+
+

पोखरामा गुटेरेसको बास बेलायती राजकुमार चार्ल्स बसेको कोठामा

अमृत सुवेदी अमृत सुवेदी
२०८० कात्तिक १३ गते १५:२७

१३ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् ।

गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा स्वागत गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । गुटेरेस सोमबार बास बस्न लेकसाइडको फिस्टेल लजमा पुगेका छन् ।

गुटेरेस दोस्रो पटक पोखरा आइपुगेका हुन् । सन् १९७८ मा विद्यार्थी कालमा पोखरा आइपुगेको बताउँदै गुटेरेसले त्यो बेलै आफू पोखराबाट प्रभावित भएको बताएको मेयर आचार्यले जानकारी दिए ।

‘१९७८ मा पहिलो पटक विद्यार्थी कालमा पोखरा आएर यतैबाट दिल्ली पुगेको थिएँ । त्यो बेला नै म पोखराबाट प्रभावित थिएँ’, गुटेरेसको भनाइ उधृत गर्दै मेयर आचार्यले भने, ‘दोस्रो पटक अहिले संयुक्त राष्ट्रसंघको महासचिव भएर पोखरा आउन पाउँदा खुसी लागेको छ ।’

गुटेरेसलाई फिस्टेल लजमा ताल र हिमाल देखिने कोठाको व्यवस्था गरिएको छ । २०३९ सालमा पोखरा आइपुगेका बेलायती राजकुमार चार्ल्स बसेकै कोठामा गुटेरेस बसेका छन् ।

धेरै विदेशी तथा धनाढ्य व्यक्तिहरुको रोजाइमा सोही कोठा पर्ने र त्यसको मूल्य साढे ३ सय डलर रहेको लज व्यवस्थापनले जानकारी दिएको छ । हिन्दी फिल्म ‘हरे राम हरे कृष्ण’ सुटिङसमेत गरिएको लजमा भारतीय अभिनेता देवानन्द पनि सोही कोठामा बास बसेका थिए ।

गुटेरेस मंगलबार बिहान ६ः३० बजे सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका छ । गुटेरेसले पोखरा फिस्टेल लज र अन्नपूर्ण आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी भिडियो सन्देश रेकर्ड गर्ने कार्यक्रम रहेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा गुटेरेसले जलवायु परिवर्तनबारे जानकारी लिने छन् । स्थानीयले पनि उनलाई समस्या सुनाउने योजना रहेको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।

आधार शिविरमा गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्ने कार्यक्रम रहेको अन्नपूर्णका अध्यक्ष विष्णु केसीले जानकारी दिए । गुटेरेसलाई पुग्ने भएपछि अन्न्पूर्ण आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । मंगलबार नै लुम्बिनी जाने कार्यक्रम छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?