+
+

कसैसँग सम्बन्ध टुट्नु फाइदाजनक पनि हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १३:५४

के सम्बन्ध वा मन टुट्दा मानिसलाई फाइदा पनि हुन सक्छ ?

तपाईंलाई लागिरहेको होला कि यो कस्तो प्रश्न हो ? सम्बन्ध टुट्दा पनि के कसैलाई राम्रो लाग्ला र ? अझ ब्रेकअप हुँदाका फाइदाका बारेमा त हामीले कल्पना नि गर्न सक्दैनौं ।

द ब्रेकअप मोनोलग्स नामक पुस्तककी लेखिका रोजी विल्बीका अनुसार सम्बन्धमा ब्रेकअपका विभिन्न फाइदा छन् । रोजी विल्बीले पहिले यही नामबाट आफ्नो पडकास्ट चलाउँथिन् । पछि उनले त्यही नामको किताब लेखिन् ।

यो किताबमा उनले आफ्नो निजी जीवनका कुरा गरेकी छिन् । साथै पडकास्टमा आउने पाहुनाहरुसँगको कुराकानीका क्रममा उनले मानवीय नाता सम्बन्धका बारेमा जे कुरा बुझिन्, ती कुरालाई आफ्नो यो किताबमा ठाउँ दिएकी छिन् ।

उनले यो किताब लेख्नका लागि विभिन्न थेरापिस्ट, समाजशास्त्रीहरु तथा वैज्ञानिकहरुसँग पनि कुराकानी गरिन् ।

बीबीसी रिल्ससँगको कुराकानीमा रोजी विल्बी भन्छिन्, ‘दिल टुट्दा हामीले धेरै कुरा सिक्छौं । ब्रेकअपलाई अहिले पनि राम्रो मानिंदैन तर यो पनि सम्भव छ कि यसबाट तपाईंको भलो होस् ।

आफैलाई चिन्ने मौका

रोजी विल्बीका अनुसार ब्रेकअपले हामीलाई आफ्नो सम्बन्धमा हामी कस्तो खालको मानिस हुनुपर्छ वा कस्तो खालको मानिससँग सम्बन्ध राख्नुपर्छ भन्ने विषयमा पुनर्विचार गर्ने र सोच्ने मौका प्रदान गर्छ ।

र, कहिलेकाहीं केवल दिल टुटेको पीडादायी अनुभवबाटै हामीलाई आफ्नो बारेमा सही जानकारी प्राप्त हुन्छ र हामीले राम्रो निर्णय गर्नका लागि सक्षम बन्छौं ।

मानसिक स्वास्थ्य तथा व्यवहार विज्ञानका विशेषज्ञका अनुसार कहिलेकाहीं सम्बन्ध छुट्दा नै हाम्रो आँखा खुल्छ ।

कहिलेकाहीं ब्रेकअपले हामीलाई आफ्ना कमीहरुको बारेमा अवगत गराउँछ । त्यसपछि हामीले आफैंलाई सुधार्छौं । उसो त ब्रेकअपलाई कसरी हेर्ने भन्ने कुरा आफूमा निर्भर गर्छ । यदि तपाईं दोस्रो पक्षको मात्रै गल्ती खोजिरहनुहुन्छ भने तपाईंले कहिल्यै पनि आफूलाई सुधार्ने कोसिस गर्नु हुनेछैन ।

अनुभव फरकफरक

मनोवेत्ताहरुका अनुसार ब्रेकअप सबैका लागि कठिन नै हुन्छ, यसको पीडाबाट बाहिर निस्किने सबैको अनुभव पनि फरक-फरक हुन्छ ।

सम्बन्ध टुट्नु कहिलेकाहीं हाम्रा लागि एउटा पाठ पनि हुन सक्छ । ब्रेकअपबाटै हामीलाई आफ्नो बारेमा जान्ने र आफूलाई उत्कृष्ट बनाउने मौका मिल्छ । हामीले यो कुरा स्वीकार पनि गर्नुपर्छ कि सम्बन्ध टुट्नुमा आफूबाट के गल्ती भयो ?

