+
+

जब फुटबल खेलाडीलाई जिस्क्याइएको थियो, ‘तीस गोले’ भनेर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १२:२३
रुपकराज शर्मा ।

काठमाडौं । एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेल खेल्न नेपाल अहिले यूएईमा छ । एसियाली फुटबलकै एउटा शक्ति रहेको यूएईको सामना गर्दा नेपाललाई गाह्रै हुनेछ ।

आखिरमा यूएई एकपल्ट भए पनि विश्वकप खेलिसकेको टिम पो हो । ३ दशकअघि सन् १९९० मा इटालीमा भएको विश्वकप यूएईले खेलेको थियो । अझै पनि यूएई फिफा वरीयतामा ६९ औं स्थानमा छ । यसले पनि देखाउँछ, त्यहाँको फुटबल पक्कै पनि मजबुत छ ।

नेपालले यूएईको सामना गर्दा एउटा यस्तो इतिहास सम्झन बाध्य हुनु पर्छ, जसमा पटक्कै मज्जा भने हुने छैन । कुरा भने पुरानै हो, त्यसका लागि हामी सन् १९८४ पुग्नु पर्छ ।

नेपालले अहिलेसम्म यूएईसँग जम्माजम्मी एकै पल्ट मात्र खेलेको छ । संयोग नै भनौं, नेपालले धेरै कम खेलेको एसियाली प्रतिद्वन्द्वीमा पर्छ, यूएई । सन् १९८४ मा नेपालले एसिया कप छनोट खेलेको थियो । नेपाल सम्मिलित छनोट समूहका खेल भएको थियो, साउदी अरेबियाको रियादमा ।

कुल चार प्रतिद्वन्द्वी जुरेको थियो, नेपालका लागि । पहिलो त यूएई नै भयो । अर्को आयोजक साउदी अरेबिया । त्यसपछि ओमान र श्रीलंका । त्यति बेला नेपाली टिमका कप्तान थिए, रूपकराज शर्मा । अब त उनी नरहेको पनि धेरै वर्ष भइसक्यो । प्रशिक्षक भने जोन फिगी । नेपाली खेलाडी खुबै जोसमा रियाद त पुगे, तर फर्कदा सबैको अनुहार झुकेकै स्थितिमा थियो । नहोस् पनि किन र, टिमको प्रदर्शन नेपाली फुटबल इतिहासमै सबैभन्दा खराब रह्यो ।

पहिलो खेल थियो, सायदी अरेबियाविरुद्ध । नेपाल ७–० ले पराजित भयो । दोस्रो खेल श्रीलंकाविरुद्ध थियो । नेपाली खेलाडीलाई लागेको थियो, श्रीलंकालाई त मज्जाले हराउन सकिन्छ । तर उल्टै ४–० ले पराजित भयो । त्यसपछि यूएईविरुद्ध खेल परेको थियो, त्यसमा ११–० को हार बेहोर्न बाध्य भयो । अन्तिम खेलमा नेपाल ओमानसँग ८–० ले पराजित भयो । भनेपछि चार खेलमा नेपालले कुनै गोल गर्न त सकेन नै, बरू ३० गोल खायो ।

यो वास्तवमै बिर्सनलायक प्रदर्शन थियो । नेपाली टिमले यति खराब सायद विरलै खेलेको छ । सन् १९८२ बाट नेपाली राष्ट्रिय टिमले औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने पनि चार दशकको समयमा नेपालको प्रदर्शन यति साह्रो निरिह कहिले पनि रहेन । नेपालले बेहोरेका ठूलठूला चार हारमा यूएईविरुद्धको यो ११–० नतिजा पनि पर्छ । कुरा त्यत्तिकै सकिन्न । घर फर्केपछि पनि नेपाली टिमलाई यही प्रतियोगितासँग जोडेर उडाउने काम भइरह्यो ।

भएको के भन्दा त्यस छनोट लगत्तै काठमाडौंमा एउटा फुटबल प्रतियोगिता भएको थियो ।

सम्भवतः बर्थ डे कप हुनुपर्छ, दशरथ रंगशालामा खेल हेर्न आएका दर्शकले जति-जति बेला नेपाली राष्ट्रिय टिमका खेलाडीको खुट्टामा बल हुन्थ्यो, ठूलो स्वरमा जिस्क्याउने गर्थे, ‘तीस गोले’ भनेर । त्यो समयका अधिकांश खेलाडी अहिले पनि यो तीस गोलको प्रसंग उठेपछि रमाइलो मान्छन् । रमाइलो के अर्थमा भन्दा त्यसरी ‘तीस गोले’ भन्दा उनीहरूसँग फर्काउने उत्तर पनि त थिएन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?