+
+

भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

प्रवेशिका परीक्षा दिएको ६ महिनापछि जन्ममिति सच्याउन नपाइने भएपनि उपरथी ताराध्वज पाण्डेको विवरण चार वर्षपछि परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर सच्याएको फेला परेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० कात्तिक १६ गते २२:०५

१६ कात्तिक, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सार्न खोजेका उपरथी ताराध्वज पाण्डेको ‘मार्क रजिस्टर’मै केरमेट गरेको फेला परेको छ । परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको फेला परेको हो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट अनलाइनखबरले प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ । उनको जन्ममिति सच्याइएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख छ ।

(हेर्नुस् तस्वीर)

परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिष्टर’ ।

पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ ।

जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्, ‘नियमावली अनुसार जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ५ वर्ष पुर्‍याइएको छ ।’

यो प्रावधान पनि ०८० सालपछि परीक्षा दिएका विद्यार्थीहरुको हकमा लागू हुने हो । बोर्ड अध्यक्ष शर्मा थप्छन्, ‘जन्ममिति लगायतको विवरण सच्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई दर्खास्त दिएर त्यहाँबाट प्रमाण हेरेर पठाएपछि मात्र विवरण सच्याउने व्यवस्था छ ।’

जन्ममिति सच्याउनेबारे नियमावलीको नियम ३ उपनियम (२) मा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित विद्यार्थीसँग भएको प्रमाणसँगै आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझेर फैसला गर्ने भनिएको छ ।

पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि १२ माघ २०७८ मै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ

त्रिविको विवरणमा पनि देखिन्छ कैफियत

अनलाइनखबरलाई प्राप्त त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा पनि उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ । २२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ रहेको उल्लेख छ ।

भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रविणता तहको सेसन २०३९/०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं-४, महाराजगञ्ज उल्लेख छ ।

यद्यपि, पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो ‘चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ । त्यसबेला ‘चारित्रिक प्रमाण-पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण-पत्र अनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रवेशिका परीक्षा सम्बन्धी विवरणमा उनको ठेगाना सतिश्वरा-१, तनहुँ उल्लेख छ । ८३८५२ बी सिम्बोल नम्बर भएका पाण्डेले द्वितीय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको देखिन्छ ।

त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि १२ माघ २०७८ मै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ । सैनिक अधिकृतहरुका अनुसार, डेढ वर्षअघि अवकाश दिने कुरा पनि ‘सेफ ल्याण्डिङ’ गराउने विषय मात्र हो ।

नागरिकता र शैक्षिक रेकर्डमा फरकफरक जन्ममिति ।

‘१२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले २०४३ सालमा अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन्’, एक सैनिक अधिकृतले भने, ‘किनकि सेनामा अधिकृतमा भर्ना हुन १८ देखि २१ वर्षको समयसीमा छ ।’

यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका अशोक सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै १० फागुन २०७९ मा राजीनामा दिएका थिए ।

२०४३ सालमा भर्ना हुनै समस्या हुने भएपछि उपरथी पाण्डेले त्यसबेलै जन्ममिति कीर्ते गरेर जागिर खाएको हुनसक्ने अधिकृतहरु आशंका गर्छन् । त्यसमाथि छानबिन गर्न भन्दै प्रधानसेनापतिको कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेको छ ।

उजुरीमा उपरथी पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको फरक-फरक जन्ममितिको छानबिन गर्न माग गरिएको छ ।

सैनिक अधिकृतहरुका अनुसार, सेनामा विगतमा यस्तो विवाद हुँदा जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो ।

गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा तत्कालीन उपरथी जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, तत्कालीन सहायक रथी प्रदीप अधिकारी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीसहित अन्य कर्णेलहरुलाई यही अनुसार अवकाश दिइएको थियो ।

स्रोतका अनुसार, उपरथी पाण्डेको जन्ममितिका विषयमा पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो । थापाले जन्ममिति विवादमा परेका थुप्रै जर्नेलहरुमाथि छानबिन गरेर कैफियत देखिएकाहरुलाई अवकाशमा पठाएका थिए ।

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा ।

तर, उनले छानबिनमा त्यसबेला आफू निकटहरु भने जोगाएको देखिएको एक सैनिक अधिकृतले दाबी गरे ।

‘राजेन्द्र क्षेत्री सेना प्रमुख हुँदा पनि तनहुँका भएकाले उनलाई सहज भयो, पूर्णचन्द्र थापाको पालामा पनि लमजुङ र तनहुँको भेगीय नाता लाग्यो’, ती अधिकृतले भने, ‘तत्कालीन प्रधानसेनापति थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट भएका कारण पनि पाण्डे जर्सा’ब छानबिनबाट जोगिएका थिए ।’

जंगीअड्डाका उच्च सैनिक अधिकृतहरुका अनुसार, तत्कालीन सेना प्रमुख थापा पाण्डेको जन्ममितिमा भएको कैफियताबारे जानकार थिए । तर, निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै उपरथीमा बढुवा गरिएको अधिकृतहरु बताउँछन् ।

क्षेत्री र थापापछि अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा उनका लागि दाहिने बनेपछि पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको छ ।

