+
+
कभर स्टोरी :

गरिबी ६.४ म्याग्निच्यूड

भूकम्पले भन्दा पनि गरिबीले मार्‍यो जाजरकोट र रुकुमपश्चिमका १५४ जना ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० मंसिर १ गते २०:२६

(जाजरकोटबाट फर्किएर)

१ मंसिर, काठमाडौं । जाजरकोटको नलगाड–१, दल्लीमा रहेको नगरपालिकाको कार्यालय आसपास लस्करै कंक्रिटका घरहरू ठडिएका छन् । त्यही लहरमा रहेको स्थानीय होटल व्यवसायी रवीन्द्र गौतमको घरमा १७ कात्तिकको राति ११ः४६ मा गएको भूकम्पले कुनै क्षति गरेन ।

उनको घरसँगै जोडिएको डिल्लीबहादुर रावलको घरमा पनि असर परेको थिएन । तर, ठ्याक्कै सडक अगाडि घर भएका ७१ वर्षीय मालबहादुर मल्लले भने त्यहीबेला मुश्किलले ज्यान जोगाए । ढुंगा–माटोले बनेको उनको घर भूकम्पको पहिलो झट्काले नै लडायो ।

‘ब्युँझिंदा घरको ढुंगा र माटोले मलाई किचिसकेको थियो, पन्छाएर बल्लतल्ल निस्किएँ’ उनले भने, ‘अगाडितिरका पक्की घरहरू सद्दे नै थिए, मेरो चाहिं पूरै भत्किसकेको थियो ।’

भूकम्प आएलगत्तै रवीन्द्र उद्धारका लागि निस्किएका थिए । ‘हामी पुग्दा उहाँ आफैं पन्छाएर निस्किसक्नुभएको थियो’ उनले अनलाइनखबरसँग भने, ‘बजारमा भएका पक्की घरहरू केही भएका थिएनन्, ढुंगा–माटोका अधिकांश घर भत्किए ।’

मल्लले त्यो घर बनाएको झण्डै दुई दशक पुग्न लागिसकेको थियो । ‘नयाँ बनाउन पैसा थिएन, पुरानोमा जसोतसो चलिरहेको थियो’ मल्ल भन्छन्, ‘अब टाउको लुकाउने त्यही ठाउँ पनि रहेन ।’ आजभोलि उनी भत्किएको घरको आँगनमा पाल टाँगेर रात कटाइरहेका छन् ।

नलगाड नगरपालिकाको वडा नं. १ मै पर्ने चामाखेतमा भगवती परियारले घर बनाएको एक दशकभन्दा बढी भइसकेको थियो । भेरी किनारबाट ढुंगा ल्याएर बनाएको एकतले घरले जेनतेन चलिरहेकै थियो ।

तर, छिमेकीले केही वर्षअघि त्यस्तै घरमा दुई वटा तला थपे । भगवतीलाई पनि लाग्यो, ‘आफ्नोमा पनि तला थप्न पाए, पाहुना आउँदा सहज हुन्थ्यो !’

तला थप्दा मात्रै पनि १० लाख रुपैयाँभन्दा बढी खर्च भयो । तर, १७ कात्तिकमा गएको भूकम्पले त्यसलाई थेग्न सकेन । मध्यराति गएको भूकम्पले उनको घरमा सुतेका ५ जनाको ज्यान लियो ।

छोरी सविता परियार (३८), विष्णु परियार (१५) र सन्दीप सुनार (सविताका १८ महिने छोरा) सुतेकै ठाउँमा बिते । त्यो दिन छिमेकी २८ वर्षीया विन्दु लामा पनि आफ्नो ९ वर्षीया छोरी विपना लामा सहित पाहुना आएकी थिइन् । दुवै जना त्यहीं बिते ।

पछिल्लो १२ वर्षमा गएका भूकम्पहरुसँग तुलना गर्दा जाजरकोट भूकम्प म्याग्निच्यूडका हिसाबले सानो हो । तर, केन्द्रविन्दु आसपास ढुंगामाटोले बनेका कच्चा घरहरु धेरै हुँदा सानो भूकम्पले पनि १५४ जनाको ज्यान लियो ।

