+
+
दुर्गा प्रसाईं समूहको आन्दोलन :

भिड जम्मा गर्न लघुवित्त र बैंकको ब्याज मिनाहाको प्रलोभन

मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका ७२ वर्षीय वुद्धिमान सुवेदी भन्छन्, ‘आन्दोलन किन गर्न लागेका हुन्, धेरै थाहा छैन । काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० मंसिर ६ गते २०:४१

६ मंसिर, काठमाडौं । ७२ वर्षका बुद्धिमान सुवेदी मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका छन् । लामो बस यात्रा गरेर उनी काठमाडौंं आइपुग्नुको कारण लघुवित्तको ऋणबाट छुटकारा पाइन्छ कि भन्ने झिनो आशा हो ।

बुद्धिमान लघुवित्तको मारमा परेका ऋणी हुन् । उनी बिहीबारदेखि काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा घोषणा गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गर्न लागेको आन्दोलनमा सहभागी हुन आएका हुन् ।

‘आन्दोलन किन गर्न लागेका हुन् धेरै थाहा छैन’, उनले भने, ‘काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’

क्यान्सरकी बिरामी श्रीमतीको उपचार गर्न २०७७ सालमा उनले एनआईसी एसिया, जीवन विकास र मिर्मिरे लघुवित्त बित्तीय संस्थाबाट गरी ९ लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा त्यो बढेर १५ लाख पुगेको छ । ‘जति तिर्दा पनि सकिएन’, उनले भने, ‘ऋण तिर्न नसकेपछि लघुवित्तका मान्छे घरमै आएर धम्क्याउन थाले । घर खाइदिन्छु भन्न थाले ।’

यही बेला कसैले उनलाई काठमाडौंमा मंसिर ७ गतेदेखि हुने आन्दोलनमा गए लघुवित्तको ब्याजबाट छुटकारा पाइन्छ भन्ने कुरा सुनायो । ‘आन्दोलनमा हिँडेपछि ब्याज तिर्न भनेर लघुवित्तले सताउन छोड्छ भन्ने सुनेर म यहाँ आइपुगेको हुँ’, उनले भने ।

कुनै समय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छत्रछायाँ पाएका, अहिले राजनीतिक नेतृत्वविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो पटक व्यवस्था बदल्ने आन्दोलन थाल्ने भन्दै मंसिर ७ मा काठमाडौं जाउँको नारा दिए । एमालेको युवा संगठनले पनि ७ गते माइतीघर मण्डलमै प्रदर्शन कार्यक्रम राखेपछि प्रसाई र महेश बस्नेतबीच जुहारी चल्यो ।

स्थानीय प्रशासनले भने एकै ठाउँमा कार्यक्रम गर्न नदिने नीति लियो र, माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेर युवा संघलाई तीनकुने र प्रसाई समूहलाई बल्खुमा कार्यक्रम गर्न भनेको छ । अहिले दुबै पक्षले प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएको छ ।

हजारौं मानिसलाई उतार्ने दाबी गरेका प्रसाईले भिड जम्मा पार्न लघुवित्त तथा बैंकको ब्याजको तिर्न नसकेका सर्वसाधारणलाई प्रयोग गरेका छन् ।

लघुवित्तको चर्को ब्याजबारे पीडितहरुले लामो समय आन्दोलन गरे, तर उनीहरुको समस्या सम्बोधन भएको छैन । त्यही बेला प्रसाईँले उनले २० लाखसम्म ऋण मिनाहाको झुटौ नारा दिएर सार्वसाधारणलाई काठमाडौं ल्याएको पाइएको छ ।

मोरङबाट मंगलबार मात्रै काठमाडौं आइपुगेकी बिवा शिवा पनि लघुवित्तकी ऋणी हुन् । २०७८ सालमा उनले तीनवटा लघु वित्तबाट पाँच लाख रुपैयाँ ऋण लिएकी थिइन् । ‘घर बनाउँदा ल्याएको ऋण दुई वर्ष तिरे पनि सकिएन’ उनले भनिन्, ‘पैसा बुझाउन नसकेको दिनदेखि घर नै घेर्न थाले । राति आएर पनि सताउन छोडेनन् ।’

त्यसपछि उनी घर बस्न सकिनन्, भागेर भारत गइन् । केही समयअघि मात्र लघुवित्त विरुद्ध आन्दोलन हुँदैछ भनेर सुनेपछि उनी घर फर्किन् । ‘गाउँ फर्केपछि म जस्तै दिदीबहिनीहरुले आन्दोलनमा हिँड्नुपर्छ भने’ उनले भनिन्, ‘आन्दोलनमा हिँडेपछि लघुवित्तले धम्क्याँउँदैनन् भनेर म यहाँसम्म आइपुगें ।’

मंगलबार काठमाडौं आइपुगेकी उनलाई यहाँ के के हुन्छ अरु धेरै थाहा छैन । मात्र लघुवित्तको ऋणबाट छुटकारा पाइएला कि भन्ने झिनो आशा छ । ‘हामी जस्तै लघुवित्तका पीडितहरुको आन्दोलन हो भनेको सुन्छु’, उनले भनिन्, ‘नभए त हामी किन आउथ्यौं र ?’

