+
+

नेपाली अर्थतन्त्रको उज्यालो पाटो

हामीले हिम्मत हार्नुहुन्न । आफ्ना सबलता र सम्भावनाहरू आफैंले केलाएर अघि बढ्न जरूरी छ । विकास र समृद्धि, अवसर र खुशीहरू विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ ।

रिसव गौतम रिसव गौतम
२०८० मंसिर ३ गते १६:२४

कतिपयले नेपालको अर्थतन्त्र खत्तम भयो, डुब्नै लाग्यो, अब देशको भविष्य छैन भनिरहेका छन् । अलिअलि अल्पकालीन प्रभाव पार्ने तथ्यांक समेत प्रस्तुत गरेर अर्थतन्त्रको चित्रण गरिएका छन् । अर्थतन्त्रबारे खुद्रा घटना, तथ्यहरूमा टेकेर अपुरा बहसहरू छेडिएका छन् । समग्रतामा हेरेर, विश्व परिवेश नियालेर होलसेलमा बहसहरू भएका छैनन् ।

नेपालको विकास, अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यबारे व्याख्या, विश्लेषण गर्दा धेरै विषय नियाल्न जरूरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्याङ्कन गरेर मात्र हुँदैन, बाह्य परिवेशलाई पनि दृष्टिगोचर गर्न सक्नुपर्छ ।

नेपाल आफैंमा प्रकृति पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत्, कृषिमा सबल देश हो । हाम्रो जनसंख्या र भूगोलको संयोजन मिलेको छ । जनसंख्या भूगोल अनुसार धेरै नभएको हिसाबले हामीले चाहँदामा कृषि, फलफूल तथा दूध, माछा मासुमा सजिलै आत्मनिर्भर हुन सक्छौं । तर, हामीसँग नभएको भनेको आत्मविश्वास र जाँगर हो । हामी विदेशमा पैसाका बोटहरू देख्छौं, खुशीहरू देख्छौं, सम्पन्नता देख्छौं तर आफ्नै कञ्चन हावापानी भएको स्वर्गतुल्य देशमा केही देख्दैनौं ।

हामीलाई आफ्नो देशमा काम गर्न, श्रम गर्न लाज लाग्छ । परदेशमा दुई–चार डलरमा थाल प्लेट टिप्न, बाथरुम सफा गर्न ड्युटी गएको मान्छौं । जेसुकै होस् जहाँसुकै होस् काम गर्नु सर्वदा महानता हो । तर हामी स्वदेशमा केही गर्दैनांै, विदेशमा सबै गर्छौं । त्यसैले हो, हामी पछि परेको ।

नेपाल सबै दृष्टिकोणले हेर्दा उज्ज्वल आर्थिक, सामाजिक भविष्यको शिरमा छ । नेपाल खत्तम भो, विकास भएन, यो भएन, त्यो भएन भन्नु निराशावादी चिन्तन बाहेक केही होइन । पुर्खाले गौरव गाथा गाएर बाँचेको यो देशमा कतिन्जेल हामीले यो भएन, त्यो भएन मात्र भन्ने ? हामीले कतिन्जेल आफ्नो प्रकृतिले सिंगारिएको हरियाली देशलाई पूँजीवादले मडारिएको, भावना रित्तिएर यन्त्र मानवले चलाउन थालेको अमेरिका, युरोपका देशहरूसँग तुलना गर्ने ?

हो, अमेरिका र युरोपमा भएको कुरा हाम्रोमा छैन तर नेपालमा भएका चिज पनि उनीहरूसँग छैन । हामीसँग सर्वाेच्च शिखर सगरमाथा छ, सयौं हिमनदी छन् । महाभारत पर्वतहरू छन् जुन उनीहरूका ट्वीनटावर भन्दा कम छैनन् नि ! मानवमैत्री पर्यावरण छ । अग्र्यानिक हावापानी छ । गौतम बुद्धले छरेका ज्ञानका बिजहरू छन् । अमेरिका, युरोप वा एशियाकै अरू देशहरूसँग नभएका धेरै प्रकृतिप्रदत्त बहुमूल्य चिजहरू हामीसँगै छ । तैपनि, हामी केही नभए जस्तो, खाली अर्काकै तिर कर्केनजर लगाउँछौं ।

