+
+
फिफा विश्वकप छनोट :

यमनविरुद्ध नेपाल : जितविहीन यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ११:०७

५ मंसिर, काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ को खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा हुँदैछ ।

नेपालले आफ्नो घरेलु मैदानका रूपमा यमनविरुद्ध दशरथ रंगशालामा खेल्न लागेको यो पहिलोपल्ट हो । त्यसको अघिल्लो दिन आयोजित पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले स्वीकारेका छन्, ‘यमनविरुद्ध नेपाली टिमको प्रदर्शनको इतिहास राम्रो छैन ।’

नेपालका लागि यमन यस्तो प्रतिद्वन्द्वी हो, जसकाविरुद्ध नेपालको अहिलेसम्मको यात्रा जितहीन रहेको छ । नेपालका लागि यमन दोहोर्‍याएर सामना गरिरहनुपर्ने टिम भने होइन ।

नेपालले अहिलेसम्म चारपल्ट यमनको सामना गरेको छ । यी खेलमा नेपालको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै बराबरी रहेको छ । त्यस अर्थमा नेपालसामु ऐतिहासिक अवसर छ  यमनलाई आफ्नो घरेलु मैदानमा पहिलोपल्ट हराउने ।

नेपाल र यमनबीच अहिलेसम्म भएको चार खेलको छोटकरी विवरण यस प्रकार छ –

१. सन् २००० फेब्रवरी १०, एसियाकप छनोट (कुवेत सिटी) ०-३

नेपालले यमनविरुद्ध सबैभन्दा खेलेको सन् २००० मा हो । एसियाकप छनोटका क्रममा नेपालले कुवेत सिटीमा भएको खेलमा यमनको सामना गरेको छ । त्यस खेलमा यमन सजिलै ३-० ले विजयी रह्यो ।

काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेलगत्तै नेपालले यो एसियाकप छनोट खेलेको थियो ।

छनोटमा नेपालको पहिलो खेल नै यमनविरुद्ध थियो र टिम सुखद सुरुआत लिन असफल रह्यो । त्यति बेला नेपाली टिमका कप्तान थिए, उपेन्द्रमान सिंह । अनि प्रशिक्षक थिए, स्टेफन कन्सटाइनटिन ।

२. सन् २०१४ मार्च २५, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल (दोहा) ०-३

नेपालले १४ वर्षपछि सन् २०१४ मा फेरि यमनविरुद्ध खेल्ने अवसर पाएको थियो । जुन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल थियो ।

कतारको दोाहामा भएको उक्त खेलमा पनि नेपालको प्रदर्शन राम्रो भएन । यमन ३-० ले विजयी भयो । त्यति बेला नेपाली टिमका प्रशिक्षक थिए, राजु शाक्य । खेलपछि उनले नेपाली टिमको प्रदर्शनमा निराशा पोखेका थिए ।

नेपालले सागर थापाको कप्तानीमा खेलेको थियो । किन हो, नेपाली खेलाडीले त्यस खेलमा सक्दो पनि खेल्न सकेन् ।

३. सन् २०१७ जुन १३, एसियाकप छनोट (काठमाडौं) ०–०

नेपालले यमनविरुद्ध निकालेको अहिलेसम्मकै सबैभन्दा राम्रो स्कोर भन्नु नै यही गोलरहित बराबरी हो ।

नेपालले एसियाकप छनोटमै यमनको समाना गरेको थियो । छनोटमा चार टिम थिए र खेल ‘होम एन्ड अवे’ को आधारमा भएको थियो ।

नेपालले आफ्नो ‘होम म्याच’ हलचोकको सातदोबाटोको मैदानमा खेलेको थियो, किनभने त्यति बेला दशरथ रंगशाला पुनर्निर्माणबाट गुज्रिरहेको थियो । त्यति बेला प्रशिक्षक थिए, ग्योतुकु कोजी । अनि कप्तान विराज महर्जन ।

४. सन् २०१८ मार्च २७, एसियाकप छनोट (कतार सिटी) १-२

नेपालले त्यही एसियाकप छनोटमा यमनको दोस्रो पल्ट सामना गरेको थियो । नेपालका लागि यो ‘अवे म्याच’ थियो र यस खेलको आयोजना गरेको थियो, कतार सिटी ।

यमनले आन्तरिक द्वन्द्वका कारण आफ्नो देशमा नेपालको आतिथ्य गर्न सकेको थिएन् । प्रशिक्षकमा ग्योतुकु कोजी र कप्तानमा विराज महर्जन नै थिए । यसमा पनि यमन २-१ ले विजयी भयो । यो खेलमा नेपालले यमनविरुद्ध पहिलो गोल निकाल्नु नै सबैभन्दा ठूलो उपलब्धि भयो । त्यसबेला नवयुग श्रेष्ठले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?