+

तरिका जाने मधुमेह नियन्त्रण गर्न गाह्रो छैन

२०८० कात्तिक  २८ गते १८:१५ २०८० कात्तिक २८ गते १८:१५
तरिका जाने मधुमेह नियन्त्रण गर्न गाह्रो छैन

मधुमेहलाई ‘खानदानी रोग’ भनिन्छ । किनकि विलासी र आरामदायी जीवन बिताउनेहरु बढी यस रोगको सिकार हुने गर्छन् । मिठो मसिनो खाने, आरामपूर्वक बस्ने, निष्क्रिय रहनेहरुलाई मधुमेहको जोखिम उच्च हुन्छ । त्यसैले मूलत: मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।

बद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर ३६ करोड ६० लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालकै कुरा गर्ने हो भने हरेक घरमा कोही न कोहीमा मधुमेहको समस्या देखिरहेको छ । त्यसैले यस समस्याको रोकथाम र नियन्त्रणका लागि सचेतना जगाउने उद्देश्यले विश्वभर नै प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ ।

जोखिम आफै थाहा पाउनुहोस्

विश्वमा मधुमेहका बिरामीको संख्या बढ्दै गएसँगै प्रि–डाइबिटिजको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । प्रि–डाइबिटिजको अर्थ असामान्य ब्लग सुगर हुनु हो, जुन डाइबिटिजको लेभलमा लगभग पुग्न सक्ने अवस्था हो । प्रि–डाइबिटिज भएका मानिसलाई भविष्यमा मधुमेह हुने सम्भावना उच्च हुन्छ । जसमा सबैभन्दा बढी टाइप-२ डाइबिटिज हुन सक्ने जोखिम हुन्छ ।

टाइप-२ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । यो करिब ९० प्रतिशत मधुमेह भएका व्यक्तिमा पाइन्छ ।

टाइप२ मधुमेहको कारण

आरामदायी जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधि नगर्ने, बढ्दो उमेर, उच्च रक्तचाप, गर्भकालीन मधुमेह, तनाव र समयमा नसुत्ने बानीले टाइप-२ मधुमेहको कारक बनिरहेको छ ।

रोकथाम

टाइप-२ मधुमेहको जोखिम कम गर्न सन्तुलित आहार र नियमित शारीरिक गतिविधि र तौल नियन्त्रण गर्नु महत्त्वपूर्ण छ । किनकि मोटोपनले मधुमेहको जोखिम बढाउँछ । जोखिम समूहहरुले नियमित स्क्रिनिङ र चेकअप गराउन आवश्यक छ । यसले जोखिम भएका व्यक्तिमा प्रारम्भिक लक्षण पत्ता लगाउन सहयोग पुर्‍याउँछ ।

खानपान

मानव शरीर ६० प्रतिशत पानीले बनेको हुन्छ । जसबाट के बुझ्न जरुरी छ भने पानी नै जीवन चलाउने साँचो हो । त्यसैले यसको पूर्ति गर्न फलफूलको रस, सोडा वा अन्य चिनीजस्ता गुलियो पेय पदार्थहरू कम सेवन गर्नुपर्छ । र, पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

हरेक दिन तीनवटा ताजा फलफूल र तीनवटा तरकारी खाने प्रयास गर्नुपर्छ, जसमा हरियो पातदार तरकारी अनिवार्य होस् । फास्टफुडको सट्टा खाजामा ताजा फलफूल, बदाम, गुलियो नभएको दही खान सकिन्छ ।

अर्को मदिराबाट सकेसम्म टाढा रहने हो । विश्व स्वास्थ्य संगठनका अनुसार मदिराको थोरै मात्रा पनि स्वास्थ्यको लागि राम्रो नभएको भन्दै यसमा सीमित गर्नुभन्दा नखानु उचित रहेको जनाएको छ ।

त्यस्तै सुर्तीजन्य पदार्थ पनि जुनसुकै तरिकामा खानु शरीरको हरेक अंगको लागि हानिकारक मानिन्छ ।

जब मासुको कुरा आउँछ, रातो वा प्रशोधित मासुको सट्टा सेतो मासु, कुखुरा वा समुन्द्री मासु छनोट ६र्नु लाभदायक हुन्छ । भुटेको वा तारेको अत्यधिक चिल्लो मासु भन्दा उसिनेको, ग्रिल गरेको मासु खानु राम्रो हुन्छ ।

स्याचुरेट बोसो (मक्खन, घिउ, पशु बोसो, नरिवलको तेल)को सट्टा अनस्याचुरेट बोसो (जैतुनको तेल, क्यानोला तेल, मकैको तेल वा सूर्यमुखी तेल) प्रयोग गर्नु लाभदायक हुन्छ ।