हामीले कुनै नवीनतम उद्यम थाल्ने हो भने, कृषि गरिरहेका छौं भने त्यसलाई अझ विस्तारित र व्यावसायिक बनाउन लागिपर्ने हो भने, आन्तरिक बजारले आफ्ना उत्पादनहरू खपत गरेनन् भने बाह्य बजारको लागि पहल गर्ने हो भने धेरै गर्न सकिन्छ । आजको सूचना, सडक सञ्जाल, हवाई सञ्जालको भूमण्डलीकरणको दुनियाँमा हामीलाई पनि विश्वव्यापी अवसर छ । तर त्यो अवसर चिन्न सक्नुपर्छ । चिन्नेहरूले अरूलाई पनि चिनाउनुपर्छ ।

अहिले चीनमा उत्पादित वस्तुले विश्व बजारको १० प्रतिशत हिस्सा ओगटेको छ । नेपालले चीनले जस्तै आफ्ना अग्र्यानिक उत्पादनहरूलाई विश्वमाझ पु¥याउन किन सक्दैन ? अवश्य सक्छ । त्यसकारण नेपालमा केही त्यस्ता आधार छन् जसले भविष्यको उज्यालो पाटो उजागर गर्दछ ।

सन्तुलित जनसंख्या

२०७८ सालको जनगणना रिपोर्ट अनुसार नेपालमा अहिले २ करोड ९१ लाख ६४ हजार जनसंख्या रहेको छ । २०६८ को तुलनामा पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतबाट घटेर ०.९२ प्रतिशत वृद्धिदरमा सीमित भएको छ । यस खालको जनसंख्या रिपोर्टलाई लिएर मिश्रित खालका प्रतिक्रिया छन्, कतिले यसलाई राम्रो मानेका छन् त कतिपयले नराम्रो । हुन त विश्वव्यापी रूपमै पछिल्ला वर्षहरूमा जनसंख्या वृद्धिदर खुम्चिएको छ ।

बजार माग सिर्जना र आर्थिक गतिविधिको विस्तारको दृष्टिले जनसंख्या वृद्धिदर खुम्चनुलाई एलन मस्क जस्ता विश्वकै धनीहरूले चिन्ताको विषय मानिरहेका छन् । लगानी र वित्तीय सेवा प्रदायकको रूपमा विश्व प्रसिद्ध अमेरिकी संस्था गोल्डम्यान सर्चले गरेको भविष्यवाणी अनुसार सन् २०७५ मा पुग्दा अहिलेका बढी जनसंख्या भएका देशहरू नै क्रमशः धनी हुने सूचीमा छन् ।

गोल्डम्यान सचका अनुसार सन् २०७५ मा चीनको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर, युरो एरियाको ३०.३ ट्रिलियन डलर र जापानको अर्थतन्त्र ७.५ ट्रिलियन डलरको हुनेछ । यसरी जनसंख्यामा धनी देशहरू नै अबको विश्वमा आर्थिक रूपले सुपरपावर बन्दैछन् भनेर गोल्डम्यान सच जस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने विश्वकै नामुद कम्पनीको दाबी छ ।

त्यस हिसाबले भन्दा नेपालको जनसंख्या वृद्धिदर घट्दै जानु चिन्ताकै विषय होला । समृद्धिको हिसाबले पनि नेपालमा फेमिली प्लानिङमा दीर्घकालीन योजना आउन जरूरी छ । २०७८ को जनसंख्याको संरचना हेर्दा नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अबको ३५ वर्ष नेपालको जनसांख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने हिसाबको वयस्कहरूको वर्चस्वको अवस्था छ ।