३५ जनाको समूहमा आइपुगेकी मोरङकै चन्द्रा सुनाम पनि बैंक ब्याज छुट होला कि भनेर आफूजस्तै महिलाहरुसँग काठमाडौं आएकी छन् । पहिलो चोटी काठमाडौं आएकी उनी चाहिँ आफूलाई बैंकबाट पीडित नागरिक भएको बताउँछिन् ।

दुई वर्षअघि कपडा पसल सञ्चालन गर्न उनका छोराले सप्तकोशी बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए । व्यवसाय चल्न नसकेपछि बैंकको ऋण तिर्न सकेनन् । कारोबार बिग्रियो, ऋणको चिन्तै चिन्ताले छोराको पनि मृत्यु भयो ।

‘घरमा बुहारी र साना नाती छन्’, उनले भनिन्, ‘बैंकका मान्छेहरु ऋण नतिरे घर खाइदिन्छौं भन्दै धम्क्याउँदै आइपुग्छन् ।’

हरेक दिन जसो बैंकबाट ताकेता गरेपछि छुटकारा पाइने आशमा उनी पनि काठमाडौ आइपुगेकी हुन् । बुधबार दिउँसोसम्म पनि उनलाई भोलि हुने भनिएको आन्दोलनबारे केही जानकारी थिएन ।

आएकै रात लखेटिए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबारदेखि गर्न थालेको आन्दोलनमा सहभागी हुन मोरङदेखि चार जना पुरुष र ३५ महिलाको एउटा समूह काठमाडौं आइपुगेको छ ।

ती सबैजसो लघुवित्त, सहकारी र बैंकका ऋणी छन् । लघुवित्तबाट छुटकारा पाइएला भनेर आइपुगेका उनीहरुलाई आन्दोलन किन र केका लागि हुँदैछ भन्ने राम्रोसँग थाहा पनि छैन ।

बिडम्बना त कस्तो भयो भने मंगलवार राति काठमाडौं आइपुगेका उनीहरुमाथि सुतिरहेका बेला एउटा समूहले दुव्र्यवहार ग¥यो । मंगलबार राति १० बजे होटलको ठूलो कोठामा सुतेको बेला १५–२० जना युवाको समूह हो हल्ला गर्दै भित्र पस्यो । ‘दुर्गा प्रसाईको आन्दोलनमा आएको हो’ भन्दै उनीहरुमाथि गाली गलौज र हातपातको प्रयास भयो ।

‘राति भुइँमा ओछ्यान लगाएर सुतेका थियौं’ आन्दोलनमा आएकी मोरङकी सिता बिशुंखेले भनिन्, ‘उनीहरु आएर छिटो गइहाल भन्दै लखटे । चिसो रातमा हामी रुदै निस्कियौं ।’

त्यो समूहले लखटेपछि राति २ बजेसम्म सडकमै बिताएको र प्रहरी आएपछि मात्रै राति ३ बजेपछि गौशालास्थित अर्काे होटलमा सुत्न पाएको उनको भनाइ छ ।

मंगलबार काठमाडौं आइपुगेका सर्लाहीका राजेशकुमार चौधरीले चाहिँ मंसिर ७ गते हुने आन्दोलनको बारेमा केही बुझेका छन् । उनले काठमाडौंमा बेरोजगारी र महंगीविरुद्ध आन्दोलन हुन थालेको छ भन्ने सुनेको र गाउँकै केही युवाहरुले जान भनेपछि आफूले नाइनास्ती गर्न नसकेको बताउँछन् ।

‘देशमा बेरोजगारी छ, मंहगी बढेको बढ्यै छ’, उनले भने, ‘आन्दोलन गरेपछि मात्र नेताहरुले सुन्छन् । त्यही सोचेर आएको हुँ ।’ उनले सर्लाहीका आफूजस्तै ४० भन्दा बढी युवा आन्दोनमा सहभागी हुन आएको बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?