सकेसम्म स्वस्थ विकल्प प्रयोग गर्ने प्रयास गर्नुपर्छ । जस्तै, चकलेट स्प्रेड वा जामको सट्टा पिनट, बटर, सोडाको सट्टा लेमोनेड र मिठाईको सट्टा ड्राई फ्रुट्स । मैदाको रोटी, भात र पास्तालाई सीमित गर्नुपर्छ । बाहिर खानु भन्दा घरमा खाना खानु खल्तीका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

डाइटिङ मात्रै मोटोपन घटदैन

धेरैमा के गलत बुझाइ छ भने खानेकुरा कम खाँदा तौल स्वाट्टै घट्छ, अनि स्वस्थ भइन्छ । कम खानेकुरा खाँदा फयाट र मांसपेशी दुवै घट्छ । त्यसैले मोटोपन घटाउन खानपानसँगै व्यायाम गर्नु पनि उत्तिकै जरुरी छ । दिनमा एक किलो मांसपेशीले १३ क्यालोरी खपत गर्न सक्छ भने आराम मात्र गर्दा एक किलो बोसोले पाँच क्यालोरी मात्र खपत गर्न सक्छ ।

धुमेह भइसकेपछि ध्यान दिनुपर्ने ७ कुरा

खानपान नै औषधि

९० प्रतिशत तौल र उच्च रक्त मधुमेहको समस्या प्रत्यक्ष रुपमा खानासँग जोडिएको हुन्छ । तपाईं जे खानुहुन्छ त्यस्तै नै तपाईं बन्ने हो । अहिले धेरै डाइट प्लान चर्चित छन् । तर खानपानप्रति सजग हुने सामान्य प्रयास गर्दा नै उपयुक्त हुन्छ ।

चलायमान रहने

शरीर संसारको सबैभन्दा उन्नत मेसिन हो, जति धेरै प्रयोग गर्‍यो त्यति राम्रो हुन्छ । यद्यपि, एकै कुनामा बस्ने वा पल्टिरहने गर्दा रोगले च्याप्न धेरै समय लाग्दैन । त्यसैले मुटुको दर बढाएर हरेक दिन करिब आधा घण्टा पसिना बगाउँदा तौल, मुटुरोगको जोखिम, तनावको स्तर र रगतमा चिनीको मात्रा कम गर्न सकिन्छ ।

शारीरिक क्रियाकलाप

शारीरिक सक्रियताको कुरा गर्दा यसमा दुई योजना बन्छन्, एउटा जिम र अर्को जगिङ जानु । यो आंशिक रूपमा सत्य हो । तर हामीले गर्ने प्राय: शारीरिक क्रियाकलापले ७० प्रतिशत क्यालोरी खपत गर्छ ।  त्यसैले टाइप-२ मधुमेहको जोखिम कम गर्न कुनै पनि शारीरिक क्रियाकलाप राम्रो हुन्छ । उदाहरणका लागि हप्ता कम्तीमा १५० मिनेट मध्यम–तीव्रता खालको एरोबिक व्यायाम (हिंड्ने, दौडने, पौडी खेल्ने वा साइकल चलाउने) गर्नुपर्छ । बिस्तारै सम्भव भएसम्म दिनको १५ मिनेट शारीरिक गतिविधिमा सक्रिय रहनुपर्छ ।

शरीर तन्काउने व्यायामले मांसपेशी बढाउने, इन्सुनलिको क्षमता सुधार गर्ने र तौल नियन्त्रणमा ठूलो भूमिका खेल्छ ।

पर्याप्त निन्द्रा

निद्रा भनेको समय हो । निद्राले शरीरलाई आराम दिएर आफैंलाई पुनर्स्थापित गर्छ । निद्रामा पाचन क्रिया राम्रोसँग चल्न र शरीरबाट बाहिर फ्याँक्नुपर्ने पदार्थहरु फ्याँक्न, शरीरमा हार्मोनहरु उत्पादन गर्न र रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) ठीक राख्न आवश्यक पर्छ । मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट निस्कने ग्रोथ हार्मोन निदाएको बेलामा निस्किन्छ । यसको काम मांसपेशी बढ्न, हड्डी बढ्न र बोसोको पाचन क्रियामा काम लाग्छ ।