जस्तो कि छिमेकी मुलुक बंगलादेशको भू–भाग १ लाख ४७ हजार ५७० वर्ग किमी रहेको छ । बंगलादेशको जनसङ्ख्या भने १७ करोड नाघिसकेको अवस्था छ । तर लगभग त्यति नै भूभाग (१ लाख ४७ हजार १८१ वर्ग किमी क्षेत्रफल) रहेको नेपालको जनसङ्ख्या ३ करोड भन्दा तलै हुनु उति नराम्रो त होइन । तर समृद्धिको हिसाबले पनि जनसंख्यालाई केही बढाउँदै लैजानुपर्ने नेपालको आवश्यकता छ ।

जलविद्युतमा उज्यालो दृश्य

जलविद्युत् नेपालको समृद्धिको लागि सबैभन्दा ठूलो आधारशिला हो । खासगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नै नेपालले भगीरथ प्रयत्नहरू गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि जलविद्युत् कम्पनीहरूमा ठूलो लगानी गरिरहेका छन् । धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा नै केन्द्रित रहेको छ ।

अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको जिकिर छ । हाल २८ सय मेगावाट बिजुली उत्पादन गरिरहँदा देशले वार्षिक १६ अर्बको बिजुली निर्यात गर्न थालिसकेको छ । करिब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्रमा कम्तीमा १२–१५ हजार मेगावाट बिजुली उत्पादन गर्न अवश्य सकिन्छ ।

निर्माणाधीन केही आयोजनाहरू सम्पन्न हुने क्रममा छन् । सयौं आयोजना निर्माणको क्रममा छन् । कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुली मात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०–४२ अर्ब डलरको जीडीपीलाई ठ्याक्कै डबल अर्थात् ८०–८५ अर्ब डलरको बनाउन सकिनेछ । त्यसमा सम्भावना भएको पर्यटन क्षेत्रको उत्तिकै योगदान रहन सक्छ ।

हालैको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भारतसँग आगामी १० वर्षमा दश हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रारम्भिक सम्झौता गरिसकेका छन् । भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरू विकल्प नगन्य रहेको बताइन्छ । त्यसकारण पनि भारत अबका दिनमा बिजुलीमा नेपाल निर्भर रहनुपर्ने देखिन्छ ।

चीनले पनि नेपालसँग विद्युत् खरिद गर्ने संकेत प्रचण्डको भ्रमणमा दिइसकेको छ । बंगलादेशसँग सन् २०४० सम्ममा १० हजार मेगावाट बिजुली खरिद गर्ने गरी कुरा अघि बढिसकेको छ । यसरी नेपालको बिजुलीको बजार उज्ज्वल छ । मात्र हामीले निर्माणाधीन आयोजनाहरूलाई शीघ्र सम्पन्न गराउन र विद्युत् उत्पादन, प्रसारण लाइन विस्तार आदिका लागि आवश्यक लगानीहरूको जोहो गर्ने जरूरी छ ।

राष्ट्रिय गौरवका आयोजना

नेपालमा हाल २४ वटा राष्ट्रिय स्तरमा सघन महत्व राख्ने गौरवका आयोजना छन् । ती आयोजनामा वित्तीय स्रोत विनियोजनमा सरकारले प्राथमिकता दिएर कार्यान्वयनमा अनुगमन गर्दै आएको छ । यसमा रहेका केही ढिलासुस्तीलाई सच्याउन जरूरी छ । तर समृद्धिमा ठूलो सरोकार राख्ने राष्ट्रिय गौरवका आयोजना निर्माण भइरहेकोले देशको सुदूर भविष्य उज्ज्वल देखिन्छ । अहिले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको लागत १८ खर्ब ९५ अर्ब पुगेको अवस्था छ ।

मुलुकको आर्थिक, सामाजिक रूपान्तरण, पूँजी निर्माण, रोजगारी सिर्जना र प्रादेशिक सन्तुलनमा तिनले बहुआयामिक महत्व राख्छन् । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत्, मेलम्ची आयोजना, काठमाडौं–निजगढ फास्ट–ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा र बबई सिंचाइ जस्ता गौरवका आयोजनाहरूले पनि नेपालको समृद्धिमा गतिलै प्रभाव पार्न सक्छन् । तर सुस्त गतिमा भइरहेको निर्माण कार्यलाई सरकारले तीव्रतामा दौडाउन जरूरी छ ।

