+
+

गिरीघाट शिविरमा छैन दशैंको रौनक

‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता विक भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक ७ गते १४:२७

७ कात्तिक, सुर्खेत । अहले देशैभर दशैंको रौनक छ । रोजगारी, अध्ययन र पेशा व्यवसायका लागि शहर–बजार छिरेकाहरु घर फर्किएर मान्यजनबाट टीका–जमरा लगाएका छन् । मिठोमसिनो खाँदै रमाइलो गरिरहेका छन् ।

तर, कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि २० किलोमिटर पश्चिममा रहेको बराहताल गाउँपालिका–२, गिरीघाट शिविरमा भने चाडपर्वको रौनक छैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत १० वर्षयता उनीहरूका लागि दशैंमा कुनै उमङ्ग आएको छैन ।

२०७१ साउन २८ र २९ गते भेरी नदी किनारमा आएको बाढीबाट प्रभावितहरु उक्त शिविरमा बस्दै अएका छन् । २५९ परिवारमध्ये केही घरपरिवारले बस्ती छोडिसकेका छन् भने हाल १२५ घरधुरी परिवार अस्थायी शिविरमै बस्दै आएका छन् । राज्यले उचित ठाउँमा व्यवस्थापन गर्न नसक्दा उनीहरु विस्थापित भएको १० वर्ष बित्दा पनि शिविरमै बस्न बाध्य छन् ।

यो बस्तीमा दशैं–तिहार जस्ता चाड पर्वहरू कहिल्यै खास बन्न सकेका छैनन् । बस्ती अगाडिको कर्णाली राजमार्गमा दशैंको रौनक बोकेर सयौं गाडीहरू भित्रँदा सडक छेउमै रहेको यो बस्ती भने सुनसान छ ।

०७१ मा आएको बाढीले सयौंलाई घरबारविहीन बनायो । कैयौंले परिवारका सदस्य र आफन्त गुमाए । दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटना भएको १० वर्ष बित्यो । अझै पनि गिरीघाट वस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि उनीहरू टहरोकै व्यवस्थापन र बिहान–बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् ।

‘यो शिविर मुनि अझै कति दशैं मनाउन पर्ने हो थाहा छैन,’ रामबहादुर नेपाली भन्छन्, ‘दशैँ त प्रत्येक वर्ष आउँछ तर हाम्रो बस्तीमा नपसेर जान्छ ।’

बस्तीको अवस्था जिर्ण छ । शिविरमा निर्माण गरिएका त्रिपालका टहरा भ्वाङ्ग परेका छन् । कतिपयले खरको छानो हालेर एक कोठे छाप्रो बनाएका छन् । स्वच्छ खानेपानी छैन । चर्को बेरोजगारी छ । अभाव र अशिक्षा छ । १० वर्ष पहिले उनीहरुका घर आफन्तले भरिन्थ्यो, टीका र आशीर्वाद थाप्नेको भीड हुन्थ्यो ।

बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । १० वर्ष अघिसम्म सीता नेपालीको घरमा दशैंले यस्तै उमङ्ग ल्याउँथ्यो । तर अहिले दशैंले थप तनाव दिन्छ । ‘छोराछोरीहरु दशैंमा नयाँ कपडा, माछा–मासु चाहियो भन्दै कराउँछन्,’ उनी भन्छिन्, ‘हामीलाई साँझ–बिहानको छाक टार्नै मुश्किल छ । कसरी किन्दिनु नयाँ लुगा, कसरी मनाउनु दशैं ?’

शिविरमा बस्दै आएका उनीहरु पीडा र ऋणको भारीले थिचिएको बताउँछन् । पहिले नजिकैको खोलाबाट बालुवा र गिट्टी कुटेर जिविका चलाउँथे उनीहरु । पछिल्लो समय सरकारले गिटी बालुवा उत्खनन्मा रोक लगाएपछि छाक टार्न धौ–धौ पर्न थालेको रामबहादुर नेपाली बताउँछन् । ‘पहिले गिट्टी बालुवा बाह्रै महिना खुला हुन्थ्यो अहिले गाउँपालिकाले बन्द गरेको छ । गिट्टी, बालुवा तान्न ठेक्का दिन्छ, ठेकेदारले डोजर लगाएर तान्छ, त्यसपछि त हाम्रो रोजगारी पनि खोसियो,’ रामबहादुर भन्छन् ।

‘यो पालमुनि अझै कति दशैं मनाउन पर्ने हो थाहा छैन,’ उनी भन्छन्, ‘दशैँ त प्रत्येक वर्ष आउँछ तर हाम्रो बस्तीमा नपसेर जान्छ ।’

१० वर्ष पहिले आएको बाढीले रिता विकको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्न थालिन् । शिविरमा आएदेखि चाडपर्व मनाउन नपाएको उनी बताउँछिन् । ‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?

बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता न्यूनतम सुविधाबाट समेत उनीहरू बञ्चित छन् । त्रिपालमुनि साँघुरो एउटा कोठामा ५ देखि ८ जनाको परिवार बस्दै आएका छन् । दाताले दिएका त्रिपाल भ्वाङ्ग परेका छन् ।

उनीहरुसँग ओढ्न र ओछ्याउनलाई न्यानो कपडा छैन । गरिवी, अभाव, अशिक्षा र पछौटेपनले जेलिएका उनीहरु दशैंले उत्साह नभई दशा लिएर आउँने गरेको बताउँछन् । नयाँ लत्ताकपडा किन्न, मिठोमसिनो खान सक्ने अवस्था नभएपछि यो बस्तीमा दशैंको उल्लास नभएको शिविरकी हरिकला विकले बताइन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?