+
+

‘भूकम्प पीडितमा मानसिक आघात, सरसफाइसँगै विशेष स्याहार आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ८:४९

२१ कात्तिक, जाजरकोट । भूकम्प पीडितहरु मानसिक रुपमा विक्षिप्त भएकाले उनीहरुलाई मनोपरामर्शसँगै बालबच्चा, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकहरुलाई विशेष स्याहारको आवश्यकता रहेको चिकित्सकहरुले बताएका छन् ।

निःशुल्क स्वास्थ्य शिविर सन्चालनका लागि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा पुगेका कोहलपुर मेडिकल कलेजका फिजिसियन डा. देवेन्द्र आचार्यका अनुसार धेरैजसोमा मानसिक समस्या देखिन थालेको छ । ‘प्रायजसो पीडितहरुलाई भूकम्प पछिको पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर देखिएको छ, विशेष गरी जसले घर, परिवार, आफन्त र सम्पत्ती गुमाएका छन्, तिनीहरुमा मानसिक समस्या देखिन थालेको छ ।’

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् ।

धेरैजसो भूकम्प पीडितहरुले परिवारका सदस्य, आफन्त, घर, सम्पत्ती लगायत सर्वस्व गुमाएका छन् । पटक-पटक आउने परकम्पले झन् आतंक सिर्जना गरेको छ । पीडितहरु मानसिक रुपमा विक्षिप्त छन् । त्यसैले उनीहरुमा मनोपरामर्श आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।

भूकम्पले पशु चौपायाहरु पनि मरेका छन् । शौचालयहरु पूर्णरुपमा भत्किएका छन् । महिनावारी भएका, गर्भवती, सुत्केरी र नवजात शिशुहरु पालमुनि बस्न बाध्य छन् । अबका केही हप्तामा भूकम्प पीडितहरुमा हैजा, झाडापखालाका साथै चिसोको कारणले निमोनिया र अन्य संक्रमण फैलिने जोखिम छ ।

‘त्यसैले भूकम्प प्रभावित क्षेत्रमा विशेष सरसफाइका साथै महिनावारी भएका, गर्भवती, सुत्केरी र नवजात शिशुहरुको विशेष स्याहार र पोषणयुक्त खानेकुरा आवश्यक छ,’ डा. आचार्यले भने, ‘बालबच्चाहरु, गर्भवती, सुत्केरी, वृद्धहरुलाई विशेष ख्याल गर्नु पर्दछ र राहतसँगसँगै घरघरमा साबुन पानी, सेनीटरी प्याड र दीर्घरोगीहरुले नियमित सेवन गरिरहेको औषधि उपलब्ध गराउनु पर्ने आवश्यक छ ।’

कात्तिक १८ गते बाँकेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका भीसी डा. रावल, प्रतिष्ठानका रेक्टर डा. डबल धामी, नेपालगञ्ज मेडिकल कलेजका एसोसियट प्रोफेसर डा. श्याम विक, नेपालगञ्ज मेडिकल कलेजका जनरल फिजिसियन डा. आचार्य, कणर्ाली स्वास्थ विज्ञान प्रतिष्ठानका एनेस्थियोलोजिस्ट डा. रविन खापुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका मानव नेपाली र स्वास्थ्य शाखा खजुरा गाउँपालिका, बाँकेका प्रमुख दीपक ढकालसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको थियो ।

त्यसको भोलिपल्टदेखि नै चिकित्सकहरुले सेवा दिन सुरु गरेका थिए । यो टोलीले घरघरमै पुगेर र दल्ली स्वास्थ्य चौकीमा समेत पुगेर सेवा दिएको छ । ‘बाटो बन्द भएर वा स्वास्थ्यको कारणले जो स्वास्थ्य चौकीसम्म र शिविर सन्चालन गरेको ठाउँसम्म आउन सक्नुहुन्न उहाँहरुलाई घर-घरमै गएर पनि उपचार गरिएको छ,’ डा. श्याम विकले भने ।

भौतिक संरचना धेरैजसो क्षतिग्रस्त भएकाले खुला ठाउँमा, बारीमा त्रिपाल ओछ्याएर बिरामीहरुको जाँच गर्ने र औषधि वितरण गर्ने गरिएको छ । तीन दिनको अवधिमा साढे तीन सय जनाको स्वास्थ्य जाँच र औषधि वितरण गरिएको डा. आचार्यले बताए ।

चिकित्सकहरुका अनुसार धेरैजसोको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । ‘जो अलि बढी बिरामीहरु हुनुहुन्छ, उहाँहरुलाई दल्ली स्वास्थ्य केन्द्रमा पठाइएको छ । दल्लीमा पनि उपचार हुन नसक्नेहरुलाई अन्यत्र रिफर गरिएको छ,’ आचार्यले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?