+
+

सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १४:०९
भक्तपुरको नयाँ थिमी चोकस्थित शंखधर साख्वाको शालिक । फाइल फोटो

२७ कात्तिक, काठमाडौं । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराएका थिए ।  त्यसैले यसलाई नेपालको मौलिक संवतको रुपमा लिइन्छ ।

इतिहासका जानकारहरुका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म चलेको थियो । लिच्छविकाल अघि भने शक संवत् प्रचलनमा थियो ।

कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौंमा छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवतको नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालमा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?