गहिरो निद्रामा रहेका बेला भूकम्पले हुत्याएर आँगनतिर फ्याँकिदिएपछि बचेका समीर परियार ढुंगा–माटो पन्छाएर निकालुञ्जेलमा सबैको मृत्यु भइसकेको बताउँछन् ।

‘मलाई पनि माथिबाट आएको ढुंगाले लागेको थियो, घरतिर हेर्दा सबै गल्र्यामगुर्लुम ढलिसकेको थियो’ उनले सम्झिए, ‘एकैपटक अरू दौडिंदै आउन थालेपछि मात्र होशमा आएको थिएँ ।’

नजिकै रहेको पक्की घर भने जस्ताको तस्तै थियो । छिमेकी वीरेन्द्र पुन मगरका अनुसार, भारतमा मजदूरी गरेर फर्किएको पैसाले त्यो घर बनेको थियो ।

‘त्यो मेरो नजिकैको घर हो, त्यो पक्की घरमा आजभोलि कोही मान्छे बस्थेनन्’ मगरले अनलाइनखबरसँग भने, ‘उनीहरू नयाँ घरमा ताल्चा ठोकेर फेरि मजदूरी गर्न भारततिरै गए ।’

त्यो घर बनाउन ४० लाख रुपैयाँ खर्च भएको स्थानीय बताउँछन् । वीरेन्द्र स्वयंको पनि ढुंगा–माटोले बनेको घर बस्न नमिल्ने गरी भत्किएको छ ।

उनले केही समयअघि शौचालय चाहिं ढलान गरेर बनाएका थिए । अहिले त्यसकै छतमा सिरक–डसना राखेर रात कटाइरहेका छन् । ‘धन्न यो चाहिं पक्कीको बनाइएछ, नभए पूरै पालको बास हुन्थ्यो’ मगरले भने, ‘जसोतसो रात कटिरहेको छ ।’

सिंगो गाउँमा रहेका ४० घरपरिवार पालमुनि बसिरहँदा आफू शौचालयमाथि बस्न पाएको समेत उनी हर्ष व्यक्त गर्छन् । ‘गाउँमा सबैले कि मजदूरी गर्ने हो कि खेतीपाती’ पुन भन्छन्, ‘त्यसबाट जसोतसो खान मात्र पुग्छ, कसरी बनाउनु पक्की घर ?’

पक्की घर बनाउन सकेको भए गाउँमा त्यति धेरै क्षति नहुने उनी स्वयंको पनि मूल्यांकन छ । स्थानीय राजनीतिकर्मी केशवप्रसाद शर्माका अनुसार, चामाखेतमा मात्रै ४५ वटा घर छन् । तीमध्ये अधिकांश घर बगरबाट ल्याएको ढुंगा र माटोले बनेका थिए । ‘अहिले कुनै बस्ने लायक छैनन्, म त धन्न मानवीय क्षति कम भयो भन्छु’, शर्माले भने ।

जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीको इम्ले गाउँमा भूकम्पले भत्काएको घर अगाडि प्रेमकली विक । उनीसहित घरमा ६ जना सुतेकोमा चार जनाको मृत्यु भएको थियो ।

सानोभेरी गाउँपालिका–४, रुकुमपश्चिमका रामबहादुर खड्काले १४ वर्षअघि बल्लतल्ल दुई तलाको घर बनाएका थिए । ढुंगा–माटोले प्लास्टर गरेर बनाएको घर भूकम्पले एकैझट्कामा ध्वस्त पारिदियो । कक्षा ८ मा पढ्ने उनका छोरा निर्जल खड्का ढुंगाले किचिएर बिते ।

२६ वर्षीय श्रीमती नविता खड्काले अर्का ४ वर्षीया छोरा लविसलाई काखमा च्यापेकी थिइन् । भूकम्पले हल्लाउने वित्तिकै घोप्टो परेर बच्चालाई जोगाइन् । आफू घाइते भइन् । रामबहादुर चाहिं त्यो दिन रातिको ड्यूटी भएकाले काममा थिए ।