राजनीतिक दबाबमा माओवादी पूर्वलडाकु यमबहादुर अधिकारीको सहायक रथीमा पदावधि थप गरेर सैनिक प्रणाली विपरीत काम गरेको भन्दै आलोचना भइरहेका बेला सेनापति शर्माले सुटुक्क पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गर्ने सूचना प्रकाशित गरेका थिए ।

जंगीअड्डाका उच्च सैनिक अधिकृतहरुका अनुसार, तत्कालीन सेना प्रमुख थापा पाण्डेको जन्ममितिमा भएको कैफियताबारे जानकार थिए । तर, निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै उपरथीमा बढुवा गरिएको अधिकृतहरु बताउँछन्

एक उच्च सैनिक अधिकृतका अनुसार, अधिकारीलाई परिस्थिति सहज भए प्रधानसेनापतिसम्म बनाउने योजना अनुरुप म्याद थप गरिएको भन्दै आलोचना भइरहेका बेला सेनापति शर्माले त्यसलाई रोक्न दुई साताअगावै बढुवा सिफारिसको सूचना प्रकाशित गरेका थिए ।

‘यसबाट एकैपटक दुईवटा लाभ सैनिक नेतृत्वलाई हुँदै थियो, पहिले विवादास्पद उपरथीलाई गुपचुप सिफारिस पनि हुने भयो, पूर्वलडाकु अधिकारीको विवाद पनि मथ्थर हुने भयो’, एकपूर्वउच्च सैनिक अधिकृतले अनलाइनखबरसँग भने ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी भने उपरथीसम्म आउँदा पाण्डेको जन्ममितिको विषयमा पटकपटक निर्क्यौल भइसकेको दाबी गर्छन् ।

‘हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट कागजातको सक्कल प्रमाण-पत्र जाँचपछि मात्र बढुवाको निर्णय हुन्छ, त्यो सबै जाँचेरै उहाँ यो दर्जासम्म आइपुग्नुभएको हो’, भण्डारीले अनलाइनखबरसँग भने, ‘त्यसमाथि यो विषय पहिल्यै सम्बन्धित शिक्षण संस्थाबाट यकिन गरिसकेको कुरा हो, अहिले आएर निस्किएको कुरा होइन ।’

छानबिन गरेर मात्र सिफारिस गर्न माग

सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले सूचना जारी गरेको ७ दिनपछि त्यससम्बन्धी फाइल रक्षा मन्त्रालय हुँदै निर्णयका लागि मन्त्रिपरिषद् पठाउनुपर्ने हो । तर, दशैं विदा अनि लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण जंगीअड्डाबाट फाइल अघि बढेको थिएन ।

बेइजिङमा भएको ‘झिङसान फोरम’को उद्घाटन समारोहमा सहभागी हुँदै चिनियाँ जनमुक्ति सेनाका चिफ अफ स्टाफ जनरल लिउ झेनली लगायतसँग भेटवार्ता लगायतका कार्यक्रम सकेर प्रधानसेनापति शर्मा बिहीबार काठमाडौं आउँदैछन् ।

उनी आएपछि पाण्डेको बढुवा सिफारिससम्बन्धी फाइल अघि बढ्ने जंगीअड्डा स्रोतले जनाएको छ । यद्यपि, उनको जन्ममिति विवाद सार्वजनिक भएपछि सेना भित्र र बाहिर छानबिनका लागि माग उठिरहेको छ ।

जंगीअड्डा ।

उपरथी पाण्डे जन्ममिति विवादमा मात्र नभइ, कूटनीतिक आचरण विपरीत कार्य गरेको विषयमा पनि आलोचित छन् । एक पूर्वउच्च सैनिक अधिकृतका अनुसार, उनले गएको जेठ अन्तिम साता संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रमपछि रात्रिभोजमा गरेको हर्कतलाई लिएर गम्भीर प्रश्न उठेको थियो ।

‘अन्य अधिकृतहरु भए कोर्ट मार्सल भइसक्नुपर्थ्यो, तर जंगीअड्डाले उनलाई साथ दियो’, ती अधिकृतले भने, ‘नभए उनको व्यवहार देशकै प्रतिष्ठामाथि प्रश्न उठ्ने खाल्को थियो ।’

स्रोतका अनुसार, त्यसबेला काठमाडौंको होटल सोल्टीमा आयोजित रात्रिभोजमा उपरथी पाण्डे नेपालस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी अमित शर्मासँग अशिष्ट रुपमा प्रस्तुत भएका थिए । नेपालीस्थित भारतीय दूतावासका ‘डिफेन्स विङ’का कर्णल शर्मालाई उनले दुर्व्यवहार गरेको कार्यक्रममा सहभागीहरु बताउँछन् ।

भारतीय सेनाप्रति लक्षित गर्दै उनले अपमानजनक टिप्पणी समेत गरेको सैनिक स्रोत बताउँछ । विवादास्पद पृष्ठभूमि र जन्ममितिमा स्पष्ट कैफियत देखिएका कारण छानबिन गरेर मात्र उनलाई बढुवाका लागि सिफारिस गर्नुपर्ने माग उठिरहेको छ ।

हाल उपरथी पाण्डेले जंगीअड्डाको युद्धकार्य विभागको नेतृत्व गरिरहेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?