराइन छन् । यस्तै यमन र श्रीलंकामध्ये एक टिम पनि समूह एचमै रहनेछ । पहिलो लेगमा ३–० ले हारेको श्रीलंकाले उत्कृष्ट पुनरागमन गरेन भने यमन तेस्रो टोली बन्नेछ ।
दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । यदि दोस्रो चरणमा पुगेमा नेपाली फुटबलले अर्को ८ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । साथै मैत्रीपूर्ण खेलहरु पनि हुनेछ ।

नयाँ संरचनाको टिम बनिरहेको बेला यो एक्स्पोजर नेपाली फुटबलको भविश्यसँग जोडिएको भन्दै थापा भन्छन्, ‘युएई बहराइन जस्ता टिमसँग खेल्न पाउँछौं, यसले युवा नयाँ खेलाडीहरुका लागि म्याच एक्स्पोजर हुन्छ ।’
दोस्रो चरणको खेलहरुबाट समूह विजेता वा उपविजेता बन्नसके विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मात्र होइन, २०२७ को एसियन कपमा सिधै छनोट हुने ऐतिहासिक अवसर पनि आउने छ । तर भोलि लाओससँग पराजित भएमा नेपाली फुटबलका लागि निराशाजनक नतिजा मात्र हुने छैन, सम्भावित अवसरहरु गुम्ने छ ।
२०२७ को एसियन कपमा पुग्न झिनो सम्भावना भने बाँकी रहनेछ । तर प्रारम्भिक चरणमा पराजित हुने टिमले एसिया कप छनोटको यात्राको रुपमा रहेको एसियन कप क्वालिफिकेसन प्लेअफ खेल्न २०२४ को सेप्टेम्बरसम्म कुर्नुपर्ने हुन्छ । यो बीचमा सम्भावित मैत्रीपूर्ण खेलबाहेक कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छैन । जसले गर्दा नेपाली फुटबलमा ठूलो असर पर्न सक्छ ।
भोलि नेपालसँग खेल्दै गर्दा घरेलु टोली लाओसलाई काठमाडौंमा गरेको अवे गोलको फाइदा हुने छैन । यस पटक फिफाले प्रतियोगिताको नियिमावलीमै अवे गोलको गणना नहुने र दुई लेगको खेलमा प्रष्ट जित चाहिने व्यवस्था गरेको छ ।
त्यसैले नेपाल र लाओसबीच दोस्रो लेगको खेल बराबरी (गोलहित वा सहित) भएमा १५ मिनेटको दुई हाफको अतिरिक्त समय थप गरिनेछ र त्यसमा पनि स्पष्ट नतिजा नआएमा पेनाल्टी सुटआउटसम्म पुग्नेछ ।
 
                









 
                     
                                     
                                
 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4