‘म लक्ष्मी सनराइज बैंकमा सुरक्षागार्ड छु’ रामबहादुरले अनलाइनखबरसँग भने, ‘फर्किंदा नयाँ मान्छेले हेर्ने हो भने त्यहाँ पनि घर थियो र भन्ने स्थिति भइसकेछ ।’

सानोभेरी गाउँपालिका–२ की पुष्पा महतरा पुनको पनि ढुंगा–माटोले छाएको घर थियो । ‘घर बनाएको एक वर्ष मात्र भएको थियो, जगैदेखि भत्कियो’ उनी भन्छिन्, ‘फेरि कसरी बनाउने हो, टुंगो छैन ।’

नेपालगञ्जको भेरी अस्पतालमा २२ कात्तिकमा भेटिएकी उनी घाइते छोरा ५ वर्षीय सुशान्त पुन मगरको कहिले डिस्चार्ज हुन्छ र घर फर्किने भन्ने हतारोमा थिइन् । सुरुमा उनले भत्किएको घर र आफन्त गुमाएको प्रति सोच्नै पाएकी थिइनन् ।

तर, जब छोरा सुरक्षित भएर महतराको गाउँघर फर्किने दिन नजिकिंदै थियो, उनको चिन्ता पनि त्यति नै बढ्दो थियो । भूकम्पबाट बचेर उनी घर त फर्किंदै थिइन्, तर पुग्दा उनका प्रियजनहरू गाउँमा बाँकी थिएनन् । फेरि कसरी घर बनाउने भन्ने चिन्ता त छँदैथियो ।

ढुंगा–माटोका अधिकांश घरमा क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार, जाजरकोटको लामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोटमा मात्रै ९ हजार ७९४ घरमा पूर्ण क्षति पुर्‍याएको छ । २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण र ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार, त्यसमा कंक्रिटका घरहरू नगन्य छन् ।

‘अधिकांश घर ढुंगा–माटोको प्रयोग गरेर बनाइएका छन्’ उनले भने, ‘कंक्रिटका घरहरू प्रायः केही भएका छैनन् ।’

आंशिक क्षति भएका ढुंगा–माटोले बनाइएका घरहरू पनि बस्न लायक छैनन् । सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतका अनुसार, ढुंगा–माटोका घरहरूले कम्पन थेग्न नसक्दा बढी क्षति भएको हो ।

नलगाडमा मात्रै ६ हजार ९०० घरहरूमा सानो–ठूलो क्षति भएको छ । ‘तीमध्ये ९५ प्रतिशत कच्ची घर थिए, पक्कीमा भएको क्षति एकदमै सामान्य छ’ रावत भन्छन्, ‘यसले भूकम्पको झट्का सहने संरचना नै यहाँ रहेनछन् भन्ने सन्देश दिएको छ ।’

उनका अनुसार, नलगाडमा मात्रै भूकम्पबाट ५५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मानवीय क्षति वडा नं. १ मा भएको छ । त्यसपछि ३, ५ र ७ नम्बर वडा धेरै प्रभावित छन् ।

ती सबै स्थान भौगोलिक रूपमा पालिकाका सबैभन्दा विकट क्षेत्रमध्येमा पर्छन् भने यहाँ सहज सडक सम्पर्क समेत छैन । भूकम्पपछि गएको पहिरोका कारण त्यतिबेला उद्धार कार्यमा समेत कठिनाइ भएको नलगाडका प्रहरी निरीक्षक माधव चौधरी बताउँछन् ।

सानो भूकम्प, ठूलो क्षति

जाजरकोट भूकम्पको एक वर्षअघि डोटीमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । २२ कात्तिक २०७९ मा गएको यो भूकम्प जाजरकोटको भन्दा शक्तिशाली थियो । तर, ६ जनाको मात्रै मृत्यु भयो भने १३ जना घाइते भए ।

बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर एक महिनाअघि मात्रै पनि ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । १६ असोज, २०८० मा गएको भूकम्पमा एक जनाको मृत्यु र १२ जना घाइते भएका थिए ।

त्यसअघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर १२ वैशाख २०७२ मा शक्तिशाली भूकम्प गएको थियो । त्यसमा ८ हजार ५५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

