+
+

आयात घट्दा यसरी प्रभावित भयो राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १७:२६

४ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यको ६८.२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । यो सो वर्षको लक्ष्य पूरा नभएको अवस्था मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा संकलित रकमको तुलनामा समेत ठूलो गिरावट हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को अद्यावधिक विवरण अनुसार यस आवमा अघिल्लो आवको तुलनामा राजस्व १०.२ प्रतिशत कम संकलन भएको छ ।

यस आवमा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, संकलन भने ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६८.२ प्रतिशत मात्र हो । मन्त्रालयका अनुसार भन्सार विन्दुबाट संकलन हुने राजस्वको हिस्सा निरन्तर घट्दै जाने क्रममा समग्र राजस्वमै असर परेको हो ।

अर्थ मन्त्रालयले भनेको छ– ‘नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर तुलनात्मक रूपमा उच्च रहन पुग्यो । साथै केही वस्तुको आयातमा गरिएको प्रतिबन्धका कारण वस्तु पैठारीमा उल्लेख्य कमी आएको थियो । जसले गर्दा भन्सार विन्दुमा संकलन हुने राजस्व घटेको र यसको प्रत्यक्ष प्रभाव समग्र राजस्व परिचालनमा परेको छ ।’

मन्त्रालयका अनुसार यस आवमा मुलुकभित्र आन्तरिक मागमा कमी आयो । जसका कारण आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुनपुग्यो । यसरी अर्थतन्त्र चलायमान हुन नसक्दा त्यसको असर राजस्व संकलनमा पर्न पुगेको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार विन्दुमा संकलन हुने राजस्वको हिस्सा यस वर्ष ४४.३ प्रतिशत मात्र रहेको छ । अघिल्लो आवमा यस्तो राजस्वको हिस्सा ५०.६ प्रतिशत रहेको छ ।

गत आवमा आयात भएका १० प्रमुख वस्तु र परिवर्तन

वस्तु आव २०७८/७९ २०७९/८० घटबढ (प्रतिशतमा)
डिजल १ खर्ब ६८ अर्ब २३ करोड १ खर्ब ५३ अर्ब ७७ करोड -८.६
पेट्रोल ७१ अर्ब ३९ करोड ६६ अर्ब ८४ करोड -६.४
एलपी ग्याँस ६५ अर्ब ५६ करोड ५८ अर्ब १६ करोड -११.३
सुन ४२ अर्ब ७० करोड ३२ अर्ब ९० करोड २.८
शुद्ध फलाम २३ अर्ब ९८ करोड ४३ अर्ब ६० करोड ८१.८
भटमासको कच्चा तेल ५६ अर्ब १८ करोड ३५ अर्ब ५८ करोड -३६.७
अन्य कोइला ३५ अर्ब ९६ करोड २७ अर्ब १२ करोड -२४.६
मोबाइल टेलिफोन ४१ अर्ब १६ करोड २६ अर्ब ५१ करोड -३५.६
पोलिथिन दाना ३० अर्ब ३८ करोड २५ अर्ब ९३ करोड -१४.६
कच्चा पाम तेल ३९ अर्ब ३१ करोड २५ अर्ब ९२ करोड -३४.१

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गरेको विश्लेषण अनुसार आव २०७९/८० मा पेट्रोलियम पदार्थको आयातमा ७.३ प्रतिशतले ह्रास आयो । फलाम तथा स्टील र त्यसका उत्पादनको आयातमा ९.८ प्रतिशतले कमी आयो । मेशिनरी तथा पार्टस्को आयातमा ३०.१ प्रतिशतको ह्रास आयो ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामानमा ५.४ प्रतिशतले गिरावट आयो । यातायातका साधन र त्यसका पार्टपुर्जाको आयातमा ४७.७ प्रतिशतले ह्रास आएको समेत केन्द्रले जनाएको छ । औषधिको आयात ३७.९ प्रतिशत, दूरसञ्चारका सामग्रीको आयात ३२.३ प्रतिशत र पाम तेलको आयातमा ३४.१ प्रतिशतले कमी आएको केन्द्रको तथ्यांक छ । नेपालमा आयात हुने वस्तुमध्ये औद्योगिक कच्चा पदार्थमा काम लाग्ने प्रकृतिका वस्तुको आयात ५४.७ प्रतिशत र फाइनल प्रडक्टको आयातको हिस्सा ४४.६ प्रतिशत रहेको देखिन्छ ।

आन्तरिक राजस्वमा कहाँ चुक्यो सरकार ?

