
काठमाडौं । गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल गठन भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट पाण्डेय सन् २०२३-२०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमिति उपाध्यक्षमा निर्देशक ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भए । महासचिवमा गीतकार बलराम मित्र, सचिवमा निर्माण नियन्त्रक शंकर पाण्डे र कोषाध्यक्षमा वितरक सुनिल मानन्धर छन् ।
सदस्यमा अभिनेता पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण केसी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ भए ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरालले सपथ ग्रहण गराए । अध्यक्ष चुनिएपछि अनलाइनखबरसँग कुरा गर्दै पाण्डेयले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको खोजी आफूहरुको मुख्य उद्देश्य हुने बताए ।
‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा अझै विस्तार गर्ने र बजार खोज्ने काममा हामी लाग्छौं,’ उनले भने । इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले नयाँ कार्यसमितिबाट आफू आशावादी रहेको बताए ।
नेपाली कलासंस्कृति, फिल्म र संगीतको समृद्धिको उद्देश्यसहित स्थापित इनासको केन्द्रीय कार्यालय नेदरल्यान्ड्समा छ । अहिलेसम्म विश्वका ७३ मुलुकमा शाखा विस्तार भइसकेको छ ।
प्रतिक्रिया 4