ताप्लेजुङको कञ्चनजंघा हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर १ असोज २०६८ मा ६.९ म्याग्निच्यूडको भूकम्प जाँदा नेपाल र भारतमा गरेर १११ जनाको मृत्यु भएको थियो । त्यसमा २०० बढी घाइते भएका थिए ।

अर्थात्, बितेका १२ वर्षमा आएका भूकम्पहरूमध्ये जाजरकोटमा गएको भूकम्प तुलनात्मक रूपमा सानो र कमजोर हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीका अनुसार, ५ देखि ६ म्याग्निच्यूडको भूकम्पलाई सानै भन्ने गरिन्छ ।

‘हामी ६ देखि ७ म्याग्निच्यूडसम्मलाई मझौला भन्छौं, ७ देखिमाथि जाने वित्तिकै शक्तिशाली भूकम्प भन्ने गरिन्छ’ अधिकारीले भने, ‘त्यो हिसाबले हेर्दा प्राविधिक भाषामा मझौला प्रकृतिको भूकम्प हो, विगतसँग तुलना गर्ने हो भने यो सानो मध्येमै पर्छ ।’

यद्यपि, पछिल्लो १२ वर्षमा गोरखा भूकम्पपछि सबैभन्दा बढी मानवीय क्षति जाजरकोट भूकम्पमा भएको छ ।

हेर्नुस् इन्फोग्राफिक्स

नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत सामान्यतः ६.४ रेक्टर स्केलको भूकम्पले पूर्वाधारमा त्यति क्षति नगर्नुपर्ने भए पनि सानो भूकम्पमै नगर तहसनहस भएको बताउँछन् । भन्छन्, ‘हाम्रा घरहरूले भूकम्पको सानो झट्कालाई पनि थेग्न सकेनन् ।’

पहिले आएका भूकम्पभन्दा सानो र विज्ञहरूले पनि मझौला प्रकृतिको भनेको यो भूकम्पले किन धेरै क्षति भयो त ? जाजरकोट र रुकुमपश्चिम पुगेर फर्किएका सुदूरपश्चिम विश्वविद्यालयका डीन प्रा.डा. सुदीप ठकुरी भन्छन्, ‘ठूलो क्षतिको कारण भूकम्प मात्रै होइन, यो गरिबीसँग जोडिएको छ ।’

जाजरकोट र रुकुमपश्चिममा आर्थिक अवस्था राम्रो भएकाहरूले कंक्रिट संरचना बनाइसकेका थिए । सदरमुकाम आसपास बसेर राम्रो हैसियत भएकाहरू सुर्खेत र नेपालगञ्जतिर बसाइँ समेत झरिसकेका थिए ।

‘गाउँमा रहने भनेकै आर्थिक अवस्था कमजोर भएकाहरू, बालबालिका र महिला हुन्’ जिल्ला प्रहरी कार्यालय, रुकुमपश्चिमका डीएसपी सन्तोष रोका भन्छन्, ‘त्यसैले मानवीय र भौतिक संरचनाको हिसाबले पनि धेरै क्षति उनीहरूमाथि नै भयो ।’

गाउँमा बसेकाहरू अर्को घर बनाउन नसक्ने भएपछि ढुंगा–माटोले बनेको पुरानो घरमै जसोतसो गुजारा गरिरहेका थिए । ‘जाजरकोटका माथिल्ला भेगहरू त अझ दुर्गम छन्, बिजुली समेत नहुने ठाउँमा रातिको समयमा ढुंगा–माटोका घरहरू भत्किंदा धेरै क्षति भएको छ’ प्रा.डा. ठकुरी भन्छन्, ‘त्यसैले अहिले मृत्युको जुन आँकडा आएको छ, त्यसलाई भूकम्पले गरेको क्षति मात्रै मान्नुहुँदैन ।’

