+
+

दशैं : बालबालिकालाई संस्कृति सिकाउने अवसर

हाम्रो जीवनपद्धतिसँग प्रत्यक्ष जोडिएका हाम्रा संस्कृतिका बारेमा अभिभावकले शिक्षा दिनुपर्छ । यसले उनीहरूको व्यक्तित्व विकास, व्यावहारिक ज्ञानको दायरा बढाउँछ ।

प्रा.डा. विद्यानाथ कोइराला प्रा.डा. विद्यानाथ कोइराला
२०८० कात्तिक ५ गते १७:५१

दशैंमा विद्यालय लामो समय बिदा हुन्छ । यतिवेला घरभन्दा टाढा बसेर पढिरहेका गाउँका बालबालिका घर जान पाउँछन् भने शहरका बालबालिका पनि अभिभावकसँग बस्न पाउँछन् । दशैंको बिदामा बालबालिका विद्यालयको पुस्तक पढ्नबाट अलि फुर्सदिला हुन्छन् । अधिकांश घरका अभिभावकहरू पनि फुर्सदिला हुन्छन् किनकि कामकाजी अभिभावकको पनि बिदा हुन्छ । त्यसैले दशैंमा अभिभावक र बालबालिका सँगै समय बिताउन पाउँछन् । यो संस्कृतिबारे सिकाउने अवसर पनि हो ।

अभिभावकले आफ्ना बालबालिका सँगै हुँदा कुराकानी, कथा कहानीको जस्तो सरल माध्यमबाट कुराहरू बुझाउने गर्नुपर्छ । दशैंको मीठो खाने, राम्रो लगाउने, टीका लगाएर दक्षिणा पाउने भन्दा गहिरो महत्व छ । दशैं मनाउने समुदायका अभिभावकले दशैंमा गरिने पूजा, पूजाविधि र त्यसको महत्वको बारेमा सिकाउनुपर्छ । दशैंमा किन टीका लगाइन्छ, किन ठूलोले सानोलाई मात्रै लगाइन्छ जस्ता कुराहरू बुझाउन सकिन्छ । उनीहरूलाई दशैंसँग जोडिएको दर्शन बुझाउने कोसिस गर्नुपर्छ ।

आफ्नो संस्कारसँग जोडिएका ज्ञान, विज्ञानका कुरा बुझाउने जिम्मेवारी र दायित्व अभिभावकको हो । तर बालबालिकाले बलजˆती सुन्नैपर्छ, सिक्नैपर्छ भन्ने तरिका अपनाउने गल्ती अभिभावकले गर्नुहुँदैन । आफ्नो बच्चाको स्वभाव अनुसार सिकाउने, बुझाउने कोसिस गर्नुपर्छ ।

जस्तै, हामीले पुज्ने दुर्गा, लक्ष्मी, सरस्वतीलाई कुन कुन शक्तिको स्रोत मानिन्छ भनेर सिकाउन सकिन्छ । दुर्गा कालो शक्तिको स्रोत, लक्ष्मी रातो र सरस्वती सेतो शक्तिको स्रोतको रूपमा पुजिन्छ । नाश शक्तिको स्रोत कालो हो, घामको स्रोत रातो शक्ति र ज्ञानको स्रोत सेतो शक्ति हो । यी तीन वटाको शक्ति सम्बन्धबारे जानकारी दिन सकिन्छ ।

ब्राहृमण साथीको भन्दा तिम्रो संस्कार किन फरक छ भनेर सरल तरिकाले तर गहिराइमा बुझाउने कोसिस गर्नुपर्छ । बाहुन साथीको घरमा खसीको मासु पाक्छ तर तिम्रो घरमा किन सुँगुरको मासु पाक्छ जस्ता चाडबाडसँग जोडिने पकवानका कुराहरू भन्न सकिन्छ

अर्को नवरात्रमा नौ देवी पुजिन्छ । त्यसको अर्थ नौ वटा शक्तिको स्रोतको पूजा किन गरिन्छ भनेर बुझाउन सकिन्छ । प्रार्थनाले हाम्रो शरीरमा के हुन्छ भनेर बुझाउन सकिन्छ । प्रार्थनाले हाम्रो शरीरमा ‘अक्सिडेसन’को मात्रा अथवा ‘सेराटोनिन’ हर्मोनको मात्रा बढाउँछ । शरीरमा यस्ता तत्वहरू बढ्दा के हुन्छ भनेर बुझाउन सकिन्छ ।
जमरा किन राखिन्छ अथवा जमराको उपयोग कसरी हुन्छ भनेर ज्ञान दिन सकिन्छ । दशैंमा लगाइने टीका अक्षता कसरी भयो अथवा अक्षता भनेको नटुक्रिएको, ननाशिएको अथवा ऊर्जा हो लगायतका धेरै कुरा छन् जुन बालबालिकालाई बुझाउने कोसिस गर्नुपर्छ ।

गैरहिन्दु नेपाली अथवा दशैं नमान्ने जनजाति समुदायका अभिभावकले पनि आफ्ना बच्चाहरूलाई ज्ञान दिन सक्छन् र दिनुपर्छ । जस्तो, दशैं मान्दैन भने किन नमानिएको हो, दशैं मान्ने तर सेतो टीका लगाउने हो भने किन सेतो टीका लगाइएको हो भनेर बालबालिकाले बुझ्ने गरी सिकाउने कोसिस गर्नुपर्छ ।

दशैं नमान्ने किरात समुदायका अभिभावकले दशैं नमानेर किन उधौली-उभौली मान्छौं ? उधौली-उभौली किन भनियो ? उधौली-उभौलीमा किन प्रकृतिको पूजा गरिन्छ भन्ने थाहा दिनुपर्छ ।

ब्राहृमण साथीको भन्दा तिम्रो संस्कार किन फरक छ भनेर सरल तरिकाले तर गहिराइमा बुझाउने कोसिस गर्नुपर्छ । बाहुन साथीको घरमा खसीको मासु पाक्छ तर तिम्रो घरमा किन सुँगुरको मासु पाक्छ जस्ता चाडबाडसँग जोडिने पकवानका कुराहरू भन्न सकिन्छ ।

यी विषयहरू सम्बन्धित चाडपर्व मनाइरहेको बेला बुझाउने कोसिस गर्दा प्रभावकारी हुन्छ । दशैं मान्नेले पनि कोहीले रातो अक्षता, कोहीले सेतो अक्षता अथवा कसैले अक्षतारहित टीका लगाउँछन् भने त्यसको बारेमा पनि जानकारी दिनुपर्छ । यसबाट केटाकेटीले सांस्कृतिक विविधताबारे थाहा पाउँछन् । समाजको विविधताबारे जान्दछन् ।

बालबालिका उत्सुक स्वभावका हुन्छन् । सरल तरिकाले बुझाउने कोसिस गर्ने हो भने छिटो र नबिर्सने तरिकाले बुझ्छन् । पूर्वीय दर्शन अर्थात् हामी हरेक समुदायले मान्ने चाडबाड कुनै न कुनै रूपमा विज्ञानसँग जोडिएका हुन्छन् । हाम्रो जीवनपद्धतिसँग प्रत्यक्ष जोडिएका हाम्रा संस्कृतिका बारेमा अभिभावकले शिक्षा दिनुपर्छ । यसले उनीहरूको व्यक्तित्व विकास, व्यावहारिक ज्ञानको दायरा बढाउँछ ।

(अनलाइनखबरकर्मी नुनुता राईसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?