पर्यटनमा सम्भावना

नेपाल संसारकै एक सुन्दर प्राकृतिक देश हो । त्यो हामीले भनेका होइनौं, अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित संस्थाहरूले नेपाल पर्यटकीय हिसाबले प्रमुख १० गन्तव्यभित्र पर्ने उल्लेख गर्दै आएका छन् । तर पनि हामीले पर्यटकलाई बोलाउन, आतिथ्यता गराउन सकेका छैनौं ।

संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथा सहित १४ ठूला हिमशृङ्खला नेपालमै छन् । आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वतहरू नेपालमै छन् । विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पक्षीहरू नेपालमै पाइन्छन् । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू हेर्न नेपालमै आउनुपर्छ ।

वर्षैभरि अविच्छिन्न बगिरहने नदीहरूले जताततै जुलूस निकालिरहेका छन् । सयौं भाषा, भेष र संस्कृति यहीं छन् । फरक–फरक जलवायु यहीं छ । अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन् ।

नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने र आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लैजाने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ । विदेशी मुद्राको दुःख हुने छैन ।

पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ४०० विलियन डलर लगानी भइसकेको छ । त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ । लगानी उच्च भएकै कारण चीनमा वर्षेनि १० करोड बढी पर्यटक भित्रन थालिसकेका छन् । त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको अवस्था छ । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ ।

त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्य नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा गर्छ । पर्यटनमैत्री वातावरण निर्माण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, युके लगायत मुलुकहरू पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुक रहँदै आएका छन् । नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ । होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समृद्धिको उज्यालो देखिन थालेको छ ।

कृषि

नेपालको कुल गार्हस्थ्य उत्पादनमा हिजोआजका वर्षहरूमा (२०७८/७९) समेत कृषिले नै २३.९५ प्रतिशत योगदान राखेको केन्द्रीय तथ्याङ्क विभागको अभिलेख छ । अर्थात् अन्य क्षेत्रहरूको तुलनामा यस क्षेत्रले रेमिट्यान्स पछि सबैभन्दा बढी योगदान राख्दै आएको छ । कृषिमा आश्रित जनसंख्या घटेर ५० प्रतिशतमा आइपुग्दा कुनै बेला कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशतसम्म योगदान राख्ने कृषि क्षेत्रको योगदान अहिले खुम्चिएको हो ।

हिजोआजका वर्षहरूमा नेपाल कृषिमा परनिर्भर भइरहँदा वार्षिक करिब ४ खर्बको कृषिजन्य वस्तुको आयात गर्न थालेको छ । तर आधा भन्दा बढी कृषियोग्य जमिनहरू बाँझो रहेको अवस्था पनि छ । सरकारले कृषिमा लगानी बढाएर सबै कृषियोग्य जमिनमा कृषि गर्ने वातावरण बनाउने हो भने कृषिमा देश आत्मनिर्भर हुनसक्छ । जसबाट विदेश गइरहेको पैसा रोकिनेछ र त्यसले पनि देशको आर्थिक समृद्धिमै टेवा दिनेछ ।

छिमेकका ठूला बजार

नेपालको औद्योगिक उत्पादन, पानी, औषधि, जडीबुटी तथा बहुमूल्य हिमाली वस्तुहरूको विशाल विदेशी बजार भारत तथा चीन नै हुन् । हामी उनीहरूकै विशाल आँगन नजिक छौं र त अग्र्यानिक उत्पादनहरूले बजार पाउन सहज छ । तर, नेपालमा कृषिमा आधारित, जल तथा जडीबुटीमा आधारित उद्यमीहरू जन्माउन जरूरी छ । त्यसमा लगानी बढाउन जरूरी छ । बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ ।

यत्ति हो, हामीले हिम्मत हार्नुहुन्न । आफ्ना सबलता र सम्भावनाहरू आफैंले केलाएर अघि बढ्न जरूरी छ । विकास र समृद्धि, अवसर र खुशीहरू विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ । नेपालको आर्थिक भविष्य उज्ज्वल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?