भूकम्प गएको दुई दिनपछि नलगाड नगरपालिका–१ स्थित चिउरी गाउँ पुग्दा ६० वर्षीया रति विकले पनि ‘गरिबलाई नै किन सबै थोक आइलाग्छ ?’ भन्दै अनलाइनखबरसँग विलौना गरिन् । उनले भनिन्, ‘सग्लो ज्यान बाहेक केही बचेन, केही बसाउन मिल्ने भाडाकुँडा पनि रहेनन् ।’

मृत्यु हुनेमा अधिकांश बालबालिका

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, जाजरकोट केन्द्रविन्दु भएको भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा बढी मानवीय क्षति नलगाड नगरपालिकामा भएको छ ।

सन् २०२१ मा भएको जनगणनाको प्रतिवेदन अनुसार, नलगाड नगरपालिकाका ५ हजार ९९२ घरधुरीमध्ये ९५.३ प्रतिशत ढुंगा–माटोले बनेका छन् । २.३ प्रतिशत मात्रै सिमेन्टले बनेका छन् भने १.५ प्रतिशत घरमा मात्रै आरसीसी पिलर छन् ।

०.७ प्रतिशतमा काठ र बाँसको खम्बा प्रयोग भएका छन् । तीमध्ये ५३.६ प्रतिशतको घरको छानोमा ढुंगा वा ढुंगाको स्लेट प्रयोग भएका छन् । जिल्ला रेडक्रस सोसाइटी, जाजरकोट शाखाका सदस्य चित्रबहादुर शाहीका अनुसार, छानोमा रहेको ढुंगा र स्लेट भूकम्पले घर भत्काउँदा खसेका कारण समेत धेरैको मृत्यु भएको छ ।

‘छतमा ढुंगा राख्नु आफैंमा जोखिमपूर्ण हो भन्ने यसले देखाएको छ, अर्को कुरा पछिल्लो समय पनि भूकम्प प्रतिरोधी घर बनिरहेका छैनन् भन्ने देखिएको छ’ शाही भन्छन्, ‘किनकि, एक वर्षअघि मात्रै घर बनाउनेहरू पनि पालमा आइपुगेका छन् ।’ मृत्यु हुनेमा अधिकांश महिला र बालिका छन् ।

हेर्नुस् इन्फोग्राफिक्स

जिल्ला प्रहरी कार्यालय, जाजरकोट र रुकुमपश्चिमबाट प्राप्त मृतकहरूको विवरण हेर्दा भूकम्पमा परेर मृत्यु हुनेमा १८ वर्षमुनिका मात्रै ८१ जना छन् । १८ देखि ४० वर्ष उमेर समूहका ३५, ४० देखि ६० का २२ र ६० वर्षभन्दा बढीका १६ जना गरेर १५४ जनाको मृत्यु भएको छ ।

कर्णालीका अधिकांश युवा मजदुरीका लागि भारततिर जाने भएकाले उनीहरू घरमा थिएनन् । ‘कर्णालीमा पुरुषहरू प्रायः मजदुरीका लागि गाउँबाट बाहिरतिरै गएका भेटिन्छन्’ कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल भन्छन्, ‘भूकम्प गएका बेला पुरुषहरू घरमा नभएकाले पनि मृत्यु हुनेमा धेरै महिला र बालबालिका परे ।’

ज्यान गुमाएका १५४ जनामध्ये ६४ जना क्षेत्री, ६१ जना दलित, २३ जना जनजाति र ६ जना ब्राह्मण समुदायका छन् ।

राति भूकम्प जानु दुर्भाग्य

भूकम्पबाट धेरै मावनीय क्षति हुनुको कारण जोखिमयुक्त संरचना त हो नै, सँगै रातिको समयमा भूकम्प जानु पनि एक कारण हो । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको राष्ट्रिय आवास तथा वस्ती उत्थानशील समन्वय मञ्चका प्राविधिक संयोजक रिजन गजुरेलका अनुसार, यसअघि ठूला भूकम्पहरू प्रायः दिउँसो गएका थिए ।

‘तर जाजरकोट केन्द्रविन्दु भएको भूकम्प मध्यराति गयो, जतिबेला अधिकांश गहिरो निद्रामा थिए’ जाजरकोट र रुकुमको स्थलगत अध्ययन गरेर फर्किएका गजुरेलले भने, ‘त्यसैले पनि धेरै मानिस सुतेका ठाउँमै मारिए ।’

