+
+

स्तन र पाठेघरको मुखको क्यान्सरको परीक्षण बढाउनु पर्ने सरोकारवालाको जोड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ११:२२

१ कात्तिक, काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा र रोटरी इन्टनरनेशनलद्वारा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाले नियमित परीक्षण आवश्यक भएको बताएका हुन् ।

नेपाल क्यान्सर केयर फाउन्डेसनमा कार्यरत डा.सरिता घिमिरेले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्याबारे समयमा पत्ता लाग्ने भएकोले महिलाहरूलाई यसबारे सचेत गराउनु पर्ने बताइन् ।

‘कम्तीमा दसदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने र परीक्षण गर्न सकिने सुविधा भएकोले महिलालाई सो सम्बन्धी नियमित रूपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ,’ उनले भनिन् ।

उनले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म पाठेघरको क्यान्सरमुक्त विश्व निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यससम्बन्धी थुप्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता मिश्रले हाल क्यान्सरबाट बचाउन खोपको समेत व्यवस्था थालिएको बताइन् । उनले भनिन्, ‘स्तन तथा पाठेघरको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले निक्कै महँगो आर्थिक बोझ र मानव जीवन जोगाउन सक्छ । ‘

रोटरी क्लबका प्रेसिडेन्ट के.पी.उपाध्यायले रोटरी क्लबले स्तन र पाठेघरको क्यान्सर परीक्षणका लागि प्रेरित गर्न कुपन छापेर विभिन्न संस्थालाई न्यूनतम शुल्कमा किन्न आग्रह गर्ने, त्यही कुपनमार्फत नजिकको स्वास्थ्य संस्थामा आˆनो संस्था वा कम्पनीमा कार्यरत महिला कर्मचारी, आफ्ना घरका महिला सदस्यलाई पठाउने योजना सञ्चालन गरिएको बताए ।

त्यसै गरी त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी विभागकी सहायक प्राध्यापक डा.अनामिका कश्यपले ३० वर्षदेखि माथिका उमेर समूहका महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक परीक्षण र मेमोग्राम गर्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?