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजस्व विभागलाई सरकारले ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । विभागको तथ्यांक अनुसार असार मसान्तसम्म विभागले ४ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गर्न सकेको छ । यो लक्ष्यको ७६.५८ प्रतिशत हो ।

आन्तरिक राजस्व अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने नजिक नजिक पुगेको छ । सो आवमा ४ खर्ब ८३ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो । विभागका अधिकारीहरू समग्र अर्थतन्त्रमा आएको सुस्तताले आन्तरिक राजस्व संकलन प्रभावित भएको बताउँछन् ।

सामान्यतया मुलुकमा माग बढेको अवस्थामा आयात बढ्छ । त्यसले आन्तरिक अर्थतन्त्र चलायमान बनाउँछ र सोही अनुसार आन्तरिक राजस्व समेत वृद्धि हुन्छ । विभागका महानिर्देशक दीर्घराज मैनाली नेपालमा आयात र आन्तरिक अर्थतन्त्रबीच प्रत्यक्ष प्रभाव रहने भएकाले आयात घट्दा स्वाभाविक रूपमा आन्तरिक अर्थतन्त्रमा समेत सुस्तता देखिने बताउँछन् ।

उनका अनुसार अघिल्लो वर्ष आन्तरिक राजस्वमा घरजग्गा कित्ताकाट रोकिनु र सेयर बजारमा आएको कमीले उल्लेख्य राजस्व संकलन घटेको छ । उपभोग्य सामानबाट प्राप्त हुने मूल्य अभिवृद्धि करमा ठूलो कमी आएको छैन । आयकर तर्फ पनि ब्याजकरमा ठूलो खाडल छैन । यस अवस्थामा घरजग्गा कारोबार र शेयर बजारमा त्यसअघिको आवको तुलनामा सुस्तता आएको भन्न सकिने उनको भनाइ छ । उनका अनुसार यी दुई क्षेत्र एकअर्काका परिपूरक समेत हुन् ।

अर्थ मन्त्रालयका अनुसार आव २०७९/८० मा उत्पादन, बिक्री र सेवामा लाग्ने मूअक लक्ष्यको ८३.८ प्रतिशत संकलन हुँदा पैठारीमा लाग्ने मूअक भने लक्ष्यको ६५.३ प्रतिशत मात्र संकलन भएको देखिएको छ । अन्तःशुल्कतर्फ आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्क लक्ष्यको ८०.७ प्रतिशत संकलन हुँदा पैठारीमा लाग्ने अन्तःशुल्क ४०.३ प्रतिशत मात्र संकलन भएको छ । सरकारले मदिरा आयातमा लगाएको रोकको प्रभाव राजस्वमा देखिएको छ ।

आयकरमा आएको कमीले आन्तरिक अर्थतन्त्र भित्रको समस्या देखाएको छ । आयकरमा ७१.१ प्रतिशत मात्र प्रगति देखिएको छ । ब्याजकर समेत लक्ष्यको ८२.८ प्रतिशत मात्र देखिएको छ । गैरकर राजस्व समेत लक्ष्यको मात्र ८४.९ प्रतिशत देखिएको छ । कुल राजस्वमा मूअकको योगदान २९.९ प्रतिशत रहेको छ । यसपछि आयकर, भन्सार महसुल, अन्तःशुल्क र गैर कर राजस्वको रहेको छ ।

कुन शीर्षकमा राजस्व बढी प्रभावित

कर शीर्षक वाषिर्क लक्ष्य असुली असुली प्रतिशत
भन्सार महसुल ३ खर्ब ३० अर्ब ५६ करोड १ खर्ब ८२ अर्ब ५३ करोड ५५.२ प्रतिशत
मूल्य अभिवृद्धि कर ३ खर्ब ९८ अर्ब ४६ करोड २ खर्ब ८६ अर्ब १९ करोढ ७१.८ प्रतिशत
अन्तःशुल्क २ खर्ब १७ अर्ब २८ करोड १ खर्ब ४३ अर्ब ६ करोड ६५.८ प्रतिशत
शिक्षा सेवा शुल्क १ अर्ब ४७ करोड २ अर्ब १३५ प्रतिशत
आयकर ३ खर्ब ४७ अर्ब ५७ करोड २ खर्ब ५१ अर्ब ८१ करोड ७२ प्रतिशत
 गैरकर राजस्व १ खर्ब ७ अर्ब ७७ करोड ९१ अर्ब ५३ करोड ८४.९
कुल राजस्व १४ खर्ब ३ अर्ब १४ करोड ९ खर्ब ५७ अर्ब १५ करोड ६८.२

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?