उनका अनुसार, पश्चिम नेपालका पहाडी भेगमा घर बनाउँदा स्वीकृति लिने वा भूकम्प प्रतिरोधी बनाउने भन्ने आम मानिसमा सोच नै छैन । ‘लामो समयदेखि पश्चिममा भूकम्प नगएकाले पनि त्यस्तो भएको हुनसक्छ’ उनी भन्छन्, ‘स्थानीय तहले पनि लगत राखेको छैन, भूकम्प जान्छ भन्ने पनि कतिपयलाई वास्ता भएको देखिन्न । त्यस्तोमा सचेतनाको पनि कमी भएको देखिन्छ ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीका अनुसार, नदीछेउ रहेका बस्तीहरूमा क्षति बढी भएको देखिन्छ ।

भूकम्पले क्षतिग्रस्त घर अगाडिबाट शव निकालिँदै ।

‘रावत गाउँ, रिम्ना लगायत घरहरू हेर्नुभयो भने त्यहाँ खोलाबाट ल्याएका चिल्ला र गोला ढुंगाहरू प्रयोग भएका छन्’ अधिकारी भन्छन्, ‘त्यसलाई बाँध्ने काम कतैबाट भएको देखिन्न । बीचमा खाली राखेर दुईतिर त्यही ढुंगाको गारो लगाएको देखिन्छ ।’ बगरमा भूकम्पले ल्याउने तरंगको शक्ति एम्लिफाई (बढ्ने) समेत हुने अधिकारी बताउँछन् ।

‘नदीछेउका घरहरूमा धेरै क्षति हुनुको अर्को कारण त्यो पनि हो, बलौटे माटोमा ढुंगा वेवहरू विस्तारै फैलिने हुँदा त्यसको शक्ति बढ्छ’ उनी भन्छन्, ‘सामान्य रूपमा बुझ्दा घनत्व बढी भएको ठाउँमा भूकम्पको तरंग छिटो जान्छ, कम भएको ठाउँमा तरंगको कम्पन धेरै समयसम्म रहन्छ भनेर बुझ्नुपर्छ ।’

यसरी चट्टान भएको ठाउँमा कम्पन छिटो सकिने तर बलौटे स्थानमा लामो समयसम्म रहने हुँदा पनि क्षति बढी भएको उनी बताउँछन् । नलगाड नगरपालिकाको वडा नं. १ मा मात्रै ५४ जनाको मृत्यु भएको थियो । त्यहाँ भिरालो स्थानमा घरहरू हुँदा समेत क्षति बढी भयो ।

नेपाल इञ्जिनियरिङ एसोसिएसनका महासचिव रविभूषण झाका अनुसार, स्थानीय निकायले पनि घरहरूको संरचनाबारे निरीक्षण र निगरानी गर्न नसक्दा परिस्थिति अझै जोखिमयुक्त भएको हो ।

‘म आफैं पनि भूकम्प प्रभावित जिल्लामा पुगेर आएँ ९० प्रतिशतभन्दा बढी घरहरू इञ्जिनियरिङका हिसाबले बस्न उपयुक्त छैनन्’ उनले भने, ‘आरसीसीका न्यूनतम मापदण्ड पूरा गरेका घरहरू पूरै सुरक्षित छन् ।’

भूकम्पको केन्द्रविन्दु लामीडाँडामा राम्रा ढुंगा र काठका घरहरू भएकाले अन्यत्रको तुलनामा कम क्षति भएको उनले बताए ।

‘गोलो ढुंगाले धेरै क्षति गराएको छ, तर लामीडाँडामा त्यस्ता ढुंगाहरू कम मात्रै प्रयोग भएका देखिए’ उनले भने, ‘त्यसैले पहिले सबैमा इञ्जिनियरिङको महत्वबारे पनि जनचेतना फैलाउनु समेत जरूरी छ ।’

तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

इन्फोग्राफिक्सः अरुण कार्की/अरुण देवकोटा

भिडियोमा हेर्नुस् जाजरकोट सदरमुकाम

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?