मन टुक्रिनु र नशाको लत

रोजी विल्बी मन टुट्नुलाई नशाको लतसँग तुलना गर्छिन् । उनका अनुसार सम्बन्ध टुट्दा मानिसको व्यवहार नशामा फसेका त्यस्ता व्यक्तिको जस्तै हुन्छ, जब उसलाई नशालु पदार्थ सेवन गर्नबाट रोकिन्छ । विज्ञका अनुसार लभ केमिकल अर्थात् अक्सिटोसिन हार्मोन जब मस्तिष्कभित्र बढ्छ, तब अरुप्रति आकर्षण बढ्छ । यो बदलाव सबै खालको प्रेममा देखिन्छ ।

विज्ञ भन्छन्, ‘मस्तिष्कभित्र कहिलेकाहीं डोमामिन रिवार्ड मार्ग सक्रिय हुन्छ । यसले हामीलाई कुनै मानिससँग बारम्बार भेट गर्ने इच्छा जागृत हुन्छ । तर यदि त्यो मानिससँग भेट भएन वा ऊसँगको सम्बन्ध छुट्यो भने हाम्रो अवस्था नशामा फसेको मानिसले नशालु पदार्थ सेवन गर्न नपाउँदाको जस्तै बन्छ ।’

तुरुन्तै बनाउनुपर्छ नयाँ सम्बन्ध ?

रोजी विल्बी सम्बन्धलाई कायम राख्न निकै मेहनत गर्नुपर्ने तर यो एउटा कठिन काम रहेको बताउँछिन् । ‘किनकि सम्बन्धकै कारण हाम्रो जीवनमा धेरै उथलपुथल हुन्छ । हामीले दोस्रो व्यक्ति र उसका राम्रा नराम्रा कुरासँग सम्झौता गर्नुपर्छ,’ उनी भन्छिन् ।

एउटा सम्बन्ध टुटेपछि दोस्रो सम्बन्ध बनाउनुअघि केही समय आफूलाई समय दिएर सोच्नुपर्ने उनी सुझाउँछिन् । ‘तर यसको अर्थ तपाईं भिक्षु वा सन्यासी बन्नुपर्छ र सेक्सबाट पूर्ण रुपमा अलग हुनुपर्छ भन्ने होइन,’ रोजी विल्बी भन्छिन् ।

आफैसँगको सम्बन्ध आवश्यक

कहिलेकाहीं मानिसलाई लाग्छ कि एउटा सम्बन्ध टुट्यो भने तुरुन्तै अर्को सम्बन्ध गाँसिहालुँ । यो गलत हुन्छ । हाम्रो सबैभन्दा महत्वपूर्ण सम्बन्ध आफैंसँग हुन्छ । त्यसमा थोरै नियम, थोरै सन्तुलन र अनुशासन हुनुपर्छ । विज्ञका अनुसार केही रचनात्मक रुचिका क्रियाकलापमा आफ्नो ऊर्जाको प्रयोग गर्नुपर्छ ।

आफैंसँगको सम्बन्धलाई सुधार्ने कोसिस गर्नुपर्छ र आफ्ना कमीकमजोरीलाई बुझेर त्यसलाई हटाउने प्रयास गर्नुपर्छ ।

विज्ञ भन्छन्, ‘न त हामी कसैको पछि परिरहनु राम्रो हुन्छ, न त अरु कसैलाई देखाउनका लागि कुनै अपरिचित वा नयाँ व्यक्तिसँग सम्बन्ध गाँसिहाल्नु नै ठीक हुन्छ । जब सम्बन्धको कुरा हुन्छ तब त्यसमा दुईवटा कुरा महत्वपूर्ण हुन्छन् । एउटा हो स्वस्थ सम्बन्ध र अर्को हो स्वस्थ दूरी । यो कुरालाई सजिलो भाषामा भन्नुपर्दा सम्बन्धलाई कायमै राख्नका लागि यो कुरा निकै महत्वपूर्ण हुन्छ कि एकअर्कासँग गहिरो सम्बन्ध हुनुका साथै त्यसमा केही दूरी पनि कायम राख्नुपर्छ । किनकि आफूलाई केही व्यक्तिगत स्पेस प्राप्त होस् भन्ने हरेक मानिसको चाहना हुन्छ ।’

बदलिदो धारणा

समाजमा ब्रेकअपका विषयमा मानिसहरुको धारणा परिवर्तन भइरहेको छ । जानकारहरुका अनुसार अब मानिसलाई थाहा हुन लागेको छ कि कुनै विषाक्त सम्बन्धमा रहँदा त्यसले आफ्नो शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा असर पार्छ ।

ब्रेकअपपछिको अवस्थाका बारेमा विज्ञ भन्छन्, ‘यसबाट तपाईं फरक-फरक मानिससँग भेट्न सक्नुहुन्छ । स्वस्थ आनीबानी सुरु गर्न सक्नुहुन्छ, आफ्नो जीवनलाई नयाँ सिराबाट जिउन सिक्नुहुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा चाहिं तपाईंलाई आफ्नै महत्वको बारेमा जानकारी हुन थाल्छ । अर्थात् समग्रमा ब्रेकअपपछि पनि तपाईं खुसी रहन सक्नुहुन्छ ।’

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?