+
+
स्थलगत जाजरकोट :

शवको रास कुरेर बसेको चिउरी गाउँ

‘रातभर शव कुरेर बस्यौं, त्रिपाल समेत छैन’

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १९ गते १६:०८

१९ कात्तिक, नलगाढ (जाजरकोट) । तल भेरी नदी छ, माथि भिरालो पाखोमा बाक्लो बस्ती । वर्षौं पुरानो यो बस्तीमा दलित समुदायको बसोबास छ । वर्षभर खान पुग्ने गरी खेती लगाउने जमिन छैन । त्यसैले कमाउन सक्ने उमेर भएपछि ज्याला मजदुरीका लागि भारत जान्छन् ।

कहिले झाडापखाला त कहिले बाढीले हैरान बनाएको चिउरी गाउँलाई यो पटक भूकम्पले तहसनहस बनाएको छ । शुक्रबार मध्यरातमा रामिडाँडालाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले नगगाड नगरपालिका वडा नम्बर १ मा पर्ने यो चिउरी नराम्ररी प्रभावित भएको छ । ‘पहिले बाढी र झाडापखालाले हैरान बनाएको थियो, अहिले भूकम्पले दुःख दियो,’ महेश चुनारा (३५) भन्छन् ।

बस्तीमा करिब १७०/१८० घर थिए । भूकम्पले धेरै घर भत्किएका छन् । ठडिएका केही घर पनि बस्नलायक छैन, चिरा परेको छ । जमिनमा समेत धाँजा फाटेको छ । सडक समेत चिरा–चिरा परेका कारण भूकपमा परी मृत्यु भएकाहरुको शव पोष्टमार्टम लागि अस्पताल लैजान सकिएन ।

च्युरी गाउँमा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका चार जना समेत छन् ।

दिपबहादुर विक (३६) ले दाइ, भाउजु र दुई छोरा गुमाए । ‘भूकम्प आउने बेलामा हामी सुतिसकेका थियौं । कतिखेर आयो भन्ने पनि थाहा भएन,’ उनी भन्छन्, ‘माथिबाट एक्कासी खस्यो । उठेर बाहिर निस्कियौं । उतातिर आवाज आयो, त्यहाँ जाने बेलामा उहाँहरु बितिसक्नु भएछ ।’

हस्तबहादुर कामीले पनि बुहारी र नाती गुमाए । ‘एउटा घरमा म र नाती (छोरीको छोरा) सुतेका थियौं, अर्को घरमा बुहारी र नाती थिए’ उनले गहभरी आँसु पार्दै भने, ‘हामी त बच्यौं । नाती बित्यो, बुहारी पनि बिती ।’

उनको घर पुरै भत्किएको छ । भैंसी थियो, त्यो पनि पुरिएको छ । एक गेडा अन्न निकालेको छैन । ‘बस्ने बास पनि छैन, खाने गास पनि छैन,’ उनले भने, ‘यसरी के गरेर बस्ने हो प्रभु ! राज्यले दियो भने बाचौंला !’

सुमित्रा विक (२७) ले पनि भूकम्पमा बहिनी, छोरो र ज्वाइँ गुमाएकी छन् । ‘निदाएकी थिएँ, भूकम्पले हल्लायो । घर ढल्न थालेपछि बाहिर निस्कियौं,’ सुमित्राले भनिन्, ‘घरमा १० जना थियौं । बहिनी, छोरो र ज्वाइँ बितेका छन् ।’

स्थानीय महेश चुनाराका अनुसार भूकम्प गएपछि स्थानीय मिलेर पुरिएकाहरुको शव निकालेका थिए । प्रहरी आएर मुचुल्का उठायो, स्वास्थ्यकर्मीहरु आएर पोष्टमार्टम गरे । यसबाहेक अहिलेसम्म राज्यको उपस्थिति देखिएको छैन ।

आफन्तसँगै बास गुमाएका स्थानीय मिलेर शनिबार साँझ बारीको पाटामा पाल र प्लास्टिक टाँगे । त्यही शवहरुलाई जम्मा पारे, वरिपरि बसे । त्यही शवको लहरमा खम्बे महरका छोरी, ज्वाइँ र नातीका पनि शव थिए ।

‘छोरा–बुहारी एउटा कोठामा र म अर्को कोठामा सुतेका थियौं । आफू त बल्लबल्ल बाँचियो फालहालेर । छोरा बुहारी र नातिनातिना निकालेँ,’ रातभर शव कुरेर बसेका खम्बे भन्छन्, ‘यहाँ १२ वटा लास छन् । मेरा छोरी र ज्वाइँको पनि छ । उनीहरू बीचको बच्चा मेरो नाती हो ।’

सोमबार बिहानदेखि भने उनीहरुले मृतकको अन्त्येष्टि गर्ने तयारी गरेका छन् । अनलाइनखबरको टोली चिउरी गाउँ पुग्दा केही पुरुष शव कुरेर बसेका थिए भने केही अन्त्येष्टिका लागि लैजाने तयारीमा जुटेका थिए । परिवारका सदस्य गुमाएका महिलाहरुलाई सम्हाल्न मम्मेहम्मे परेको छ ।

मृतकको अन्त्येष्टि गरेपछि कहाँ बस्ने भन्ने चिन्ता छ । घर भत्किएका छन्, खानेकुरा, लत्ताकपडा, भाँडा भित्रै पुरिएका छन् । बस्ती नै चिरा परेको छ । स्थानीय शान्तबहादुर विक (४१) भन्छन्, ‘गाउँ नै सखाप छ । हामीसँग खाने केही छैन । गास, बास र कपास खोजेका छौं ।’

बस्ती नै चिरा परेकाले सरकारले स्थानान्तरण गर्नेबारे समेत सोच्नुपर्ने स्थानीय महेश चुनारा बताउँछन् । यशोदा महर (२८) पनि गाउँ नै बस्नलायक नभएको बताउँछिन् । ‘यहाँ १६०/१६५ घरपरिवार छन्,’ उनले दुःख पोखिन्, ‘भएको खाने कुरा पनि भित्रै छ । यतिकै बसेका छौं, पाल समेत छैन ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?