
२४ कात्तिक, काठमाडौं । समयमै कर्जा असुली गर्न नसकेपछि स्वाबलम्बन लघुवित्तको निष्क्रिय कर्जा उच्च दरले बढेको छ ।
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार असोज मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश १२.४१ प्रतिशत पुगेको छ ।
गत वर्षको यस अवधिमा यस्तो कर्जा जम्मा ३.९ प्रतिशत थियो ।
त्यस्तै खुद नाफा ५७ प्रतिशत घटेको छ । चालु वर्षको पहिलो तीन महिनामा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी नै घट्दा नाफामा गिरावट देखिएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३९ करोड ३७ लाख रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा ३४ करोड ४६ लाख रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ बराबर इम्पेरिमेन्ट चार्ज छुट्याएको छ । कम्पनीको नाफामा गिरावट आउँदा प्रतिसेयर आम्दानी पनि संकुचित भएको छ ।
स्वाबलम्बन लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसामा झरेको छ, पहिले यस्तो आम्दानी २६ रुपैयाँ ७३ पैसा थियो ।
प्रतिक्रिया 4