अधुरो र अवरुद्ध निद्राले सबै तनाव हार्मोनलाई उच्च बनाएर  खराब मुड, धेरै खानेकुरा खान मन लाग्ने, आलस्य बनाउने गर्छ । यसबाट तौल बढ्ने र सुगर लेभल बढ्ने समस्या निम्तिन्छ । त्यसैले कम्तीमा ६ घण्टा र सकेसम्म दैनिक आठ घण्टा राम्रोसँग सुत्नुपर्छ ।

टिकटक, रिल्स वा युट्युब भिडियो हेर्दा मोबाइल फोनमार्फत स्क्रोल गर्दा तपाईंको निद्राबाट बञ्चित हुने मात्र होइन, यसले दुःस्वप्न र चिन्ताको समस्या पनि निम्त्याउन सक्छ । त्यसैले सुत्ने समयमा सकेसम्म मोबाइल नचलाउनु उचित हुन्छ ।

धुम्रपान नगर्ने

धुम्रपानले शरीरको कुनै पनि अंगलाई राम्रो गर्दैन । यदि तपाईंलाई मधुमेह छ भने यसले झन् जोखिममा पार्छ । धुम्रपान नगर्ने मानिसको तुलनामा धुम्रपान गर्नेलाई टाइप-२ मधुमेह हुने सम्भावना ३० देखि ४० प्रतिशत बढी हुन्छ ।

यदि पहिले नै मधुमेह छ भने धुम्रपानले इन्सुलिन प्रतिरोधात्मक क्षमतामा दखल दिने र त्यसमा हुने  निकोटिनले मुटुको धमनीहरू साँघुरो भई बन्द हुने जोखिम समेत हुन्छ । जसले हृदयघात वा पक्षाघात निम्त्याउन सक्छ ।

शान्त रहने

तनाव मधुमेहको सबैभन्दा ठूलो शत्रु हो । तनावले कोर्टिसोल हार्मोन उत्पादन गर्छ । हार्मोनहरूले प्यान्क्रियाजमा इन्सुलिन उत्पादन गर्ने कोषिकाहरूलाई राम्ररी काम गर्नबाट रोक्न सक्छ । जसकारण इन्सुलिनको मात्रा कम हुन सक्छ । यसले मुटुको चाल, रक्तचापमा दबाब बढ्छ र ब्लड सुगर नियन्त्रण बाहिर हुन्छ ।

तनावले आहार र निद्रामा पनि बाधा पुर्‍याउँछ । तनाव व्यवस्थापनका लागि योग प्रशिक्षक, चिकित्सक र थेरापिस्टको मद्दत लिन सकिन्छ ।

औषधि नछोड्ने 

धेरै मानिस डराउँछन् जब मधुमेहको औषधि लिने कुरा आउँछ । यसको कारण आजीवन औषधि खानुपर्छ भन्ने हो । तर औषधि देखेर डराउने होइन यसलाई पनि खानेकुरा जस्तै सम्झिनुपर्छ । यसले  मधुमेहलाई  निको पार्न सक्दैन तर औषधिले सधैं नियन्त्रणमा राख्न सक्छ, जसले मधुमेहपछि हुने जटिलता कम गर्छ र सहज जीवनयापन गर्न मद्दत गर्छ

नियमित चेकअप

यदि भर्खरै मधुमेह पहिचान भएको छ भने चिकित्सकले केही औषधि दिन सक्छन् र पटकपटक भेटेर मधुमेहको मात्रा हेर्ने गर्छन् । तर एक पटक मधुमेहको मात्रा स्थिर भएपछि हरेक तीनदेखि ६ महिनामा सम्बन्धित चिकित्सकलाई भेट्न सकिन्छ ।

खाली पेटमा सुगर जाँच, पोस्ट–प्रान्डियल सुगर र एचबीएवानसी प्रत्येक तीन महिनामा जाँच गर्ने, कोलेस्टेरोलको स्तर र मिर्गौलाक कार्यहरू प्रत्येक ६ महिनामा जाँच गर्ने र आँखा, मुटु र अन्य परीक्षणहरू वार्षिक रूपमा गर्न सकिन्छ । प्रत्येक भ्रमणमा रक्तचाप र खुट्टाको जाँच गराउनुपर्छ । यी पक्षमा ध्यान दिए मधुमेह भए पनि स्वस्थ तरिकाले बाँच्न सकिन्छ ।

(वरिष्ठ मधुमेह तथा थाइराइडरोग विशेषज्ञ डा. श्रेष्ठ ललितपुरस्थित काठमाडौं मधुमेह तथा थाइराइड केन्द्रमा कार्यरत छन् ।)

मधुमेह विश्व मधुमेह दिवस
लेखक
डा. सन्दीपचन्द्र श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय